गत शनिबार रातको ११ बजेको थियो। धादिङका राजन दुवाडी निदाइसकेका थिए। मोबाइल बज्यो। झल्यास्सँ ब्युँझिए। आँखा मिच्दै हतपत उठेर बंकरतिर गए।
उनी इसराइलको उत्तरी भेग सेडइलानमा एक कुखुरा फार्ममा काम गर्छन्। बंकर बस्ने ठाउँबाट नजिकैको दुरीमा छ। काम गर्ने फार्मबाट भने टाढै पर्छ।
उक्त बंकरमा रोजगारदाताका आमाबुबा र एउटा कुकुर पनि बस्छन्। त्यो रात उनी बंकरमा पुगेको निकै बेरसम्म पनि साहुका आमाबुबा र कुकुर आइपुगेनन्।
'उनीहरू आउँछन् भन्यो, आउँदैनन्। एक छिनमा मोबाइल निकालेर हेरेँ। साथीले फोन गरेको रहेछ। मोबाइलको रिङटोनलाई साइरन सम्झेर कुदेछु,' राजनले पीडाबीच हाँस्दै किस्सा सुनाए।
इरान र इसराइलको युद्धका कारण इसराइलमा कृषि तथा केयरगिभर लगायत क्षेत्रमा कार्यरत नेपालीहरूको मन यति बेला बेचैन छ। मोबाइलमा फोनको घन्टी बज्दा पनि मिसाइल र ड्रोन आउँदै गरेको सूचना हो कि भनेर झसंग हुने राजनले बताए।
'हमाससँगको युद्ध पनि भोगेको हुँ। त्यतिखेर यति डरलाग्दो अवस्था थिएन। मिसाइल आकाशमै निस्क्रिय हुन्थ्यो। अहिले त कति मिसाइलहरू जमिनमै खसेका छन्। इसराइलीहरू पनि डराइरहेका छन्,' उनले भने।
राजनका अनुसार प्रायः रातको समयमा धेरै आक्रमण भइरहेको छ। मिसाइल वा ड्रोन भुइँमा खस्यो भने एकदमै ठूलो आवाज आउँछ। नजिकैको दुरीमा खस्यो भने त भूकम्प गएजस्तो गरी जमिन हल्लिन्छ।
'मिसाइल आकाशमाथि आइनपुग्दै मोबाइलमा बंकरमा जान सूचना आउँछ। दुई पटक सूचना आएपछि साइरन बज्छ,' उनले भने।
खेतबारीमा काम गरिरहेका बेला भने बंकरमा पुग्न अलि समय लाग्छ। तर सूचना आएपछि बंकरतर्फ कुदिहाल्छन्। दस मिनेट बंकरभित्र बस्छन् र फेरि काममा निस्किन्छन्। यसरी काम निरन्तर चलिरहेको उनले बताए।
'कहिलेकाहीँ त बंकर भित्र पुगिसकिएकै हुँदैन। यस्तो अवस्था भयो भने टाउको जमिनतिर निहुर्याएर बस्छु,' उनले सुनाए।
अहिले इरानको आक्रमण इसराइलको मुख्य सहर तेल–अभिभ लगायत क्षेत्रतर्फ केन्द्रित रहेकाले पनि ग्रामीण भेगमा कृषि क्षेत्रमा काम गरिरहेकाहरू आफूलाई सम्हालेर काम गरिरहेको उनले बताए।
अहिले इसराइलको कृषिमा तीन सय सय हाराहारी नेपालीहरू काम गरिरहेका छन्। उनीहरू भिजिट भिसामा गएर काम गरिरहेका हुन्।
'हामीले श्रम स्वीकृति पनि लिएको छैन। नेपाल सरकारका लागि हामी अवैधानिक हैसियतमा छौं। उद्धार नै गर्नुपर्ने अवस्था आयो भने सरकारले हेर्ने हो कि होइन,' उनले भने।
तर अहिले नै उद्धार गरिहाल्नुपर्ने अवस्था नभएको उनले बताए।
उनका अनुसार भर्खरै पुगेका नेपालीहरू धेरै डराइरहेका छन्।
'हामी पुरानालाई त बंकर, साइरन बज्ने, पड्किने भनेको सामान्य दैनिकी जस्तै भएको छ। यहाँ अहिले बाँच्ने बिकल्प भनेको बंकर नै हो,' उनले भने।
राजनको परिवार उनको चिन्ता गरिरहन्छ। परिवारका सदस्यले छिटो फर्किन भनिरहन्छन्।
'नेपाल र भारतीय मिडिया हेर्दा त भयावह बनाउँदो रहेछ। तर मिडियामा देखिएजस्तो भयावह पनि छैन। बंकर नै जीवन हो भन्ने छ। म परिवारलाई सम्झाइरहेको छु,' उनले भने।
अहिले त्यहाँबाट नेपाल आउँछु भन्नेहरूलाई पनि विकल्प नभएको उनले बताए।
'डुंगाबाट साइप्रस जाने हो त्यो पनि बन्द छ। हवाई उडानहरू पनि बन्द छन्,' उनले भने।
इसराइलको राजधानी जेरूसेलमस्थित केयरगिभर काम गर्दै आएका शिवराज खड्का पनि अहिले पहिलेभन्दा अवस्था चिन्ताजनक रहेको बताउँछन्।
'बेलाबेला पड्किरहन्छ। यहाँ के हुन्छ कसो हुन्छ हामी एकदमै अन्योलमा छौं। लामो यात्रा प्रतिबन्ध छ। बेलाबेला साइरन बज्छ। १० मिनेट अगाडि बंकर जाने सूचना आउँछ। हामी बंकर जाने आउनेक्रम जारी छ,' शिवराजले भने।
अवस्था जस्तोसुकै भए पनि विशेषगरी केयरगिभरमा काम गर्नेहरूलाई फर्किहालौं भन्ने अवस्था नहुने उनले बताए।
लामो समयदेखि इसरायली परिवारसँग नजिक भएर काम गरिरहेको हुँदा विपदको अवस्थामा मानवीयताका हिसाबले पनि छाडेर जान्छु भन्ने भाव नहुने उनले बताए।
केयरगिभरले हेर्ने भनेको त्यहाँ अशक्त वा कोही नभएका बेसहारा मानिसहरू हुन्। यसले गर्दा पनि घरमा काम गर्ने नेपालीहरूले विपदका बेलामा छाडेर जान सक्ने अवस्था नहुने उनले बताए।
'राम्रो भइन्जेल तलब लिने, बस्ने, खाने, अनि अप्ठ्यारो पर्ने बेलामा छाडेर हिँड्छु भन्ने साहस हामी नेपालीमा आउँदैन। त्यसैले चटक्कै छाडेर गइहाल्छु भन्ने सोच्न सकिँदैन। बरू हामी यहीँ मर्न चाहन्छौं तर यस्तो अवस्थामा छाडेर जान हुन्न भन्ने छ,' उनले भने।
प्रवासी नेपाली मञ्च, इसराइलका उपाध्यक्ष समेत रहेका उनले अरू कोही पनि नेपालीले उद्धार गरिहाल्नुपर्छ भनेर नभनेको बताउँछन्।
परराष्ट्र मन्त्रालयले इसराइलमा पाँच हजार ५०० नेपाली रहेको जनाएको छ। इरानमा करिब १२ जना नेपाली रहेको उल्लेख छ। हालसम्म सबै नेपालीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।