सोमबार सेयर बजार परिसूचक नेप्से १७ महिनायताकै न्यून विन्दुमा आइपुगेको छ। नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा आइपुगेको हो। यो २०७७ पुस २६ यताकै न्यून विन्दु हो।
बजार परिसूचक उच्च विन्दुबाट करिब ९२४ अंक ओर्लिएको हो। बजार अन्तरदिनको कारोबार २२०० अंक मुनि ओर्लिएको भए पनि बन्द हुँदा केही सुधारिएको थियो। यसले लगानीकर्ताहरूमा २२०० को तहबाट बजार तल नजाने अपेक्षा रहेको देखिन्छ। यो २२०० को तह तत्कालको लागि मनोवैज्ञानिक तह सावित भइरहेको छ।
आज २२४ धितोपत्र तथा ऋणपत्रको ३९ लाख १७ हजार ६५५ सेयर किनबेच हुँदा एक अर्ब ३६ करोड ९५ लाख १३ हजार १९१ रूपैयाँको कारोबार भएको हो।
आज जम्मा २० किसिमका धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने १९७ वटाको मूल्य घटेको हो।
गुराँस लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै ६.२० अंकले सेयर मूल्य बढेको छ भने मिथिला लघुवित्त वित्तीय संस्थाको सबैभन्दा कम ५.८९ प्रतिशतले घटेको छ।
कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये सबैको सेयर मूल्य नकारात्मक देखिएको छ। आज सबैभन्दा धेरै लाइफ इन्स्योरेन्सको २.६२ प्रतिशत, होटल एन्ड टुरिजमको २.४४ प्रतिशत र हाइड्रोको २.०८ प्रतिशतले सेयर मूल्य घटेको छ।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै नबिल बैंकको ४ करोड १५ लाख ९ हजार रूपैयाँको भएको छ। यसपछि अरुण काबेली पावरको ३ करोड ८७ लाख २७ हजार रूपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८५ लाख ७३ हजार रूपैयाँ, सिटिजन इनभेस्टमेन्ट ट्रस्टको ३ करोड ६४ लाख २६ हजार रूपैयाँ र हिमालयन डिस्टिलरी ३ करोड ५३ लाख ८३ हजार रूपैयाँको कारोबार भएको छ।