नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकहरूमध्ये हालसम्म ११ वटा बैंकले लाभांश घोषणा गरेका छन्।
यी बैंकहरूले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन्।
लाभांश घोषणा गर्ने बैंकहरूमा माछापुच्छ्रे बैंक, एभरेस्ट बैंक, एनआइसी एसिया बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक र एनएमबी बैंक छन्।
यी ११ वाणिज्य बैंकमध्ये सबभन्दा बढी लाभांश एनआइसी एसिया बैंकले घोषणा गरेको छ। यसले २९ प्रतिशत बोनस सेयर र १.५२ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
एनआइसी एसियाले आर्थिक वर्ष २०७६/७७ पछि यो वर्ष लाभांश दिन लागेको हो। गत दुई आर्थिक वर्ष यो बैंकले कुनै लाभांश दिएको थिएन।
त्यस्तै, एभरेस्ट बैंकले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। एभरेस्टले गत वर्ष १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो।
माछापुच्छ्रे बैंकले भने यो वर्ष १४ प्रतिशत लाभांश दिने भएको छ। गत वर्षको नाफाबाट यो बैंकले सेयरधनीहरूलाई १३.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश दिन लागेको हो। गत वर्ष माछापुच्छ्रेले कुनै लाभांश वितरण गरेको थिएन।
यस्तै, सानिमा बैंकले यो वर्ष ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कुल १४.७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। यसले गत वर्ष भने १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गरेको थियो।
सिटिजन्स बैंकले यो वर्ष नगद लाभांश मात्र दिने भएको छ। यसले ५.७९ प्रतिशत लाभांश दिएको हो। गत वर्ष पनि ९ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो। गत वर्षको तुलनामा सिटिजन्सको लाभांश दर घटेको छ।
सिद्धार्थ बैंकले पनि यो वर्ष नगद लाभांश मात्र दिने भएको छ। सिद्धार्थले ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। गत वर्ष यो बैंकले १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश दिएको थियो। गत वर्षको तुलनामा यस बैंकको पनि लाभांश दर घटेको छ।
यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकले यो वर्ष १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। यसले गत वर्ष १६.५१ प्रतिशत नगद लाभांश दिएको थियो। गत वर्षको तुलनामा यस बैंकको लाभांश दर बढेको छ।
ग्लोबल आइएमई बैंकले सेयरधनीहरूलाई चुक्ता पुँजीको १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। यो बैंकले गत वर्ष ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गरेको थियो।
नेपाल एसबिआई बैंकले यो वर्ष सेयरधनीहरूलाई ३.७५ प्रतिशत बोनस सेयर र ६.८ प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश दिने भएको छ। गत वर्ष भने यसले ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।
यसैगरी, नबिल बैंकले यो वर्ष सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश दिन लागेको हो। गत वर्ष नबिलले १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो। गत वर्षको तुलनामा यस बैंकको लाभांश दर घटेको छ।
त्यस्तै, एनएमबी बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने घोषणा गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको हो। गत वर्ष भने बैंकले ८.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
माथि उल्लेखित बैंकहरूमध्ये नेपाल एसबिआई बैंक र नबिल बैंक बाहेकका सबै बैंकको बुक क्लोज भइसकेको छ। माछापुच्छ्रे बैंकको लाभांश भने साधारण सभाले पारित गरेर नेप्सेमा सूचीकृत समेत भइसकेको छ।