गैरआवासीय नेपाली (एनआरएन) को दोस्रो पुस्ता नेपालसँग जोडिन चाहँदैन भन्ने चर्चा हुँदै आएको छ। विदेशमा जन्मिएर हुर्किएका युवाको नेपालसँगको सम्बन्ध कमजोर हुँदै गएको भन्ने आलोचनाबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दोस्रो पुस्तालाई संघको मूलधार र नेतृत्वमा जोड्ने प्रयास अघि बढाएको छ।
चीनको ग्वान्जाओमा सम्पन्न एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनले दोस्रो पुस्तालाई नेतृत्वमा ल्याउने विषयलाई प्राथमिकतामा राखेको छ।
सम्मेलनले जारी गरेको २१ बुँदे घोषणापत्रमा युवा र दोस्रो पुस्तासँग सम्बन्धित विषय समेटिएका छन्।
दोस्रो पुस्तालाई संघको नेतृत्वमा ल्याउन एनआरएनए रिब्रान्डिङ गर्ने तथा आगामी जनवरीमा पहिलो एनआरएनए दोस्रो पुस्ता तथा महिला सम्मेलन आयोजना गर्ने निर्णयसमेत गरिएको छ।
एनआरएनएका अध्यक्ष हेमराज शर्माले अब दोस्रो पुस्ता नेतृत्वमा आउनुपर्ने भएकाले एनआरएनए रिब्रान्डिङको योजना अघि बढाइएको बताए।
उनका अनुसार विदेशमा हुर्किएका युवालाई नेपालसँग जोड्न र उनीहरूले विदेशमा सिकेको ज्ञान, सीप र अनुभव नेपालमा प्रयोग गर्न एनआरएनएले पुलको भूमिका खेल्न सक्छ।
युवालाई नेपालसँग जोड्न गैरआवासीय नेपालीसम्बन्धी कानुन संशोधन आवश्यक रहेको पनि शर्माले बताए।
विदेशमा सिकेको सीप र ज्ञान नेपालमा प्रयोग गर्न सके विकासको गति अझ तीव्र बनाउन सकिने उनको भनाइ छ।
दोस्रो पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने धारणा संघका युवा प्रतिनिधिहरूमा पनि देखिन्छ।
हङकङकी २० वर्षीया एरिका गुरुङले अब व्यवसायदेखि नेतृत्वसम्म दोस्रो पुस्ताले आफ्नो दाबी प्रस्तुत गर्नुपर्ने बताइन्।
रसियाकी समिता केसी पनि एनआरएनए र नेपालबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूहरू अघि बढ्नुपर्ने बताउँछिन्। ग्वान्जाओ सम्मेलनमा सक्रिय रूपमा सहभागी भएकी उनले दोस्रो पुस्ताले नेतृत्व लिनुपर्ने बताइन्।
‘अब दोस्रो पुस्ताले नेतृत्व लिनुपर्छ। पिता–पुर्खाको भूमिलाई हामीले झन् माया गर्नुपर्छ। यसका लागि एनआरएनएको यो प्लेटफर्म धेरै महत्वपूर्ण छ,’ उनले भनिन्, ‘म नेपाली मूलकै हुँ। तर म राम्रोसँग नेपाली बोल्न सक्दिनँ। यो भन्दैमा नेपालको माया छैन भन्ने हुँदैन।’
आफूहरू नेपालबारे चासो राख्ने, जान्ने र खोज्ने काम गरिरहेको पनि उनले बताइन्।
भर्खरै मिस नेपाल बनेकी र मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न लागेकी दिपमाला ढकाल पनि एनआरएनएको दोस्रो पुस्ताकी हुन्।
उनी एनआरएनएको युवा समितिमा सक्रिय छिन्। विदेशमा जन्मिएका दोस्रो पुस्तालाई नेपालसँग जोड्ने काममा ढिलाइ भइरहेको उनको बुझाइ छ।
