गैरआवासीय नेपाली (एनआरएन) हरूले नेपालमा लगानी गर्न मुख्य गरी दुई वटा समस्या रहेको बताएका छन्।
चीनको ग्वाङझाओमा भइरहेको ११ औं दक्षिण एसिया प्यासिफिक सम्मेलनमा उनीहरूले नेपालमा लगानी गर्न उत्साहित भए पनि केही समस्या रहेको बताएका हुन्।
एसिया प्यासिफिक क्षेत्रदेखि अमेरिका र युरोपसम्म फैलिएका नेपालीहरू नेपालमै केही गर्न चाहने तर त्यहाँ लगानी गर्दा भोग्नुपर्ने झन्झटिलो कानुनी प्रक्रिया र लगानी सुरक्षाको विषयले चिन्तित बनाउने बताएका हुन्।
एनआरएनएका पूर्व अध्यक्ष एवं कोरियालाई कार्यक्षेत्र बनाएर व्यवसाय गरिरहेका विनोद कुँवरले नेपालमा काम कम गफ बढी गर्ने प्रवृत्ति पनि मूल समस्या रहेको बताए।
त्यसमाथि झन्झटिलो कानुनी प्रक्रियाका कारण लामो समयसम्म अल्झनुपर्ने भएकाले पनि लगानीकर्ता निरुत्साहित हुने उनको बुझाइ छ।
‘मैले नेपाल र कोरिया दुवै देशमा बराबर लगानी गरिरहेको छु । नेपालमा गफ धेरै काम कम हुन्छ भन्ने अनुभव भइरहेको छ, ’ कुँवरले भने, ‘समय अनुसारको योजना बनाउनुपर्छ । समयमै काम हुनुपर्छ। नत्र त्यो कामले नतिजा दिँदैन।’
नेपालको कानुनले चार देखि पाँच घन्टा कामै गर्न नदिने भन्दै यसले गर्दा नेपालमा लगानी गर्दा धेरै दु:ख हुने गरेको उनले सुनाए।
‘जहाँ जहाँ कानुनी समस्या छन् त्यसलाई सहज बनाउन सरकारले सहजीकरण गर्नुपर्छ। नेपालमा ब्याजदर निकै महँगो छ,’ उनले भने,‘यस्ता कुरामा पुनर्विचार गर्नुपर्छ।’
एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतोले बाहिर रहेका हरेक नेपालीहरू आफ्नो देश कहिले बन्छ भनेर चिन्तन रहेको बताए।
‘नेपाल नेपालीहरुले नै बनाउने हो। राम्रा र मिठा कुराले मात्र देश बन्ने भए उहिल्यै बन्थ्यो। हामी मिठा कुरा गर्न सिपालु छौं,’ उनले भने, ‘अब नेपालीको सभ्यता बचाएर विकास गर्नुपर्ने छ। यही एउटा संकल्प हामी सबैले गर्नुपर्छ।’
सबै गैरआवासीय नेपालीहरुको समृद्ध नेपाल बनाउने एउटै सपना रहेको उनले बताए।
‘गैरआवासीय नेपालीको लगानीले मात्र समृद्ध हुदैन तर उनीहरुबिना पनि हुँदैन,’ उनले भने, ‘यो सत्य अब नेपाल सरकारले बुझेर सहज कानुनहरु बनाउनुपर्छ।’
नेपाल जस्तो लगानीको राम्रो ठाउँ अन्यत्र नभएको पनि उनले बताए।
संसारको जुनसुकै देशमा पनि समस्या हुने तर त्यसलाई कसरी सम्बोधन गर्ने र लगानीको सुरक्षा कसरी गर्ने भन्ने विषय मुख्य हुने उनको भनाइ छ।
कानुन देखाएर वा प्रहरी देखाएर डराएर धम्काएर नहुने भन्दै यसका लागि फकाएर र लगानीकर्ताका लागि सहज माहोल बनाएर देश विकास गर्न सकिने सुझाव दिए ।
