साताको पहिलो दिन सेयर बजार दोहोरो अंकको गिरावट भएको छ। गत मंगलबारबाट सुधार आएको सेयरबजार पुन: साताको सुरूमै ओरालो लागेको हो।
आइतबार नेप्से परिसूचक १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा ओर्लिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज १८७ वटा कम्पनीका ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर बाट ४ अर्ब ४९ करोड ८० लाख रुपैयाँ बराबरको किनबेच भएको छ।
कारोबार भएकामध्ये ४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटाको नकारात्मक बनेको थियो भने एउटा कम्पनीको मूल्य यथावत् रहेको थियो।
आज तीन वटा कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभल नजिक पुगेको थियो। जसमा मैलुङ खोला जलविद्युत् कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्था छन्।
यस्तै सिबम् सिमेण्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यस्तै माउन्टेन हाइड्रो, रिडी हाइड्रोका लगानी कर्ताले ६ प्रतिशतभन्दा बढी गुमाएका छन्।
आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.९६ अंकले घटेर ४९९.७८ विन्दुमा ओर्लिएको छ। फाइनान्स, जीवन बिमा र म्युचुअल फण्डबाहेक सबै उपसमूहको परिसूचक नकारात्मक बनेको छ।