फेवातालमा बिहीबार विदेशी नागरिक मृत अवस्थामा भेटिएका छन्।
ती पुरूष बेलायतका नागरिक रहेको साथमा भेटिएको झोलामा रहेको पासपोर्टबाट थाहा भएको कास्की प्रहरीले जनाएको छ।
डिएसपी सुन्दर तिवारीका अनुसार पासपोर्टमा नाम मार्क सुट र उमेर ४६ वर्ष उल्लेख छ। उनी २०१९ मै नेपाल आएको थाहा भए पनि अन्य जानकारी नखुलेको तिवारीले जनाए।
पोखरा २२ अँधेरीखोलानजिकै पूर्वी फेवातालमा तैरिरहेको अवस्थामा मार्क भेटिएका थिए।
दिउँसो साढे १२ बजेतिर डुंगा चालक रामचन्द्र परियारले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। शव सड्न लागेको अवस्थामा भेटिएको तिवारीले बताए।
कास्की प्रहरी प्रवक्ता तिवारीका अनुसार शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
शरीरमा बाहिरी चोटपटक नरहेकोले पोष्टमार्टमपछि थप कुरा खुल्ने उनले बताए।