‘उद्यमीहरुलाई धम्काएर वा डराएर हैन । देशको राम्रो वातावरण बनाएर र कानुनी सुरक्षा दिएर लगानी ल्याउन सकिन्छ ’ महतोले भने, ‘यस्तो लगानी ल्याउँदा एनआरएनए नेपालीमात्र आउँदैन उसले वैदेशिक लगानी पनि भित्राउँछन्।’
वरिष्ठ उपाध्यक्ष रवीन शेरचनले नेपालमा लगानीका लागि धेरै क्षेत्रहरु भएको र नयाँ पहिचान गर्नुपर्ने क्षेत्रहरु पनि भएकाले अब लगानी बढाउनुपर्ने बताए।
त्यस्तै कोरियामा रहेका अनुसन्धानकर्ता देवीबहादुर बस्नेतले नेपालमा मेडिकल र प्रोटिन क्षेत्रमा नयाँ इनोभेसनको काम गर्ने अवसर रहेको भएको बताए।
‘नेपालमा नयाँ क्षेत्रमा काम गर्ने अवसर प्रशस्तै छन्। के छ त्यो खोज्नुपर्छ,’ उनले भने, ‘नेपालको वातावरणका कारण पनि मेडिकल क्षेत्रमा लगानी गर्न सकिन्छ।’
नेपालमा भएको वातावरणले पनि माइक्रो वे मार्फत प्रोटिनहरु बनाउन सकिने र यो चीन ,कोरिया र भारतसहित विश्वभर सप्लाइ गर्न सकिने भएकाले यसको सम्भावना धेरै भएको बताए।
‘जेनेटिक आइसोलेसन गरेर पनि इनोभेसन्सको काम गर्न सकिन्छ,’ उनले भने, ‘यसका लागि कानुन सरकारले सहज बनाउनुपर्छ अनि एनआरएनए नेपालीहरुका लागि ठूलो अवसर हुनसक्छ।’
एनआरएन चीनका पूर्व अध्यक्ष निर्मल शर्मा चौलागाईले नेपाल र चीनका विचमा धेरै काम गर्न सकिने तर पूर्वाधारले समस्या भइरहेको बताए। आफूहरुले अहिले पनि वर्षमा ६ महिनामात्र उत्तरी नाकाबाट नेपालमा सामाग्री पठाउन सकेको र सरकारले पूर्वाधार समयमा नबनाउँदा उद्योगीहरु लामो समयसम्म नाकामै सामान छोड्दा ठूलो नोक्सानमा परेको उनले बताए।
त्यस्तै एनआरएनए चीनकै पुर्व अध्यक्ष रोहित अग्रवालले कुनै पनि लगानीलाई नाफासँग जोड्न जरुरी हुने र त्यसका लागि कानुनी रुपमै ग्यारेन्टी हुनुपर्ने बताए ।
‘तपाई कुनै बैंकको सेयर किन्नुहुन्छ भने त्यसको सेयर कति पुग्छ भन्ने अनुमान गरेरमात्र लगानी व्यवसायीले गर्छ,’ उनले भने, ‘नाफा हुन्छ भने नाइजेरिया पनि लगानी गर्न तयार रहेका हामीहरु नेपाल जुन आफ्नै देश हो त्यसमा लगानी गर्न उत्साही छौं।’
चीनमा सरकार धेरै व्यवहारिक भएको र आर्थिक सुरक्षा भरपर्दो भएकाले विश्वभरबाट लगानी आएको भन्दै नेपालले पनि छिमेकीबाट यो कुरा सिक्नुपर्ने उनको सुझाव छ।
‘नेपालमा सधै कानुनी झन्झट र लम्बेतान समस्याहरु देखाइन्छ जसले लगानी नेपालमा लैजाने कि नलैजाने भन्ने हुन्छ ’ उनले भने ‘मैले कुनै एउटा हाइड्रोमा लगानी गरेँ तर उत्पादन कहिले दिन्छ थाहा छैन, घाटा अहिले नै ब्यहोरिरहेको छु।’
लगानीका क्षेत्रमा लामो समयदेखि अनुसन्धान गरिरहेका अरुणकुमार सुवेदीले नेपालको समस्या हरेक दिन खर्ब लगानी गर्ने लगानीकर्ताले नासु र सुब्वालाई दैनिक नमस्कार गर्नुपर्ने बताए।