‘बाहिर जन्मेर नेपाललाई माया नगर्ने होइन। टाढा बस्नेलाई हरेक दिन देशको माया हुन्छ,’ उनले भनिन्, ‘हामीले धेरैभन्दा धेरै दोस्रो पुस्तालाई समेट्नुपर्छ। देशलाई माया गरेर नै हामी नेपालबारे जान्न र खोज्न चाहन्छौँ।’
दक्षिण कोरियामा बस्दै आएकी श्रेया सुवेदी पनि विदेशमा जन्मिएर हुर्किँदैमा नेपालसँगको सम्बन्ध टुट्ने नहुने बताउँछिन्।
‘हामी विदेशमा जन्मेको र हुर्केको मात्र हो। हाम्रो सबै कनेक्सन नेपालसँग छ,’ उनले भनिन्, ‘हामी नेपाल बिर्सन सक्दैनौँ। नेपाली हुन नेपालबाट आएको मात्र हुनुपर्छ भन्ने होइन नि।’
कम्बोडियामा जन्मेका विजय परियारको पनि आफूलाई नेपाली मूलको हुनुमा गर्व लाग्ने बताउँछन्। उनका अनुसार विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरू नेपाल र नेपालको विकासबारे चासो राख्छन्।
‘हामी सधैँ नेपाल र नेपालको विकासबारे कुरा गरिरहेका हुन्छौँ। नेपाल हाम्रा लागि लगानीका लागि योग्य क्षेत्र हो,’ उनले भने, ‘यो उत्कृष्ट छनोट पनि हुन सक्छ। विश्वभर नेपालका प्रोडक्टहरू पुगेका छन्। हामीलाई पनि नेपाली प्रोडक्ट देख्दा गर्व हुन्छ।’
थाइल्याण्डमा जन्मेका रुट घिमिरेले नेपाल र थाइल्याण्डबीच सांस्कृतिक भिन्नता भए पनि नेपालसँगको सम्बन्ध नटुटेको बताए।
‘हामीले नेपाल बिर्सेका छैनौँ। हाम्रा चाडपर्व र भेलाहरूमा नेपालीहरू भेट्छौँ। नेपालको कुरा गर्छौँ,’ उनले भने, ‘हामी अघिल्लो पुस्ताको कुरालाई अघि बढाउन चाहन्छौँ।’
नेपालका विद्यालय र कलेजमा पढ्ने अवसर नपाए पनि आफूहरूले नेपाल नबिर्सिएको उनको भनाइ छ। विदेशमा प्राप्त गरेको शिक्षा र ज्ञान नेपालमा प्रयोग गर्न सके जन्मेको देश र नेपाललाई जोड्न सकिने उनले बताए।
‘एनआरएनए यसको पुलको काम गर्न सक्छ। मलाई नेपाली हुनुमा सधैँ गर्व छ,’ उनले भने।
दोस्रो पुस्ताका युवाले व्यक्त गरेको नेपालसँगको सम्बन्ध र चासोलाई एनआरएनएले आफ्नो आगामी योजनामा समेटेको छ।
ग्वान्जाओ घोषणापत्रमा एसिया–प्रशान्त क्षेत्रमा बसोवास गर्ने दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा पीएनओ, युवा र महिलालाई संघको मूलधारमा समाहित गर्ने प्रतिबद्धता जनाइएको छ।
विदेशमा रहेका बालबालिकालाई नेपाली भाषा, लिपि, संस्कार र संस्कृति सिकाउने उद्देश्यसहित आगामी जनवरीमा आयोजना हुने ‘पहिलो एनआरएनए दोस्रो पुस्ता तथा महिला सम्मेलन’लाई सफल बनाउन सम्मेलन प्रतिबद्ध रहेको घोषणापत्रमा उल्लेख छ।
‘एनआरएनएको हरेक निर्णय प्रक्रियामा युवा र दोस्रो पुस्ताको प्रतिनिधित्वलाई सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गर्दछ,’ घोषणापत्रमा भनिएको छ।
सम्मेलनले विदेशमा जन्मिएर हुर्किएका नेपाली मूलका दोस्रो पुस्ताका युवाको नेपाली पहिचान, भाषा, संस्कृति तथा मातृभूमिसँगको सम्बन्धलाई बलियो बनाउन विशेष कार्यक्रम तय गर्ने जनाएको छ।