आलीदेखि थालीसम्म अर्थात फार्म टु फिंगर।
फार्म टु फिंगरले ग्रामीण किसानका उत्पादन सहरी उपभोक्ताहरूसम्म पुर्याउँछ। यसबाट उपभोक्ता र किसान दुवै लाभान्वित भएका छन्।
फार्म टु फिंगर दीपकरत्न तुलाधर र जागृति श्रेष्ठले सुरू गरेका हुन्।
केही वर्ष बेलायत बसाइपछि २०७२ चैतमा दीपक र जागृति नेपाल फर्के। पढाइको सिलसिलामा उनीहरू 'युनिभर्सिटी अफ वेस्ट लन्डन' पुगेका थिए। उनीहरूको भेट त्यहीँ भएको हो।
दीपकले मानव संसाधन व्यवस्थापन र जागृतिले आर्थिक प्रशासनमा स्नातकोत्तर तहको पढाइ पूरा गरे। बेलायतमा पढ्दा उनीहरूबीच निटक सम्बन्ध बन्यो। नेपाल फर्केर बिहे गरे।
लन्डनमा हुँदा दीपक मार्केटिङमा र जागृति एक अर्गानिक स्टोरमा काम गर्थे। उनीहरू नेपालमा आफ्नै व्यवसाय गर्न चाहन्थे। दुवै जनाको कार्यक्षेत्र समन्वय हुने गरी कृषि उत्पादनसँग सम्बन्धित व्यवसाय गर्ने सोच बनाए। विभिन्न जिल्लाका किसानहरूबाट कच्चा कषि सामग्री, ठाउँविशेषको खाद्यान्न, फलफूल र तरकारी काठमाडौं भित्र्याउने योजना बनाए।
यसैअनुसार २०७३ असारमा सुरू भयो आलीदेखि थालीसम्म अर्थात 'फार्म टु फिंगर'।
जागृति श्रेष्ठ र दीपकरत्न तुलाधर'विभिन्न जिल्ला र भेगका खेतबारीमा पाइने कच्चा खाद्य वस्तु ग्राहकको भान्सासम्म पुर्याउने योजनाअनुसार व्यवसाय सुरू गर्यौं,' दीपकले भने, 'कामको उद्देश्यअनुसार आलीदेखि थालीसम्म नाम रोज्यौं।'
ठूलो बजारमा पुग्ने सोचअनुसार आलीदेखि थालीसम्मलाई अंग्रेजी भाषामा फार्म टु फिंगर भनेको उनले बताए।
दीपकका अनुसार ६० लाख रूपैयाँको प्रारम्भिक लगानीमा फार्म टु फिंगर सुरू भएको हो। हाल कम्पनीले वार्षिक ३५ देखि ४० लाख रूपैयाँको कारोबार गर्दैछ।
फार्म टु फिंगरमा देशको विभिन्न जिल्लाका कृषि उत्पादनहरू किन्न पाइन्छ। जुम्लाको ओखर, सिमी र मार्सी चामल; मुस्ताङको स्याउ, जिरीको किवी, सिन्धुलीको जुनार, कपिलवस्तुको कालानमक चामल, चितवनको मह इत्यादि उपलब्ध छ।
टिमुर, बेसार, अलैंची पनि पाइन्छ। काठमाडौंका स्थानीय उत्पादन पनि पाइन्छ।
संस्थापक सञ्चालक दीपक र जागृति अन्य संस्थामा पनि आबद्ध छन्। फार्म टु फिंगरको व्यावसायिक व्यवस्थापनको जिम्मेवारी युवा कर्मचारीहरू पलिस्था बनिया, रोहन महर्जन, रूही महर्जन र समीन महर्जनको काँधमा छ।
पलिस्था कम्पनीको वित्तीय व्यवस्थापन हेर्छिन्। रोहन समग्र व्यवस्थापनको जिम्मेवारीमा छन्। रूही रचनात्मक प्रमुखका रूपमा सक्रिय छिन्। मार्केटिङको काम समीनको जिम्मामा छ।
