काठमाडौंका बजारमा अचेल स्ट्रबेरी पाउन मुस्किल छैन। सडकमा नाङ्ला पसलदेखि ठूला मार्टहरूमा पनि यो फल बेच्न राखेको देखिन्छ।
फलफूल व्यवसायी अमित शाहका अनुसार काठमाडौंमा पाइने स्ट्रबेरी मुख्य गरी ककनीबाट आउँछ।
'अहिले काठमाडौंमा ९५ प्रतिशत स्ट्रबेरी ककनीबाट आउँछ। ५ प्रतिशत मात्रै काठमाडौं उपत्यकाका अन्य ठाउँ, काभ्रे, धुलिखेल लगायत क्षेत्रबाट आउने हो,' उनले भने।
ककनीमा तीन दशकअघि जापानको आर्थिक सहयोगमा स्ट्रबेरीका बिरूवा ल्याएर रोपिएको थियो। सुरूमा परीक्षणका रूपमा रोपिएको यो फल व्यावसायिक बनिसकेको छ। अहिले सिजन, अफसिजन जुनै बेला स्ट्रबेरी पाउन सकिन्छ।
'कुनै बेला ककनीमा मात्रै उत्पादन हुने स्ट्रबेरी विस्तारै अन्य क्षेत्रमा फैलिएको हो,' अमितले भने।
स्ट्रबेरीको मुख्य सिजन कात्तिक अन्तिमदेखि वैशाखसम्म हुन्छ। अचेल अफसिजनमा पनि मजाले उत्पादन हुन्छ। उत्पादन मात्र होइन, माग पनि उत्तिकै छ।
'मौसम अनुसार ग्राहक नै फरक छन्। सिजनका बेला उपभोक्ताले बढी किन्छन् भने अफ सिजनमा होटल तथा रेस्टुरेन्टले बढी किन्छन्,' उनले भने।
स्ट्रबेरी छिमेकी मुलुक भारतबाट आयात पनि हुन्छ। तर आयातीत स्ट्रबेरीले स्वदेशी उत्पादनमा कुनै असर नगरेको अमितले बताए।
'भारतीय उत्पादन आए पनि हामीलाई केही असर परेको छैन। त्यो होटल–रेस्टुरेन्टमा प्रयोग हुन्छ,' उनले भने।
नेपाली स्ट्रबेरी गुणस्तरीय, स्वादिलो र सस्तो भएकाले भारतीयले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ।
अन्य फलफूलको तुलनामा स्ट्रबेरीको आयु थोरै हुन्छ। त्यसैले टिप्ने बित्तिक्कै बजार पुर्याइन्छ। फेरि यसलाई अन्य फलफूल जस्तो काँचो टिपेर पछि पकाऊँला भन्ने पनि हुँदैन। बोटमै राम्ररी पाकेपछि टिप्नुपर्छ।
त्यसैले बिहान टिपेर बजार पुर्याइहाल्ने उनले बताए।
स्ट्रबेरीलाई आकारका आधारमा 'ए', 'बी' र 'सी' ग्रेडमा छुट्ट्याइएको हुन्छ। यही अनुसार मूल्य पनि तोकिन्छ। ठूला र आकर्षक देखिनेको मूल्य धेरै हुन्छ। अलि साना, आकार बिग्रेकाको मूल्य क्रमशः घट्दै जान्छ।

भाटभटेनी, सेल्स बेरी, बिग मार्ट लगायत ठूला स्टोरहरूमा 'ए' ग्रेडका स्ट्रबेरी जाने अमितले बताए। यस्ता स्टोरका लागि प्रायः किसानहरूले नै प्याकिङ गरेर पठाउँछन्।
पछिल्लो समय उत्पादन बढेसँगै स्ट्रबेरीका ग्राहक पनि बढेका छन्।
उनले भने, 'पहिले स्ट्रबेरी धेरैलाई थाहा थिएन। अहिले स्ट्रबेरी नचिन्ने कोही छैनन्। अझ स्वस्थ जीवनशैली र स्वादका कारण स्ट्रबेरीको माग बढेको छ। बच्चाहरूले पनि मन पराउँछन्।'
स्ट्रबेरी उत्पादक कृषक छेसाङ तामाङ भने स्ट्रबेरीको मूल्यमा एकरूपता नभएको बताउँछन्। ककनी गाउँपालिका–२ मा उनको 'नमुच्छेत कृषि फार्म' छ। यो उनको पुर्ख्यौली व्यवसाय हो।
'स्ट्रबेरीको बजार राम्रो छ। बजार नजिक छ। किसानले आफै आफूखुसी भाउमा बेच्छन्। त्यसैले मूल्यमा एकरूपता छैन,' उनले भने।
नेपालमा स्ट्रबेरी खेती थालिएको तीन दशक भए पनि बजारीकरण हुन थालेको दुई दशक भएको उनले बताए।
उनका अनुसार पहिले उत्पादन थिएन, बजार पनि थिएन। तर उत्पादनसँगै बजार बढेको छ। स्ट्रबेरी लगाउने तरिका पनि फेरिएको छ।
'पहिले खुला जमिनमा पराल, सोत्तर हालेर उत्पादन गरिन्थ्यो। अहिले मल्चिङ प्रविधिमा लगाइन्छ,' छेसाङले भने।
किसान एकजुट भएर एउटै मूल्य कामय गर्न सके स्ट्रबेरीले अझै राम्रो मूल्य पाउने उनको भनाइ छ।
स्ट्रबेरीमा भण्डारणको व्यवस्था भएकाले उत्पादन धेरै हुँदा किसानले राख्ने र अफसिजनमा बेच्ने उनले बताए।
केही वर्षयता सिजनका बेला स्ट्रबेरी खान उपभोक्ताहरू फार्मसम्मै पुग्ने चलन पनि बढेको छ। साथी समूह, परिवारका साथै शैक्षिक संस्थाहरूले विद्यार्थीलाई फार्म घुमाउन लैजान्छन्। यसका लागि किसानले नै प्याकेज बनाउँछन्।
'स्ट्रबेरी लगाउने किसान बढेका छन्। बाहिर निर्यात गर्न त मापदण्ड नै धेरै छ। स्ट्रबेरी बिकेन भने किसान निरूत्साहित हुन्छन्,' छेसाङले भने, 'अन्तिममा साना–साना स्ट्रबेरी नबिकेर त्यसै खेर जान्छ। प्रशोधन उद्योग खुल्यो भने किसानलाई राहत हुन्थ्यो।'