मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज (शुक्रबार) देखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ।
कम्पनीले ११ लाख ४८ हजार कित्ता सेयर जारी गरेको हो। प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको आधारमा सेयर जारी गरिरहेको छ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।
यसमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीले १४ करोड रूपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये, कम्पनीले पहिलो चरणमा १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरू र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपिओलाई 'डबल बी माइनस रेटिङ' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ। यो आइपिओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
मुक्तिनाथ कृषि कम्पनी हो। कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि कम्पनीले आवश्यक गुणस्तरीय उत्पादन गरिरहेको छ।
कम्पनीले आइपिओबाट प्राप्त गर्ने पुँजी उद्योग संरचनाको विकास र अनुसन्धानमा प्रयोग गर्ने उद्देश्य राखेको छ। परीक्षण ल्याब बनाउने, भण्डार बनाउन प्रयोग गर्ने भएको छ।
सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी ७० करोड रूपैयाँ पुग्नेछ। कम्पनीमा मुक्तिनाथ विकास बैंकको सबैभन्दा धेरै २७.८ प्रतिशत सेयर स्वामित्व रहेको छ। यसका मुख्य सेयरधनीमा भरतराज ढकाल, तुलसीराम ढकाल, नारायण कुमार श्रेष्ठ, सिताराम काफ्ले, भगवती लामिछाने र गौतम प्रसाद खनाल छन्।
सन् २०१८ मा स्थापना भएको यो कम्पनी यस क्षेत्रकै ठूलो कम्पनी बन्ने प्रयासमा मुक्तिनाथ कम्पनी रहेको छ। यसले हाल कृषि क्षेत्रमा आवश्यक औजार लगायतका विविध बस्तुको उत्पादन गर्दै आएको छ।
सन् २०२२ मा कम्पनीले १९ करोड २० लाख कमाएको थियो। तर, त्यो वर्षलाई लिएको लक्ष्य अनुसार आम्दानी हुन सकेको थिएन। कम्पनीले सरकारलाई समयमै रासायनिक मल दिन नसकेपछि राइट अप गर्न परेको थियो। यही कारण लक्ष्य अनुसार आम्दानी हुन नसकेको हो।
२०७९/८० मा कम्पनीले ४० करोड १९ लाख आम्दानी गरेको थियो। कम्पनीले आव्हान पत्रमा प्रकाशित गरेको विवरण अनुसार २०७९/८० मा कम्पनीले १ करोड ७२ लाख रूपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष २०७८/७९ मा भने कम्पनी १० करोड २७ लाख नोक्सानमा थियो।
कम्पनीले नगद प्राप्त गर्ने अवधि पनि अघिल्लो वर्ष २०७८/७९ मा ४ सय ३३ दिन रहेको छ। यसमा केही सुधार भने भएको थियो।
२०७९/८० मा कम्पनीको प्रतिसेयर नेटवर्थ ९० रूपैयाँ ३२ पैसा छ। प्रतिसयर आम्दानी ३ रूपैयाँ ४८ पैसा छ।