अमेरिका र इरानबीच दुई साता युद्धविराम घोषणा भएको छ।
फेब्रुअरी २८ देखि जारी युद्ध झन्डै ६ हप्तापछि रोकिने ढोका खुलेको छ।
इरानलाई बुधबार बिहानसम्ममा ध्वस्त् बनाउने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्टिमेटम सकिएलगत्तै युद्धविरामका लागि तयार रहेको बताएका थिए।
इरानी पक्षबाट पनि ग्रीन सिग्नल आएपछि दुई साताका लागि युद्धविराम घोषणा भएको हो।
ट्रम्पले स्ट्रेट अफ हर्मुज खुला गर्नुपर्न सर्त राखेका छन्। त्यसमा इरानले आफ्नो भूमिमा आक्रमण नभएको खण्डमा हर्मुज खुला हुने बताएका छन्।
ट्रम्पले इरानमाथि अमेरिकी सैन्य उद्धेश्य पूरा भइसकेकाले पनि युद्धविराममा आफू सहमत भएको बताएका छन्।
'हामीले हाम्रो सबै सैन्य उद्देश्य पूरा गरिसकेका छौं र इरानसँग दीर्घकालीन शान्ति सम्झौतामा धेरै अघि बढिसकेका छौं। इरानबाट आएको १० बुँदे प्रस्ताव वार्ताका लागि व्यवहारिक आधार हो। विगतका अधिकांश विवादित विषयमा सहमति भइसकेको छ, र दुई साताको अवधि अन्तिम सम्झौता टुंग्याउन पर्याप्त हुनेछ,' ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।
ट्रम्पले सहमतिमा नआए इरानको इतिहास नै समाप्त पार्नेगरी आक्रमण गर्ने भनेर दिएको चेतावनीले विश्वलाई सशंकित तुल्याएको थियो। पाकिस्तान, इजिप्ट र टर्कीले अगाडिदेखि नै अमेरिका र इरानबीच युद्धविरामको प्रयत्न गर्दै आइरहेको थियो।
आजको युद्धविरामको मुख्य पहल भने पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले गरेका थिए। ट्रम्पले दिएको अल्टिमेटम सकिन १० मिनेटअगाडि प्रधानमन्त्री शरिफले युद्धविराम भएको घोषणा गरेका थिए।
अमेरिका र इरान दुवैले प्रधानमन्त्री शरिफको भूमिकाको प्रशंसा गरेका छन्।
'पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ र फिल्ड मार्शल असिम मुनिरसँगको वार्तापछि, उनीहरूले आज राति इरानमाथि पठाइँदै गरेको विनाशकारी सैन्य कारबाही रोक्न अनुरोध गरेका कारण इरान स्ट्रेट अफ हर्मुज तुरुन्त, पूर्ण र सुरक्षित रूपमा खोल्न सहमत हुन्छ भने म दुई साताका लागि आक्रमण स्थगित गर्न तयार छु। यो दुवै पक्षबाट लागू हुने युद्धविराम हुनेछ,' ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।
इरानी विदेशमन्त्री अब्बास अराग्चीले विज्ञप्ती जारी गरी इरानी जनतालाई बधाई भन्दै प्रधानमन्त्री शरिफलाई धन्यवाद दिएका छन्।
युद्धविराम घोषणापछि दुवै पक्षबीच शुक्रबार थप छलफल हुने तयारी छ। प्रधानमन्त्री शरिफले दुवै पक्षलाई इस्लामावादमा निम्तो गरिएको बताएका छन्। यद्यपि दुवै पक्षबाट वार्तामा बस्ने विषयमा भने कुनै पनि धारणा सार्वजनिक भएको छैन।
युद्धविरामलाई लिएर दुवै पक्षले आ-आफ्नो जित दाबी गरेका छन्।
ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र अमेरिकी सेनाको महत्त्वपूर्ण उपलब्धी भनेका छन्। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले ३८ दिनमै अमेरिकाले आफ्ना प्रमुख सैन्य लक्ष्यहरू हासिल मात्र नभई अपेक्षाभन्दा बढी सफलता पाएको बताएकी छन्।
'हाम्रो सैन्य सफलताले अधिकतम दबाब सिर्जना गर्यो, जसले राष्ट्रपति ट्रम्प र उनको टोलीलाई कडा वार्तामा उत्रन सक्षम बनायो। त्यसैबाट कूटनीतिक समाधान र दीर्घकालीन शान्तिको अवसर खुलेको हो,' लेभिटले वक्तव्यमा उल्लेख गरेकी छन्,' राष्ट्रपति ट्रम्प हर्मुज पुनः खुलाउन पनि सफल हुनुभयो।'
इरानको सर्वोच्च सुरक्षा परिषदले पनि युद्धमा हार भएर पछि हटेको नभई सैन्य उद्धेश्यहरू पूरा भएका कारण युद्धविराम गरिएको बताएको छ।
'युद्धका लगभग सबै लक्ष्य हासिल भइसकेका छन् त्यसैले अब दुई साताको युद्धविराममा सहमति जनाइएको हो। युद्धभूमिमा प्राप्त विजयलाई राजनीतिक वार्तामार्फत सुदृढ पार्न इस्लामावादमा वार्ता गर्ने निर्णय गरिएको छ,' विज्ञप्तीमा भनिएको छ।
युद्धको अर्को मुख्य पक्ष इसराइलले भने अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन।
मध्यस्थता गरेका प्रधानमन्त्री शरिफ र इरानी पक्षले युद्धविराम यसमा संलग्न सबै पक्षबीच भएको घोषणा गरे पनि इसराइलले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
युद्धविराम घोषणा भएपछि पनि उसले लेबननमा हमला गरिरहेको भनेर अमेरिकी समाचार संस्था एशोसिएट प्रेस (एपी)ले जनाएको छ।
कतारी मिडिया अल जजिरासँग कुरा गरेका एक इसराइली अधिकारीले युद्धविरामलाई अकास्मात र अनपेक्षित भनेका छन्। इसराइलको सहमतिबिना थाहै नदिई युद्धविराम गरेको ती अधिकारी बताउँछन्।
उनका अनुसार युद्धको मुख्य पक्ष भए पनि युद्धविराम सम्झौताको सूचना अन्तिम समयमा मात्रै इसराइललाई दिइएको थियो। त्यसकारण इसराइल युद्धविराममा सहमत छ/छैन भन्ने पनि सार्वजनिक भएको छैन।
तर युद्धविराम अस्वीकार गर्न उसलाई कठिन पर्नेछ। ट्रम्पले नै युद्धविराम प्रक्रिया अघि बढाएपछि इसराइललाई त्यसको विरोध गर्न सहज हुने छैन।