लाभांशको सजिनमा पनि सेयर बजार परिसूचकमा सुधार हुन सकेको छैन। कम्पनीहरूमा अधिकांशले कम लाभांश प्रस्ताव गरेको र त्यसमा पनि धेरैको जोड नगद लाभांशमा देखिएपछि पनि बजार बढ्न नसकेको हो।
हालसम्म ७७ वटा सूचीकृत कम्पनी तथा सामूहिक लगानी कोष व्यवस्थापकहरूले गत आर्थिक वर्ष २०७८/७९ को नाफापछि लाभांश घोषणा गरेका छन्। यसमध्ये १३ वटाले मात्रै १५ प्रतिशतमाथि लाभांश प्रस्ताव गरेका छन् भने १५ वटाले १० प्रतिशत माथि बोनस सेयर प्रस्ताव गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०७७/७८ को नाफा पछि हालै चार जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन्। यसमध्ये भने तीन वटाको लाभांश १० प्रतिशत माथि छ। केहीको बुक क्लोज समेत भइसकेको छ।
यसबाहेक बजारको वृद्धिलाई सघाउने गरि बजारमा तरलता प्रवाह हुन सकेको छैन। मूल्य वृद्धिले मानिसहरूको क्रय शक्तिमा प्रभाव पारिरहँदा विश्वव्यापि रुपमा आर्थिक मन्दिको सम्भावना समेत देखिएकोले यसको प्रभाव पनि बजारमा देखिएको छ।
गत साता भने बजार परिसूचक नेप्से ४३.७८ अंकले घटेर १९१७ मा बजार बन्द भएको छ। दैनिक औसत कारोबार रकममा भने १०.१२ प्रतिशतले बढेर एक अर्ब ४६ करोड पुगेको भएको छ। अघिल्लो साता पाँच दिनको कारोबारमा ६ अर्ब ६४ करोड रूपैयाँको सेयर किनबेच भएकोमा यस साता बजार खुलेको पाँच दिनमा ५ अर्ब ८५ करोडको कारोबार भएको हो।
मैनवत्ति प्रवित्तिः वियरिश
नेप्सेको मैनवत्ति चित्रमा अन्तिम दिनमा बनेको कालो (रातो) मैनवत्ति आकृति अघिल्लो दिनको न्युन विन्दुभन्दा पनि तल पुगेको छ। अघिल्लो दिन पाएको टेवा तहलाई समेत पार गरेर तल ओर्लिएकोले बजार केही दिन थप घट्न सक्ने संकेत गर्छ।
मुभिङ एभरेज प्रवित्तिः बुलिश
नेप्सेको रेखाचित्रमा बनाइएको ७ दिने र २१ दिने मुभिङ एभरेज रेखा एक अर्कासँग नजिकिएका छन्। अहिलेसम्म भने प्रवृत्ति बुलिश नै देखिन्छ। तर, माथि रहेको ७ दिने मुभिङ एभरेज रेखा क्रमश तल आएर २१ दिने रेखासँग जोडिन लागेको छ।
७ दिने रेखाले २१ दिने रेखालाई काटेर माथि लाग्ने प्रयास गरेमा भने बुलिश (बढ्ने) प्रवृत्ति शुरु हुने मानिन्छ। भने, २१ दिने रेखाले ७ दिने रेखालाई काटेर माथि लागेमा वियरिश प्रवृत्तिमा बजार रहेको मानिन्छ।
१४ दिने आरएसआइ प्रवृत्तिः सन्तुलित
बजार सन्तुलित अवस्थामा रहेको नेप्सेको १४ दिने आरएसआई सूचक विश्लेषणले देखाउँछ। गत बुधबार यो ५५.४१ विन्दुमा छ। मंगलबार ५८.६९ विन्दुमा थियो।
आरएसआई सूचक ३० मुनि भएमा बजार अवमूल्यन भएको र अधिक बिक्री बढेको संकेत गर्छ। त्यस्तै, ७० माथि भए अधिकमूल्यन भइरहेको र खरीदारी उच्च दरमा बढेको संकेत गर्छ। ३० देखि ७० बीचमा रहे सन्तुलित अवस्थामा रहेको विश्लेषण गरिन्छ।
पीभट विश्लेषण
यस साता १९७३ मा उच्च बिन्दु बनाएको नेप्सेको पीभट विश्लेषण अनुसार बजारले आगामी साता १८९८ मा पहिलो टेवा पाउने सम्भावना छ। त्यहा पुगेर बढ्न थालेमा १९५४ मा पहिलो लक्ष्य पाउने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९, ०२:१५:००