धेरैजसो नेपाली युवा आफू र परिवारको दैनिक गुजारा टार्न वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ।
पाल्पाका विष्णुबहादुर थापा यस्तै बाध्यता बोकेर १२ वर्षअघि मलेसिया गएका हुन्।
उनी सेफ कामका लागि गएका थिए। अहिले जोहरबारूको एउटा कोरियन होटलमा काम गर्छन्।
सेफ भनेर गए पनि सुरूका केही महिना भाँडा माझ्ने काम गर्नुपरेको उनले बताए।
'सेफ भने पनि काम सबै खालको गर्नुपर्ने थियो। दुई/तीन महिना त भाँडा माझ्ने काम गरियो। त्यसपछि बल्ल पकाउने, सर्भिस दिने काम पनि गर्न पाइयो,' उनले भने।
मलेसिया जानुअघि विष्णु परिवारसहित छिमेकी मुलुक भारतमा थिए। उनी त्यहाँको एउटा होटलमा सेफ काम गर्थे। तर भारतमा कमा खासै कमाइ भएन।
गाउँकै चिनजानका एक व्यक्तिले सेफलाई मलेसियामा राम्रो अवसर छ भनेपछि आफू गएको उनले बताए।
विष्णु म्यानपावरलाई एक लाख ५० हजार रूपैयाँ बुझाएर गएका हुन्।
म्यानपावरले राम्रो कमाइ हुने सुनाएको थियो। दैनिक १२ घन्टा जस्तो समय कामका लागि छुट्ट्याउनुपर्थ्यो। तलब ११ सय रिंगेट (त्यस बेला करिब ३० हजार हाराहारी नेपाली रूपैयाँ) थियो।
अहिले पनि दिनको १२ घन्टा, बिहान साढे ९ बजेदेखि रातको साढे ९ बजेसम्म होटललाई दिनुपर्छ।
होटलले दिउँसो तीनदेखि पाँच बजेसम्म भने आरामका लागि भनेर समय दिने उनले बताए। त्यो बेला कोठामा गएर बिसाउने र नुहाइधुवाइ गरेर फर्किने हुँदा सजिलै हुने उनले बताए।
उनी सातामा एक दिन बिदा पाउँछन्।
होटलमा उनले कोरियन परिकार बनाउनुपर्छ। धेरैजसो मासुका परिकार पाक्छन्। विष्णु सेवाग्राहीलाई खानेकुराहरू सर्भ गर्ने काम पनि गर्छन्।
'होटल ठिकै चलेको छ। त्यसो हुँदा त्यति धेरै व्यस्तता हुँदैन,' उनले भने, 'शनिबार भने सेवाग्राहीको राम्रै भीड हुन्छ। अरू बार त्यति धेरै सेवाग्राही हुँदैनन्।'
सो होटलमा आप्रवासी कामदार विष्णुसहित सात जना छन्। नेपाली उनी मात्रै हुन्।
काम धेरै छैन भनेर तलब पनि धेरै समयदेखि होटलले नबढाएको विष्णुले बताए। अहिले उनी महिनामा २५ सय रिंगेट (हालको विनिमयदर अनुसार ८९ हजार रूपैयाँभन्दा धेरै) तलब पाउँछन्।
'यत्रो वर्ष काम गरेर पनि धेरै तलब बढेको त होइन, ठिकै छ,' विष्णुले भने, 'खर्च धेरै छ। बचत गर्न पनि सकिएन।'
घरमा कमाउने विष्णु एक्लै हुन्। दैनिक घर खर्चदेखि छोराहरू पढाउन समेत उनकै कमाइको भर छ। त्यसले गर्दा पनि बचत गर्न नसकेको उनले गुनासो गरे।
'यहाँ आउँदा सयकडा पाँचमा लिएको ऋण तीन वर्ष लगाएर तिरेँ। बीचमा मेरो बुबाको किड्नी फेल भएर उपचार गर्नुपर्यो। कति खर्च गर्दा पनि बचाउन सकिएन। छोराहरू पढाउन पनि धेरै खर्च छ,' उनले सुनाए।
यति वर्ष खट्दा उनले गाउँकै बजार नजिकै एउटा घडेरी भने जोडेका छन्। त्यसैमा टिनको छाप्रो बनाएर परिवार बस्ने गरेको उनले बताए। उनको घरमा आमा, श्रीमती र दुई छोरा छन्।
'पहिले पनि घर पाल्पाको सिलुवा नै हो। पछि घडेरी किनेको पनि सिलुवा नै हो। तर अहिले झुप्री बनाएको ठाउँ बजारबाट नजिकै पर्छ। छोराहरू पढ्न स्कुल पनि नजिकै छ। पहिलेको घरबाट स्कुल बजार पुग्न त एक/डेढ घन्टा हिँड्नुपर्थ्यो,' विष्णुले भने।
१२ वर्षको अन्तरालमा उनी एक पटक मात्रै बिदामा नेपाल फर्किएका छन्।
सात वर्ष अगाडि एक पटक फर्किएका उनी बुबा बित्दा समेत फर्किन पाएनन्। कोभिडको समयमा लकडाउन भएकाले आउन नपाएको उनले बताए।
'अब फर्किएपछि मात्रै बुबाको अन्तिम संस्कारको काम सकाउने हो। आगामी वर्ष फर्किने योजना छ,' उनले भने।
फर्किएर फेरि जान पाइन्छ कि पाइँदैन भन्ने प्रश्नले पनि उनलाई झकझकाइरहन्छ।
'४० वर्ष कटेपछि त भिसा दिँदैन क्यार,' विष्णुले भने, '४० कटियो। आफ्नै देशमा केही गरौं भन्दा पैसा छैन। फेरि भिसा पाउँछु कि पाउँदिनँ। पाइनँ भने के गर्ने भन्ने चिन्ताले पनि म फर्किहाल्न सकिरहेको छैन।'