कुमार परियारले कम्प्युटरको स्क्रिनमा कोरेका रेखाहरू केही समयपछि जापानका समुद्री किनारमा विशाल फलामे गेटका रूपमा उभिन्छन्।
कतिपय डिजाइन क्रेनका पाटपुर्जामा रूपान्तरण हुन्छन्।
धादिङको गंगाजमुना गाउँपालिकाका ३३ वर्षीय कुमार अहिले जापानमा अटोक्याड डिजाइनरका रूपमा कार्यरत छन्। समुद्री छालको जोखिम कम गर्न प्रयोग हुने ठूला पानीका गेटदेखि क्रेनका पाटपुर्जासम्मको डिजाइन उनी कम्प्युटरमा तयार गर्छन्।
'समुद्री छालको जोखिम कम गर्न बनाइएका ठूला ठूला गेट हुन्छन्,' उनले भने, 'नेपालको कोशी ब्यारेजको गेटजस्तै भनेर बुझ्न सकिन्छ। म लगायत धेरै जनाले कम्प्युटरमा डिजाइन गर्छौं। त्यसपछि कम्पनीले त्यही डिजाइन अनुसार बनाउँछ र सम्बन्धित ठाउँमा जडान गर्छ। म क्रेनका पाटपुर्जा पनि डिजाइन गर्छु।'
कुमार दैनिक ८ घन्टा एकदमै खटेर काम गर्छन्।
सन् २०२२ मा उनी र उनकी श्रीमती सन्तोषी श्रेष्ठ विद्यार्थी भिसामा जापान पुगेका थिए। सुरूका दुई वर्ष जापानी भाषा पढे।
त्यस बेला कुमार फुकुसिमामा र सन्तोषी हिरोसिमामा थिए। भाषा पढाइ सकेपछि उनीहरू एउटै सहर आएर सेनमोन कलेज भर्ना भए।

सनमोन भनेको जापानको व्यावसायिक तथा प्राविधिक शिक्षा दिने कलेज हो। भाषा पढिसकेपछि जुन क्षेत्रमा काम गर्ने हो, त्यही क्षेत्र सम्बन्धी विषय सेनमोनमा पढ्नुपर्छ। दुई वर्ष पढेपछि मात्रै काम पाइन्छ।
कुमारले त्यहाँ अटोक्याड डिजाइनसँग सम्बन्धित विषय पढे। सन्तोषीले बिजनेस पढिन्।
उनीहरूले सेनमोन कलेज पूरा गरेको चार महिना भयो। त्यसयता कुमार डिजाइन इन्जिनियरका रूपमा कार्यरत छन्। सन्तोषीले अझै पूर्णकालीन रोजगारी पाएकी छैनन्। पार्टटाइम काम गर्छिन्।
जापान पुग्न उनीहरूले ३० लाख रूपैयाँ ऋण गरेका थिए। सुरूमा कलेज र होस्टल शुल्क त्यसैबाट तिरे। त्यसपछि पढाइसँगै पार्टटाइम काम गर्दै खर्च चलाए र ऋण तिर्दै गए।
विद्यार्थी जीवन उनीहरूका लागि कठिन थियो। कानुनी रूपमा सातामा २८ घन्टा मात्रै काम गर्न पाइन्थ्यो। तर जीवन धान्न उनीहरूले दिन–रात नभनी संघर्ष गरे।
'रातभर स्टोरमा काम गरेर सिधै कलेज गएका दिन धेरै छन्,' कुमारले भने, 'चार–पाँच घन्टा मात्रै सुत्थ्यौं। खाना प्याकिङ, २४ घन्टा खुल्ने स्टोर लगायतमा धेरै काम गरियो। त्यही संघर्षले धेरै ऋण तिर्न सक्यौं।'
कोरोना महामारीपछि जापान पुगेका कारण त्यति बेला पार्टटाइम काम प्रशस्त पाइन्थ्यो। अहिले भने अवस्था फेरिएको उनले बताए।
'विद्यार्थी हुँदा दुःख धेरै थियो, तर कमाइ पनि राम्रो हुन्थ्यो,' कुमारले भने, 'अहिले पूर्णकालीन काम पाए पनि खर्च धेरै भएकाले बचत गर्न गाह्रो छ।'
अहिले कर र बीमा कटाएर मासिक तलब करिब एक लाख ८३ हजार येन हात पर्छ। तर कोठाभाडा मात्रै ४०–५० हजार येन पुग्छ। अरू सबै खर्च जोड्दा बचत गर्न निकै मुस्किल हुन्छ।
श्रीमती सन्तोषीलाई स्वास्थ्यमा समस्या भएकाले उनीहरूलाई थप मुस्किलमा परेका छन्।

'घुँडाको समस्याले धेरै अस्पताल धायौं। नेपाल गएर पनि उपचार गरायौं,' उनले भने, 'विदेशमा एक जना बिरामी भयो भने आर्थिक र मानसिक दुवै हिसाबले धेरै पछि परिने रहेछ।'
नेपालमा भने कुमारको यात्रा फरक थियो।
भारतमा डेढ वर्ष क्रसर मेसिनमा वेल्डिङ गरे। त्यसपछि नेपाल फर्किएर विभिन्न जिल्लामा क्रसर मेसिन जडान गर्ने काम गरे। पछि पाँच वर्ष रेडियो धादिङमा टेक्निसियनका रूपमा काम गर्दै स्टेसनरी पनि चलाउँथे।
तर उनले सोचेजस्तो भएन।
काठमाडौं आएर तीन वर्ष थाहा सञ्चारमा काम गरे। यही क्रममा सन्तोषी श्रेष्ठसँग बिहे गरे।
'बिहेपछि यहाँको आर्थिक अवस्था र अरू परिवेशका कारण विदेश जाने सोचिरहेका थियौं,' कुमारले भने।
जापानले आफूहरूलाई अनुशासन र समयको महत्त्व सिकाएको उनी बताउँछन्।
'यहाँ समयको धेरै मूल्य छ। एक मिनेट ढिला हुनु पनि राम्रो मानिँदैन। सानो–ठूलो काम भन्ने विभेद छैन,' कुमारले भने, 'सुरूमा त म छक्क पर्थेँ। म्यानेजरले आफ्नो कार्यकक्ष आफै सफा गर्छन्।'
कुमार र सन्तोषी केही समय जापानमा कमाएर फर्किने योजनामा छन्।
जापान जान चाहने नेपालीहरूलाई कुमारको एउटा सुझाव छ — पहिले भाषा सिक्नुस्।
'भाषा छैन भने यहाँ केही पनि छैन। अवसर पाउन भाषा, सीप र संघर्ष चाहिन्छ,' उनले भने।