नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासनको लागि पेस भएका वित्तीय विवरणको पुनरावलोकनसम्बन्धी मापदण्ड २०८२ जारी गरेको छ।
विशेषगरी प्रत्यक्ष नियामक निकाय नभएका कम्पनीहरूलाई विशेष मापदण्डको आधारमा पुनरावलोकन गर्न सकिने व्यवस्था यस मापदण्डले गरेको छ।
बोर्डले सबैलाई लागु हुने केही सामान्य मापदण्ड समेत तोकेको छ।
यस अनुसार सरकार वा सरकारी निकायलाई तिर्नुपर्ने कर महसुल लगायतका अन्य रकमहरू सम्भावित दायित्वमा रहेको र सो रकमहरूलाई समायोजन गर्दा सार्वजनिक निष्कासनको लागि कम्पनीको नेटवर्थ, खुद नाफा लगायतका अन्य वित्तीय मापदण्ड पूरा नहुने देखिए वित्तीय विवरण पुनरावलोकन हुनेछ।
सरकार वा सरकारी निकायलाई तिर्नुपर्ने कर महसुल लगायतका अन्य रकमहरू सम्भावित दायित्वमा रहेको र सो रकमहरूलाई समायोजन गर्दा संस्थाको नेटवर्थ चुक्ता पुँजीको आधा वा सोभन्दा कम हुनेभए पनि पुनरावलोकन गरिने भएको छ।
यो व्यवस्था २०८३ वैशाख १ गतेबाट कार्यान्वयनमा आउने छ।
यो मापदण्डले कम्पनीहरूको वित्तीय विवरण पुनरावलोकन वा जाँचबुझ गर्ने लेखाविशेषज्ञको योग्यता समेत तोकेको छ।
यसको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पेशागत प्रमाणपत्र प्राप्त गरी कम्तीमा १० वर्षको अनुभव रहेका, चार्टर्ड एकाउन्टेन्ट वा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट फरेन्सिक अकाउन्टिङ एण्ड फ्रड डिटेक्सन परीक्षा उत्तीर्ण गरेको र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पेशागत प्रमाणपत्र प्राप्त गरी कम्तीमा ५ वर्षको अनुभव भएको चार्टर्ड एकाउन्टेन्टहरूले गर्न सक्ने लगायतको व्यवस्था उल्लेख गरिएको छ।
लेखा विशेषज्ञ कम्तीमा साझेदारी फर्मको साझेदार भएको हुनुपर्ने र विगत तीन वर्षदेखि सम्बन्धित संगठित संस्थासँग कुनै पनि लेखापरीक्षण वा अन्य वित्तीय परामर्श सेवा प्राप्त नभएको हुनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, लेखा विशेषज्ञले आफू सम्बन्धित संगठित संस्था र धितोपत्र निष्कासन वा बिक्री प्रबन्धकसँग स्वार्थको बाझिने कुनै किसिमको सम्बन्ध नरहेको स्वः घोषण समेत गर्नुपर्ने भएको छ।
उत्पादनमूलक कम्पनीको वित्तीय विवरण पुनरावलोकन हुनेसक्ने अवस्थाः
पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणमा ७५ प्रतिशतभन्दा बढी बिक्री आम्दानी (व्यवसायसँग प्रत्यक्ष सम्बन्धित आम्दानी) को रकम व्यापारिक प्राप्य रकम वा यस्तै अन्य कुनै शीर्षकमा रहेको देखिए।
पछिल्लो तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणमा उल्लेखित औसत व्यापारिक आम्दानी वा प्रत्यक्ष खर्चको कम्तीमा ३० प्रतिशतभन्दा बढी सम्बद्ध व्यक्तिसँगको कारोबार (सरकारी निकाय बाहेक) रहेको देखिए।
पछिल्लो लेखापरीक्षण भएको आर्थिक वर्षको वित्तीय विवरणमा कुल नाफा अनुपात त्यस अघिको दुई आर्थिक वर्षको औषतको तुलनामा ३० प्रतिशतभन्दा बढी फरक परेको देखिए।
पछिल्लो लेखापरीक्षण भएको आर्थिक वर्षको वित्तीय विवरणमा ब्याज वित्तीय खर्चको रकम त्यस अघिको दुई आर्थिक वर्षको ब्याज खर्च, ब्याजदर र ऋण रकमको तुलनामा उल्लेख्य रूपमा फरक रहेको देखिए।
