केही फलफल, तरकारीको उत्पादन धेरै हुँदा बजार नपाएर कुहिएको, खेर गएको खबर बेलाबेला आइरहेकै हुन्छ। किसानको मेहनतले उब्जाएको उत्पादन खेर जाँदा सबैलाई दुःख लाग्छ।
पहाडी भेगमा फलेको नेपाली सुन्तलाको कथा भने फरक छ।
बोटबाट टिप्ने बित्तिकै बजार पुग्ने यो फल न त भण्डारमा थन्किन्छ, न नबिकेर खेर जान्छ।
उत्पादन बढ्दै गए पनि नेपाली सुन्तलाको माग घटेको छैन, बरू बर्सेनि बढ्दो छ।
अहिले काठमाडौंको बजारमा मुख्यगरी म्याग्दी, कुस्मा, स्याङ्जा, लमजुङ, गोर्खा, धनकुटा र सल्यानका विभिन्न क्षेत्रबाट सुन्तला भित्रिएको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका अध्यक्ष अमर बानियाँले जानकारी दिए।
यहाँ सुन्तला छिमेकी मुलुक भारत र चीनबाट पनि भित्रिन्छ। तर आयातीत सुन्तलाले स्वदेशी बजारमा कुनै असर नगर्ने उनी बताउँछन्।
मंसिरदेखि फागुनसम्म स्वदेशी सुन्तलाको सिजन हो। यो अवधिमा सुन्तला आयात नै हुँदैन।
'चार महिना स्वदेशी उत्पादनले धान्छ। स्वदेशीकै एकछत्र राज हुन्छ। यो बेला भारत र चीनबाट सुन्तला ल्याए पनि बिक्दैन,' उनले भने।
सिजन सकिने बेला बजारमा धनकुटा र सल्यानका सुन्तला देखा पर्छन्। निख्रिन लागेका बेला बजार आउने भएकाले यहाँको सुन्तलाले बढी मूल्य पाउने गरेको छ।
'गत वर्ष पनि होलसेलमै २५० रूपैयाँ किलो थियो,' अध्यक्ष बानियाँले भने।
-1765093112.jpg)
फागुनदेखि कात्तिक अन्तिमसम्मै भारतीय र चिनियाँ सुन्तला बजारमा पाइन्छ। बजारमा स्वदेशी सुन्तला आउन थालेपछि भने बाहिरबाट आयात हुन छोड्छ।
'अन्य फलफूल, तरकारीलाई जस्तो सरकार वा किसानले आयात रोक्न पर्दैन। ग्राहकले नरूचाउने भएपछि व्यवसायीले नै ल्याउँदैनन्,' उनले भने।
अध्यक्ष बानियाँका अनुसार तुलनात्मक रूपमा स्वदेशीभन्दा आयातीत सुन्तला सस्तो पर्छ। तर ग्राहकले महँगो मूल्य तिरेर पनि स्वदेशी सुन्तला नै किन्छन्।
यो प्रवृत्ति सुरू भएको वर्षौं भयो। र, यसको मुख्य कारण हो — स्वाद।
भारतीय र चिनियाँ सुन्तलाको तुलनामा स्वदेशी सुन्तलाको स्वाद फरक छ। पहाडी हावापानीको सुन्तला मिठो हुने भएकाले ग्राहकले स्वदेशी सुन्तला नै खोज्ने उनले बताए।
गुणस्तरका आधारमा पनि स्वदेशी सुन्तला राम्रो छ।
'भारतीय सुन्तला पनि नमिठो हुने होइन, नबिक्ने पनि होइन,' उनले भने, 'तर नेपाली सुन्तला आउन थालेपछि भारतीय सुन्तला ग्राहकले खोज्दैनन्। स्वादै फरक हुन्छ।'
सुन्तलाको उत्पादन बढेसँगै ठाउँ अनुसार स्वादमा पनि विविधीकरण आएको छ।
केही समय पहिले बजारमा गोर्खाको सुन्तलाले एकछत्र राज गरेको थियो। गोर्खा, दोलखा तथा काभ्रेका सुन्तला पनि व्यापारीले गोर्खाकै भनेर बेच्थे। अहिले त्यो प्रवृत्ति फेरिँदै कुस्मा र म्याग्दीको सुन्तला ग्राहकले बढी खोज्ने बानियाँले बताए।
-1765093111.jpg)
'नेपालको त सबैतिरको सुन्तला मिठो छ। तर अचेल ग्राहकले कुस्मा र म्याग्दीको सुन्तला बढी रूचाउँछन्,' उनले भने।
बजार मूल्य पाएरै किसान आफै सुन्तला खेतीमा आकर्षित भएका पनि उनले बताए।
व्यापारीहरू बगानमा गएरै बोट हेरी मूल्य तोकेर लिन्छन्। बजार लगेर बेचेपछि नाफा वा घाटा जे हुन्छ, त्यो व्यापारीकै हो। किसानलाई तोकिएको पैसा रोकिँदैन।
जुनसुकै ठाउँमा उत्पादन भए पनि सुन्तलाको आकारका आधारमा 'ए', 'बी' र 'सी' गरेर गुणस्तर छुट्ट्याइन्छ। यस अन्तर्गत ठूला, सफा र राम्रा देखिने सुन्तला 'ए' ग्रेडमा पर्छन्।
त्यसैगरी साना आकारका र रूपरङका आधारमा क्रमशः 'बी' र 'सी' मा राखिन्छ।
अनि ग्रेडकै आधारमा मूल्य छुट्ट्याइन्छ।
अन्य फलफूलको तुलनामा ग्राहकले सुन्तला ताजै खान पाउँछन्।
सामान्यतया टिपेको सुन्तलाको आयु १५ दिनदेखि एक महिनाको हुन्छ। तर किसान वा व्यापारीले पछि मूल्य बढी पाइन्छ भनेर मौज्दात राख्ने अवस्था हुँदैन।
नजिकका बजारमा टिपेकै दिन बजार पुग्छ भने बाहिर जिल्लाबाट काठमाडौंमा भोलिपल्टसम्म आइपुग्ने बानियाँले बताए।
पछिल्लो समय सुन्तलाको बजार बढ्दै गएको छ। पकेट क्षेत्र छुट्ट्याएर व्यवस्थित तरिकाले उत्पादन गर्न सके अझै बढ्ने उनले बताए।
'उत्पादन एकै पटक आउँदा भाउमा उतारचढाव हुन सक्ला। अहिलेभन्दा दोब्बर उत्पादन भए पनि नबिक्ने भन्ने नहोला,' अध्यक्ष बानियाँले भने, 'सहरदेखि गाउँसम्मै, प्रत्येक उमेर समूहका मानिस सुन्तला खाने ग्राहक हुन्।'
-1765093110.jpg)