अबदेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ।
नेपाल स्टक एक्सचेन्जको सञ्चालक समितिले चैत २३ गतेबाटै नै लागु हुने गरेर यस्तो निर्णय गरेको छ।
सरकारले शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेपछि सोही अनुसार बजारको कारोबार तालिका मिलाइएको हो।
नेपालमा रहेको एक मात्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) सरकारी लगानीको सेयर बजार हो।
हाल सार्वजनिक बिदा परेको समय बाहेक आइतबारदेखि बिहीबारसम्म पाँच दिन नियमित सेयर कारोबार हुँदै आएको छ।
यद्यपि यसअघि पनि यसरी शनिबार र आइतबार सार्वजनिक बिदा दिइँदा शुक्रबार पनि कारोबारका लागि बजार खुल्ने गरेको थियो।
यसअघि २०७९ जेठदेखि यसरी बिदा दिइएको थियो। तर, सार्वजनिक बिदाको यो निर्णय तत्कालीन शेरबहादुर देउवाको सरकारले एक महिनामै फिर्ता लिएको थियो।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कार्यालय अवधि समेत ९ बजेदेखि सुरू हुने निर्णय गरेको छ।
नेप्सेको कार्यालय समय पनि ९ बजेदेखि ५ बजेसम्म तोकिएको छ।
हाल १० बजेदेखि ५ बजेसम्म र शुक्रबार १० बजेदेखि ३ बजेसम्म हुँदै आएको छ।