यत्रो लगानी गर्नेलाई के चाहिन्छ भनेर सरकारले सुविधा दिएर काम गराउने भन्दा कसरी अड्काउने भनेर नासु र सुब्बाले कार्यालय धाउने पद्धति र कानुन कायम राखेसम्म एनआरएनएको लगानी नेपालमा आउन नसक्ने बताए।
अहिले विदेशमा रहेका ४० प्रतिशतले नेपालमा लगानी गर्न चाहेको अनुसन्धानमा देखिएको तर त्यहाँको राजनीतिक अस्थिरताले समस्या हुने गरेको उनले बताए ।
नेपालको जिडिपी भन्दा तीन गुणा बढी बाहिर बसेका नेपालीहरुको आम्दानी भएकाले यसबाट नेपालले फाइदा उठाउनुपर्ने उनले बताए ।
‘यी हाम्रै दाजुभाइ हुन्। उनीहरुसँग पैसा छ । तर लगानी गरौं भन्यो दैनिक सुब्बालाई नमस्कार नगरी अघि बढ्दैन। लगानीमा अति कानुनीकरण भएको छ। यसले समस्या भएको छ,’ उनले भने, ‘लगानीकर्तामाथि अत्याचार गर्ने राज्य हुन सक्दैन । साधन र स्रोतको अनुपयोगवाट राज्य गरिब हुन्छ । बाहिर बसेको एनआरएनएका मानिसहरुसँग पैसा छ, यसमा सरकारले पनि हातेमालो गर्नुपर्छ।’
त्यस्तै चीनका लागि नेपालका कार्यवाहक राजदुत रोशन खनालले लगानीको सम्भावना खोजी भए दूतावासले सहयोग गर्ने बताइन् । उनले चीनमा रहेर व्यवसायमा सफल भएका ६१ प्रतिशतले नेपाल फर्कन चाहना आफूसँग व्यक्त गरेको बताइन्।
त्यस्तै पूर्वसांसद एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव सापकोटाले लगानीका कुरा मात्र नभई रेमिट्यान्स कता गइरहेको छ भन्ने कुरा पनि खोज्नुपर्ने बताए।
‘एउटा महत्वपूर्ण बजेटको स्रोत डायस्पोरा हो भन्ने सबैले स्वीकार गरेका छन्,’ तर राजनीतिक अस्थिरता वा कानुनी जटिलता भनेर अब भाग्न मिल्दैन। सरकारले लगानीयोग्य र विश्वसनीय वातावरण बनाउनुपर्छ र त्यसका लागि दलहरुका तर्फबाट नेकपाले भूमिका खेल्न तयार छ,' उनले भने।
सामाजिक न्यायसहित आर्थिक समृद्धीमा कसरी जान सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्ने उनले बताए ।
रास्वपा सांसद खगेन्द्र सुनारले लगानीको वातावरण बनाउने कुरामा रास्वपा सधैँ तयार रहेको र आफ्ना घोषणापत्रमा पनि यो कुरा उल्लेख गरेको बताए ।
‘नेपालमा विगतमा जुत्ता उत्पादन गर्ने भन्दा जुत्ताको कम्पनी नै खाने चलन रहेछ,’ उनले भने ‘तर अब यो परम्परा अन्त्य हुनुपर्छ र अन्त्य गर्न सरकार प्रतिबद्ध छ। तपाईंहरु लगानी गर्न आउनुस्। सांसदको रुपमा कस्ता कानुन चाहिन्छ हामी बनाउन तयार छौं।’
युवा व्यवसायीलाई लगानीको वातावरण बनाउनुपर्ने र विदेशमा सीप र क्षमता कमाएकाहरु अब नेपाल फर्कनुपर्ने उनले बताए।
‘एनआरएनए माग्ने र हामी दिने हैनौं। दुवै एकै ठाउँमा उभिएर अघि बढ्नुपर्छ, ’ उनले भने, ‘सरकारले सधैँ प्रतिवद्धता गर्छ । पुरानाबाट भएन भनेर नै नयाँ शक्ति आएकाले अब निरास हुन दिनु हुँदैन।’