चैत १९ देखि देशभर भइरहेको एसइई परीक्षामा यसपालि एउटा कुरा फरक छ।
पहिले पहिले जाँच दिने विद्यार्थी मात्र हरेक दिन परीक्षाको दौडमा सामेल हुन्थे। यसपालि शिक्षकहरूको पनि आफ्नै दौड सुरू भएको छ। उनीहरू विषयगत परीक्षा सकिएको तीन दिनभित्र उत्तरपुस्तिका जाँच्ने दौडमा छन्।
विगतमा सबै परीक्षा सकिएको साता वा महिना दिनपछि मात्र सुरू हुने उत्तरपुस्तिका जाँच्ने काम यस वर्ष परीक्षा सँगसँगै गरिएको हो। यसले हरेक विषयको परीक्षापछि विषयगत शिक्षकलाई उत्तरपुस्तिका जाँच्ने चटारो सुरू भएको छ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले एसइई सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएकाले हरेक विषयको उत्तरपुस्तिका तीन दिनभित्र जाँचेर पठाउनुपर्ने व्यवस्था लागू गरिएको हो।
परीक्षा सुरू हुनुअघि नै सरकारले गरेको यो निर्णय कसरी कार्यान्वयन भइरहेको छ भनेर हामीले दुईवटा विद्यालयका प्रधानाध्यापकसँग कुरा गरेका छौं।
कीर्तिपुर नगरपालिका–९ स्थित कीर्तिपुर माध्यमिक विद्यालयमा १० वटा विद्यालयका २६४ जना विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन्। बिहान ८ देखि ११ बजेसम्म परीक्षा चल्छ। हरेक दिन विषयगत परीक्षा सकिएपछि त्यही दिनबाट उत्तरपुस्तिका जाँच्न थालिएको प्रधानाध्यापक सरला श्रेष्ठ बताउँछिन्।
यसका लागि आसपासको विद्यालयका विषयगत शिक्षकसँग समन्वय गरेर उत्तरपुस्तिका जाँच भइरहेको उनले बताइन्।
'हामी सरकारले भने अनुसार तीन दिनभित्र उत्तरपुस्तिका जाँच्न अन्य विद्यालयका विषयगत शिक्षकसँग सहयोग लिइरहेका छौं,' उनले भनिन्, 'उहाँहरू बिहान, दिउँसो वा बेलुका समय मिलाएर आउनुहुन्छ र दुई–तीन घन्टा कापी जाँचेर फर्किनुहुन्छ।'
एसइईको कापी जाँच्ने अनुमति हरेक शिक्षकलाई हुँदैन। शिक्षक लाइसेन्स पाएका र कम्तिमा दुई वर्षदेखि एसइई तहका विद्यार्थीलाई सम्बन्धित विषय पढाइरहेका शिक्षकले मात्र उक्त विषयको उत्तरपुस्तिका जाँच्न पाउने व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले गरेको छ।
यसरी हरेक विषयको जाँच सकिएलगत्तै कापी जाँच्न थालिएकाले एसइई सुरू भएदेखि विद्यालयहरू बिहान ६ देखि साँझ ७ बजेसम्म खुला राखिएको छ। परीक्षा अवधिभर ६–७ जना प्रहरी खटिएका हुन्छन् भने एक जना प्रहरी चौबीसै घन्टा विद्यालयको सुरक्षामा रहने व्यवस्था गरिएको छ। उत्तरपुस्तिका स्कुल परिसरभित्रै जाँच्नुपर्ने भएकाले पनि चौबीसै घन्टा प्रहरी सुरक्षाको व्यवस्था गरिएको प्रधानाध्यापक श्रेष्ठले बताइन्।
'उत्तरपुस्तिका जाँच्ने शिक्षकलाई सिसिटिभी र प्रहरीको निगरानीमा राखिन्छ,' उनले भनिन्, 'उहाँहरूले जाँच्नुभएको हरेक कापीको विवरण अभिलेखमा राखिन्छ।'
शिक्षकहरूले आफ्नो समय अनुसार स्कुलमा आएर कापी जाँच्ने गरेका छन्। उनीहरूका लागि खाना र नास्ताको व्यवस्था स्कुलले नै गरिरहेको छ।
