बेलायतमा बस्दै आएका शिवजी श्रेष्ठले आफ्नी श्रीमतीको पचासौं जन्मदिनको अवसरमा महाराजगन्जस्थित नर्सिङ क्याम्पसमा २ लाख रूपैयाँको अक्षय कोष स्थापना गरिदिएका छन्।
आफ्नी श्रीमती उर्मिला श्रेष्ठ पढेको नर्सिङ क्याम्पसमा स्थापित उक्त अक्षयकोषबाट त्यहा अध्ययनरत आर्थिक रूपमा कमजोर र जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृति प्रदान गर्ने व्यवस्था मिलाएर श्रीमतिलाई सरप्राइज उपहार दिएका हुन्।
आइतबार आफ्नो ५० औं जन्मदिन मनाउन लागेकी श्रीमतीलाई थाहै नदिइ उनले उनले पढेको नर्सिङ क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिदिएर सरप्राइज उपहार दिएका हुन्। जन्मदिनमा गरिने तडकभडकसहितको अनावश्यक खर्चचन्दा एउटा रचनात्मक क्षेत्रमा उक्त रकम खर्च भए पछिसम्म राम्रो हुने सोचेर आफूले सरप्राइज उपहार दिन लागेको श्रेष्ठले बताए।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Photo%20of%20the%20Week/2021/June%2012%2C%202021/nurse%20pic%202.jpg)
‘उनको नाममा कुनै राम्रो काम गर्न पाए कालान्तरसम्म रहने सोचेर जेहेन्दार विद्यार्थीका लागि सानो भए पनि भरथेग हुने सोचेर श्रीमतिलाई थाहै नदिइ सो छात्रवृतिको कोष स्थापना गरिदिएको हुँ, पक्कै पनि उनलाई मेरो यो जन्मदिनको उपहार राम्रो लाग्नेछ’, श्रेष्ठले भने।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Photo%20of%20the%20Week/2021/June%2012%2C%202021/image.png)
सामाजिक कार्यमा सक्रिय यो दम्पतीले गत वर्ष पनि आफ्नी श्रीमतीको जन्मदिनमा उनकै जन्मथलो इलाममा कोरोनाको कारण लकडाउनमा परेर हातमुख जोर्न समस्या परेका ३० परिवारलाई एक सातासम्म पुग्ने खाद्य सामाग्री वितरण गरेर मनाएका थिए। त्यसबखत पनि सो कार्यक्रमको बारेमा उनको श्रीमतीलाई यसरी नै सरप्राइज दिएका थिए।
श्रेष्ठले सोही वर्ष आफ्नो आमा र सासुआमाको जन्मदिनमा पनि ओखलढुंगा र इलाममा लक डाउनमा काम नपाएर अभावमा परेका गरिब र असहाय परिवारलाइ विभिन्न खाद्य सामाग्री वितरण गरेर मनाएका थिए।
![](https://scontent.fktm10-1.fna.fbcdn.net/v/t1.6435-9/110290021_5384503534909926_7658396054643963894_n.jpg?_nc_cat=102&ccb=1-3&_nc_sid=8bfeb9&_nc_ohc=6uSKQWT573kAX-yLC02&_nc_ht=scontent.fktm10-1.fna&oh=2f95b57ec90f58a644f0b070ec4779ce&oe=60D40440)
शिवजी श्रेष्ठले आफ्नी श्रीमती उर्मिलाको सम्मानमा आफ्नो क्याम्पसमा छात्रवृति स्थापना गर्ने कार्य अरूको लागि पनि उदाहरणीय भएको महाराजगन्ज नर्सिङ क्याम्पसका प्रमुख सुलोचना श्रेष्ठले बताइन्।
उर्मिला श्रेष्ठको जन्मदिन असार ६ (जुन २०) तारिखमा छात्रवृति स्थापना गर्न क्याम्पसमै पुगेर शिवजीका बहिनी बिनिता र ज्वाई प्रभातले २ लाख रूपैयाँको चेक क्याम्पसलाई हस्तान्तरण गरेका थिए।
उक्त रकमलाई आगामी दिनमा थप गर्दै बढाउँदै योजना रहेको संस्थापक शिवजी श्रेष्ठले बताए।
![](https://scontent.fktm10-1.fna.fbcdn.net/v/t1.6435-9/104800994_5281019095258371_1249654529233529119_n.jpg?_nc_cat=100&ccb=1-3&_nc_sid=8bfeb9&_nc_ohc=QqkNq19oHtQAX-3s24j&tn=hWuDHkOonoy2F_Fy&_nc_ht=scontent.fktm10-1.fna&oh=63ac149a40059c077a1904036614ce98&oe=60D43B78)
आफ्नो जन्मथलोको स्वास्थ्य र शिक्षा क्षेत्रका लागि लागिपर्ने श्रेष्ठ परिवारले आफ्ना बाजे बजैको नाममा स्थानीय जालपा माबी, गैरीगाउँ ओखलढुंगामा अक्षय कोष, बाबु आमाको नाममा आफू पढेको स्कुल सजमाविमा इ-लाइब्रेरी, त्यसैगरी आफ्नो स्वर्गीय दाजुको नाममा ओखलढुंगा क्याम्पसमा गत सरस्वती पूजाको दिन छात्रवृति कोष स्थापना गरिसकेका छन्।