'संस्थापकहरूको निर्देशन र सहयोगमा हामी (कर्मचारी) फार्म टु फिंगरको सञ्चालन–व्यवस्थापन गर्दैछौं,' पलिस्था भन्छिन्, 'हालसम्मको प्रतिक्रिया निकै सकारात्मक छ। सहकार्यमा रहेका किसानहरू सन्तुष्ट हुनुहुन्छ। ग्राहकको रूचि बढेको छ।'
बायाँबाट क्रमशः पलिस्था बनिया, रोहन महर्जन, रूही महर्जन र समीन महर्जन।
पलिस्था बनियाबिजनेस एडमिन्स्ट्रेसनमा स्नातकोत्तर तहको पढाइ पूरा गरेकी पलिस्था कुनै कार्यालयमा जागिरे थिइन्। कोभिड–१९ को प्रभावपछि व्यवसाय चलायमान हुन थाल्दा दीपक र जागृतिसँग भेट भयो।
'उहाँहरू (दीपक र जागृति) राम्रो टिमको खोजीमा हुनुहुन्थ्यो। हामी (पलिस्था, रूही, रोहन र समीन) कुनै सिर्जनात्मक काम गर्नुपर्छ भन्ने समान सोचमा थियौं,' पलिस्थाले भनिन्, 'हामीले फार्म टु फिंगरको सञ्चालन जिम्मेवारी पायौं। अहिले यसैमा आबद्ध छौं।'
अहिले फार्म टु फिंगर यिनै चार जनाको टिमले सञ्चालन गर्दैछ। उनीहरूसँगै अन्य १० जना कर्मचारी छन्।
दीपकका अनुसार फार्म टु फिंगर हाल २७ जिल्लाका चार हजारभन्दा बढी किसानहरूसँग जोडिएको छ। अप्रत्यक्ष रूपमै भए पनि ग्रामीण किसानलाई सहरी ग्राहकहरूसँग जोड्ने प्रयास गरेको छ।
कम्पनी स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर बजार विस्तारमा लागेको पलिस्थाको भनाइ छ।
'स्थानीय उत्पादनले उचित बजार पाउन सकेको छैन,' उनी भन्छिन्, 'स्थानीय उत्पादनको बजार मूल्यांकनअनुसार किसानलाई प्रोत्साहित गर्दैछौं।'
कृषकका खेतबारीबाट कषि उत्पादन काठमाडौंसम्म ढुवानी गर्दा अनेक समस्या आइपर्छ। क्षति पनि हुन्छ। अनेक समस्याहरू चिर्दै सक्रिय छ फार्म टु फिंगर।
पलिस्थाका अनुसार सामान्यतया ग्राहकहरूलाई अर्गानिक खाद्य सामग्री निकै महँगो होला भन्ने लाग्छ। उत्पादन लागत र अन्य खर्चको हिसाबमा धेरै महँगो होइन भन्ने कुरा पनि ग्राहकहरूले बुझ्दै गएका छन्। नियमित ग्राहकको संख्या बढ्दो क्रममा छ।
कम्पनीले प्याकेजिङमा विशेष ध्यान दिएको छ। यहाँ लोकल (सामान्य) र प्रिमियम (विशेष) गरी दुई प्रकारको प्याकेजिङ हुन्छ। धेरै जसो प्याकेजिङ लोकल नै हुने भए पनि ग्राहकहरूको रूचि ध्यानमा राखेर प्रिमियम प्याकेजिङ सुरू गरिएको हो।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/bijayamani/products1.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/bijayamani/products2.jpg)