कापी जाँच्न सकिएपछि जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा पठाइन्छ। अहिलेसम्म नेपाली र अंग्रेजी विषयको कापी जाँचेर पठाइसकिएको छ। गणित विषयमा भने शिक्षक अभावका कारण केही ढिलाइ भइरहेको उनले बताइन्।
'सरकारले दिएको जिम्मेवारीप्रति हामी सकारात्मक छौं। केही चुनौती भए पनि काम गरिरहेका छौं,' उनले भनिन्, 'छिटो नतिजा सार्वजनिक हुँदा विद्यार्थीको समय बचत हुन्छ भन्ने सोचले पनि हामीलाई तीन दिनभित्र कापी जाँच्न प्रेरित गरेको छ।'
तीन दिनभित्र उत्तरपुस्तिका जाँच्ने र एक महिनाभित्र नतिजा निकाल्ने यो योजना सफल भए समग्र शिक्षा प्रणालीमा सकारात्मक प्रभाव पर्ने उनी बताउँछिन्।
उनका अनुसार शिक्षा मन्त्रालयले चैत १८ गते दिउँसो यस्तो निर्णय गरेपछि त्यसै रात सबै स्कुलका शिक्षकलाई जानकारी गराइएको थियो। त्यसपछि परीक्षा सुरू भएकै दिन शिक्षकहरूसँग छलफल गरेर हरेक दिन स्कुल परिसरभित्रै कापी जाँच्ने व्यवस्था मिलाइएको हो।
काठमाडौं महानगरपालिका–३ महाराजगन्जस्थित शिवपुरी माध्यमिक विद्यालयमा पनि कापी जाँच्ने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ। यहाँ ११ वटा विद्यालयका २८३ जना विद्यार्थी परीक्षा दिइरहेका छन्।
यहाँ कक्षा १० का लागि प्रत्येक विषयमा दुई जना शिक्षक रहेकाले कापी जाँच्न बाहिरबाट सहयोग माग्न नपरेको प्रधानाध्यापक प्रकाश सुवेदी बताउँछन्।
'हामी आफ्नै शिक्षकबाट कापी जाँचिरहेका छौं,' उनले भने, 'शिक्षकहरूले आफूले पाएको नयाँ जिम्मेवारीलाई गम्भीर रूपमा लिनुभएको छ र तोकिएको समयभित्रै कापी जाँच्न पूरा मिहिनेत गरिरहनुभएको छ।'
उनका अनुसार हरेक विषयका २८३ वटा कापी जाँच्न दुई जना शिक्षकमा आधा आधा बाँड्ने गरिएको छ।
'एक जनाले करिब १४१–१४२ कापी जाँच्नुहुन्छ,' उनले भने, 'एक जनालाई तीन दिनभित्र यति कापी जाँच्न त्यति गाह्रो कुरा होइन।'
अहिलेसम्म अंग्रेजी र नेपाली विषयको उत्तरपुस्तिका जाँचेर जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा पठाइसकिएको उनले बताए। गणित र विज्ञान विषयको कापी जाँच पनि चाँडै सक्ने तयारी भइरहेको छ।
यहाँ पनि उत्तरपुस्तिका जाँच सिसिटिभी र प्रहरीको निगरानीमा भइरहेको उनले बताए।
'अहिलेसम्म कुनै समस्या आएको छैन। शिक्षकहरू स्कुल परिसरमै बसेर बिहानदेखि साँझसम्म उत्तरपुस्तिका जाँचमा संलग्न हुनुहुन्छ,' प्रधानाध्यापक सुवेदीले भने, 'हरेक विषयको कापी जाँच तोकिएकै समयमा सकिनेमा म विश्वस्तु छु।'
उनका अनुसार यसअघि एउटा उत्तरपुस्तिका जाँचेको ३५ रूपैयाँ पारिश्रमिक दिने व्यवस्था थियो। यस वर्ष पहिलेभन्दा निकै कम समयमा कापी जाँच्नुपरेको भए पनि सेवासुविधाबारे स्पष्ट जानकारी नआएको उनले बताए। तैपनि शिक्षकहरूले आफ्नो कामलाई निरन्तरता दिइरहेको उनको भनाइ छ।
चैत १९ देखि सुरू एसइई परीक्षा चैत २६ गते सकिनेछ भने प्राविधिक विषयको परीक्षा चैत २८ सम्म चल्नेछ।
यस वर्ष देशभर कुल १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएका छन्। प्रत्येक केन्द्रमा अधिकतम १५ जनासम्म प्रहरी परिचालन गरिएको छ।
***