जलविद्युत, ऊर्जा तथा ऊर्जा पूर्वाधारमा:
पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणको आधारमा परियोजनाको कुल खर्चको ३० प्रतिशतभन्दा बढी रकमको कारोबार सम्बद्ध व्यक्ति मार्फत भएको देखिए।
पछिल्लो तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणमा इन्टरनल रेटअफ रिर्टनको दर विभिन्न आर्थिक वर्षमा फरक फरक रहेको र सो फरक रकम समायोजन गर्दा नेटवर्थ, खुद नाफा लगायत अन्य वित्तीय मापदण्ड पूरा नहुने देखिए।
पछिल्लो लेखापरीक्षण भएको आर्थिक वर्षको वित्तीय विवरणमा ब्याज वित्तीय खर्चको रकम त्यस अघिको दुई आर्थिक वर्षको ब्याज खर्च, ब्याजदर र ऋण रकमको तुलनामा उल्लेख्य रूपमा फरक रहेको देखिए।
संगठित संस्थाको मुख्य परियोजनाको निर्माण अवधिमा नै अन्य परियोजनामा लगानी गरिएको र सो लगानी बापतको रकम सार्वजनिक निष्कासन गर्ने रकम बराबर वा सोभन्दा बढी भए।
होटल तथा पर्यटनमा:
पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणमा ५० प्रतिशतभन्दा बढी बिक्री आम्दानी (व्यवसायसँग प्रत्यक्ष सम्बन्धित आम्दानी) को रकम व्यापारिक प्राप्त रकम वा यस्तै अन्य कुनै शीर्षकमा रहेको देखिए।
पछिल्लो तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणमा उल्लेखित औसत व्यापारिक आम्दानी वा प्रत्यक्ष खर्चको कम्तीमा ३० प्रतिशतभन्दा बढी सम्बद्ध व्यक्तिसँगको कारोबार (सरकारी निकाय बाहेक) रहेको देखिए।
पछिल्लो लेखापरीक्षण भएको आर्थिक वर्षको वित्तीय विवरणमा कुल नाफा अनुपात त्यस अघिको दुई आर्थिक वर्षको औसतको तुलनामा ३० प्रतिशतभन्दा बढी फरक परेको देखिए।
पछिल्लो लेखापरीक्षण भएको आर्थिक वर्षको वित्तीय विवरणमा ब्याज वित्तीय खर्चको रकम त्यस अघिको दुई आर्थिक वर्षको ब्याज खर्च, ब्याजदर र ऋण रकमको तुलनामा उल्लेख्य रूपमा फरक रहेको देखिए।
लगानी कम्पनी:
पछिल्लो तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणमा औसत प्रत्यक्ष आम्दानी वा प्रत्यक्ष खर्चको कम्तीमा ३० प्रतिशतभन्दा बढी सम्बद्ध व्यक्तिसँगको कारोबार (सरकारी निकाय बाहेक) रहेको देखिए।
पछिल्लो दुई आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणमा उल्लेखित प्रत्यक्ष आम्दानी आफ्नो मूल व्यावसायिक उद्देश्य बमोजिम रहेको नदेखिएको वा नियामकीय व्यवस्थामा उल्लेखित लगानीयोग्य क्षेत्रभन्दा फरक रहेको देखिएमा।
संगठित संस्थाको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार चुक्ता पुँजीको ५० प्रतिशतभन्दा बढी रकम आफ्नो मूल व्यावसायिक उद्देश्यभन्दा फरक प्रयोजनको लागि प्रयोग भएको देखिए।
संगठित संस्थाको पछिल्लो तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणमा आफ्नो लगानी नीतिको लेखाकंन बारम्बार परिवर्तन गरेको देखिएको र सो परिवर्तनसँग सम्बन्धित रकम समायोजन गर्दा सार्वजनिक निष्कासनको लागि पूरा गर्नुपर्ने वित्तीय मापदण्डरू जस्तै नेटवर्थ, खुद नाफा, आदि पूरा नहुने देखिए।