अर्गानिक कृषि उत्पादनको यो व्यवसायले देशका विभिन्न भूभागका किसानहरूसँग आत्मीय सम्बन्ध बनाएको छ। सहरी उपभोक्ताहरूले स्थानीय उत्पादन उपभोग गर्न पाएका छन्। फार्म टु फिंगरले घरायसी उपभोक्ताहरूका अतिरिक्त काठमाडौंमाका व्यावसायिक भान्साहरूमा आफ्नो सामग्री पुर्याउने गरेको छ।
ग्राहकहरूले फार्म टु फिंगरको आधिकारिक फेसबुक, इन्स्टाग्राम वा वेबसाइटबाट सामग्री अर्डर गर्न सक्छन्। सामान्यतया ग्राहकहरूले अर्डरको तीन दिनभित्र सामान पाउँछन्। अलि ठूलो परिमाणमा किन्न चाहनेले अलि बढी कुर्नुपर्ने हुन सक्छ।
फार्म टु फिंगरको सामान दराज नेपाल, ग्यापु स्टोर, हाम्रो बजार, ठूलो डट कम जस्ता अनलाइन डेलिभरी कम्पनीबाट पनि किन्न सकिन्छ।
पलिस्थाका अनुसार हाल बजार प्रवर्द्धनका लागि प्रदर्शनीहरूमा स्टल राख्ने गरिएको छ। भविष्यमा ठूला मार्ट र सुपर मार्केटहरूबाट पनि किन्ने व्यवस्था हुनेछ। फार्म टु फिंगरले काठमाडौं उपत्यका बाहिरका केही ठूला सहरमा पनि सामान पठाउने गरेको छ। हिमाली भेगको खाद्यान्न, फलफूल र तरकारी तराईका सहरहरूमा पठाइन्छ। चाँडै आफ्नै पसल चलाउने योजना पनि छ।
संस्थापक सञ्चालक दीपक फार्म टु फिंगरसँग जोडिएका धेरैजसो किसानको जीवनशैलीमा तुलनात्मक सुधार भएको बताउँछन्। कामप्रति लगानशीलता र स्थिरता बढेको छ।
'विगत ६ वर्षमा किसानहरूको जीवनशैली र काम गर्ने शैली फेरिएको छ। उनीहरूको आर्थिक स्थिति सुधार भएको छ,' उनले भने, 'किसानहरू आधुनिक प्रविधितिर अघि बढ्दैछन्। उत्पादनको गुणस्तर पनि बढेको छ।'
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/bijayamani/product3.jpg)
किसानलाई व्यवसायमा जोड्न सक्दा कृषि उत्पादन गुणस्तरीय हुने उनको अनुभव छ।
पलिस्थाको अनुभव पनि यस्तै छ। फार्म टु फिंगरले झैं व्यवसाय गर्ने कम्पनी अरू पनि छन्। बजारमा प्रतिस्पर्धा छ।
'जुन कम्पनी वा व्यक्तिले किसानहरूसँग राम्रो सम्बन्ध बनाउँछन्, किसानले आफ्नो उब्जनी उनीहरूलाई बिक्री गर्छन्। किसानहरूसँग राम्रो सम्बन्ध बनाउन निकै महत्वपूर्ण छ,' उनले भनिन्।
प्रतिस्पर्धाले उत्पादनको गुणस्तर अभिवृद्धि र किसानको आम्दानीमा सकारात्मक प्रभाव पार्ने गरेको छ। यस अर्थमा प्रतिस्पर्धीहरूलाई सहकर्मी मान्नु उचित हुने पलिस्थाको भनाइ छ।
'बजारमा अर्गानिक खाद्यान्न, तरकारी र फलफूलको माग सिर्जना गर्नु र त्यो पूरा गर्नु हाम्रो व्यवसायको उद्देश्य हो,' उनी भन्छिन्, 'हामी ग्रामीण भेगका उब्जनी बजारमा पुर्याउँछौं। मौलिक उत्पादन ठूलो बजारमा चिनाउँछौं।'
व्यवसायको समग्र लाभ किसानलाई हुने र कृषि पेसाको सम्मान पनि बढ्ने उनको विश्वास छ।