राष्ट्र बैंकले मंगलबार बैंकहरूको प्रणालीबाट ९० अर्ब रूपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले १२ दिनको लागि निक्षेप तान्न लागेको हो।
राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत बैंकहरूमा उब्रिएको यस्तो रकम तान्ने गर्छ। त्यस्तै, पुँजी कम हुँदा बैंकहरूको प्रणालीमा पैसाको प्रवाह बढाउने गर्छ।
निक्षेप संकलन र स्थायी निक्षेप सुविधा जस्ता वित्तीय उपकरण मार्फत विभिन्न अवधिको लागि राष्ट्र बैंकले बैंकहरूबाट पैसा तान्ने गर्छ।
एक वर्षभन्दा लामो समयदेखि बैंकहरूमा पैसा थुप्रिएको छ। पैसा थुप्रिए पनि त्यही अनुसार बैंकहरूले कर्जा लगानी बढाउन नसक्दा राष्ट्र बैंकले उब्रिएको रकम तान्ने गर्छ।
राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंकहरूले यसरी राखेको रकम सात खर्ब ३८ अर्ब रूपैयाँ पुगेको छ। बैंकहरूले औसत २.७५ प्रतिशत ब्याज पाउने गरेर यसरी राष्ट्र बैंकमा पैसा राखिरहेका छन्। कर्जा लगानी बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा १० खर्ब २६ अर्ब हाराहारी रकम (तरलता) छ।
असोज ९ गते सम्म बैंकहरूको निक्षेप ७४ खर्ब सात अर्ब र कर्जा लगानी ५६ खर्ब ४० अर्ब रूपैयाँ रहेको राष्ट्र बैंकको वेबसाइटमा उल्लेख छ। पछिल्लो समय बैंकहरूबाट हुने कर्जा लगानी बढ्न नसक्दा र निक्षेप संकलन बढिरहँदा लगानी योग्य रकम थुप्रिरहेको छ।
केही समय अघिसम्म यसरी उब्रिएको रकम सरदर चार पाँच खर्ब हुने गरेकोमा महिनादिन यता यो रकम बढिरहेको छ। कर्जा लगानी जति कम भयो यसरी राखिने रकम बढ्दै जान्छ भने जति बढ्दै गयो, यसरी राखिने रकम त्यति नै कम हुँदै जान्छ। बैंकहरूले आफूसँग भएको सबै रकम कर्जा लगानी गर्न पाउँदैनन्।
निक्षेप झिक्न आउने सर्वसाधारण लगायतलाई दिनुपर्ने भुक्तानी नरोकियोस भनेर निक्षेप संकलन, चुक्ता पुँजी लगायत रकमको कम्तीमा २० प्रतिशत तरल सम्पत्तिको रूपमा राख्छन्।
जतिबेला चाहिन्छ त्यो बेला झिक्न सकियोस भनेर बैंकहरूले यस्तो सम्पत्तिको रूपमा राखेका हुन्छन्। यस्ता सम्पत्ति भनेको सरकारी ऋणपत्रहरू नै हुन्। केही रकम नै पनि बैंकहरूले राष्ट्र बैंकमा राख्छन्।
त्यस बाहेक राष्ट्र बैंकले बैंकमा बढी पैसा हुँदा तान्न र आवश्यक पर्दा पठाउने गरी विभिन्न वित्तीय उपकरण जारी गरिरहेको हुन्छ।