एनआइसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेको बैंकले जनाएको छ।
बैंकले आर्थिक वर्ष २०७८/७९को दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम २७३.४६ अर्ब पुर्याउन सफल भएको छ। साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन २९९.३४ अर्ब पुर्याएको छ।
बैंकले यस त्रयमासमा खुद मुनाफा तर्फ २.४० अर्ब आर्जन गरेको छ। जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो। यसैगरी बैंकको स्व-पुँजीमा प्रतिफल २१.७७ प्रतिशत छ, जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ। साथै, यस बैंकले वार्षिक प्रति सेयर आम्दानी ४१.४३ आर्जन गर्न बैंक सफल भएको छ। जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ। बैंकले आफ्नो निष्कृय कर्जालाई दोस्रो त्रयमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।
बैंकले आर्थिक वर्ष २०७८/७९को दोस्रो त्रयमाससम्ममा ५ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाखभन्दा बढी खाताहरूमार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दैछ। यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ। साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान छ।
बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैर-वित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको बैंक आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रयमासमा वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद नाफा, स्व-पूँजीमा प्रतिफल, प्रति सेयर आम्दानी, शाखा कार्यालय, एटिएम र ग्राहक संख्यामा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (प्रति सेयर आम्दानी र ग्राहक संख्यामा निजी बैंकहरूमा पहिलो) ओगट्न सफल भएको थियो।
बैंकले मुलुकभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ। उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ८३ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ।