नेकपा एमालेले आसन्न निर्वाचनका लागि पार्टी महासचिव शंकर पोखरेल र राष्ट्रिय सभाकी पूर्व सदस्य कोमल ओलीलाई क्रमशः दाङ क्षेत्र नम्बर २ र ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेवार बनाउने भएको छ।
पोखरेलनिकट एक नेताका अनुसार दाङमा तीनै निर्वाचन क्षेत्रमा क-कसले उम्मेदवारी दिने भन्ने पार्टीले तय गरिसकेको छ।
दाङ २ र ३ बाट क्रमशः पोखरेल र ओलीलाई टिकट दिँदा निर्वाचन क्षेत्र नम्बर १ बाट भने एमालेले निवर्तमान सांसद शान्ता चौधरीलाई टिकट दिएको छ। चौधरी समानुपातिक तर्फकी सांसद हुन्।
त्यस्तै एमालेले काठमाडौं क्षेत्र नम्बर ६ मा सर्वेन्द्रनाथ खनाललाई टिकट दिएको छ। पूर्व प्रहरी महानिरीक्षक खनाल हालै नेकपा एमाले प्रवेश गरेका हुन्।
उनी एमालेबाट उठ्न लागेको काठमाडौं- ६ बाट अघिल्लो दुई निर्वाचन नेपाली कांग्रेसका भीमसेनदास श्रेष्ठले जितेका थिए। उनी रक्षामन्त्रीसमेत भए।
अघिल्लोचोटि संसदीय निर्वाचनमा श्रेष्ठले एमाले र माओवादी गठबन्धनका उम्मेदवार झक्कू सुवेदीलाई हराएका हुन्। २०७४ भन्दा अगाडि यही निर्वाचन क्षेत्रबाट नेकपा एमालेका योगेश भट्टराई दुईचोटि पराजित भएका थिए।
यसैगरी नेकपा एमालेले सूर्य थापालाई प्युठानबाट प्रतिनिधिसभा उम्मेदवारको टिकट दिएको छ। थापा एमालेका प्युठान इन्चार्जसमेत हुन्। प्रधानमन्त्री केपी ओलीको दोस्रो कार्यकालमा थापा उनका प्रेस सल्लाहकार थिए।
त्यस्तै एमालेले योगेश भट्टराईलाई ताप्लेजुङबाट टिकट दिएको छ भने कृष्णभक्त पोखरेललाई चितवन क्षेत्र नम्बर २ बाट दिएको छ। चितवन क्षेत्र नम्बर १ का सुरेन्द्र पाण्डेले भने अहिलेसम्म टिकट पाउने वा नपाउने भन्ने टुंगो नभएको स्रोतले जनाएको छ।
भीम रावल र घनश्याम भुसालले भने टिकट नपाउने पक्का भएको छ।
एमालेनिकट स्रोतका अनुसार भुसालको निर्वाचन क्षेत्र रूपन्देही ३ मा राप्रपाका दिपक बोहोराले टिकट पाएका छन्। यो क्षेत्रमा एमालेले राप्रपालाई सघाउनेछ।
त्यस्तै अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका रावलको साटो माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाउने भएका छन्।