रूपन्देहीको तिलोत्तमा–२, शंकरनगरका ईश्वरी भण्डारी पछिल्ला चार वर्षमा गरेको व्यवसायले निकै उत्साहित छन्। त्यसअघि आफ्नो ऊर्जा अनुत्पादक क्षेत्रमा पो बिताएछु भन्ने पनि ठान्छन्।
ईश्वरी तिलोत्तमामा सयपत्री फूलको खेती गर्छन्। सयपत्री फूलकै र विभिन्न तरकारीको नर्सरी पनि बनाएका छन्। यसबाट उनको आम्दानी बढ्दो छ। हरेक वर्ष खेती विस्तार गर्दैछन्।
उनको फूलखेती र नर्सरीमा आउनुको कथा लामै छ। उनी २०५८ सालमा रोजगारी खोज्दै भारतको कलकत्ता पुगेका थिए। कलकत्तामा १२ वर्ष होटलमा काम गरेपछि आफ्नै देशमा कुनै व्यवसाय गर्ने सोच बनाएर २०७० सालमा फर्किए।
कलकत्तामा रहँदा होटलमा गरेको कामको अनुभवका आधारमा बुटवलमा एउटा मसला उद्योगको मार्केटिङमा लागे।
![ishori-sayapatri-1699598368.jpeg](https://img.setoparty.com/uploads/posts/ishori-sayapatri-1699598368.jpeg?timestamp=1699598370141)
मार्केटिङका सिलसिलामा पसलहरू चाहर्दा उनलाई किराना पसल चलाउने विचार आयो। अर्काको उद्योगमा गर्नुभन्दा आफैं पसल चलाउन सके व्यवसाय दिगो हुने र अह्रनखटनमा चल्न पनि नपर्ने निष्कर्षका साथ किराना पसल सुरू गरे।
पसल सुरू गरेको तेस्रो वर्षमा कोरोना भाइरस संक्रमणको महामारी (कोभिड–१९) फैलियो। महामारीमा लकडाउन भएपछि उनको पसल पनि बन्द भयो। काम बन्द भएपछि फुर्सद भयो।
फुर्सदको त्यही समयमा उनले तरकारी र फलफूल खेतीबारे सोचे। व्यवस्थित तरिकाले तरकारी खेती गर्ने योजनाका २०७७ सालमा तिलोत्तमा नगरपालिका–२, शंकरनगरमा १४ कट्ठा जग्गा भाडामा लिएर तरकारी खेती सुरू गरे।
मलिलो माटो र सिँचाइको राम्रो सुविधा भएको शंकरनगर खेतीको लागि उपयुक्त क्षेत्र मानिन्छ। ईश्वरीले लौका, घिरौंला, सिमी, तितेकरेला, फर्सी काँक्रा, टमाटर, मूलालगायत थरीथरीका तरकारी फलाए।
तरकारी उत्पादन त भयो तर त्यसले जमिनको भाडा र कामदारको ज्यालासमेत उठाउन सकेन। कहिले बिक्री नभएर खेर गयो। उनी तरकारी खेतीबाट पनि निराश भए। काम त गर्नु नै थियो। सयपत्री फूलको खेती गर्ने योजना बनाए। राम्रो बिउ खोजेर फूल रोपे। पहिलो खेपको उत्पादन नै बजारमा खोसाखोस भयो। राम्रै आम्दानी भयो।
उनले भने, ‘पहिलोपटक आठ कट्ठा जग्गामा सयपत्री रोपेको थिएँ, एक वर्षमा ६ लाख रुपैयाँको फूल बेचेँ।’
यो आम्दानीबाट उनी उत्साहित भए। यस वर्ष तिलोत्तमाका तीन ठाउँमा गरी जम्मा दुई बिघा ६ कट्ठा जग्गामा फूलखेती गरेका छन्। यसपालिको तिहारमा मात्रै कम्तीमा १० लाख रुपैयाँको फूल बिक्ने उनको अनुमान छ।
जमिनको वार्षिक भाडा चार लाख रुपैयाँ छ।
‘गएको तिहारमा धेरै उपभोक्ता फूल नपाएर नर्सरीबाट खाली हात फर्किनु पर्यो। अर्को वर्ष त्यसरी खाली हात पठाउँदिनँ भनेको थिएँ,’ उनले भने, ‘थप डेढ बिघा जग्गा भाडामा लिएर साउनमा ३० हजार बोट सयपत्री रोपेँ।’
![ishori-sayapatri1-1699598369.jpeg](https://img.setoparty.com/uploads/posts/ishori-sayapatri1-1699598369.jpeg?timestamp=1699598404904)
उनलाई यस वर्ष आफ्नो नर्सरीमा आउने कोही पनि रित्तै फर्किनु पर्दैन भन्ने विश्वास छ।
भन्छन्, ‘यस वर्ष मेरो नर्सरीमा कम्तीमा १० हजार माला हुने सयपत्री फूल छ।’
ईश्वरीले यसपालिको तिहारका लागि बारीबाटै थुँगा टिपेर लैजानेलाई प्रतिकिलो ६ सय रुपैयाँ र तयारी माला लैजानेलाई प्रतिगोटा १३० रुपैयाँ मूल्य राखेका छन्।
उनका अनुसार एक किलो फूलबाट तिहारमा लगाउने ६ वटा माला तयार हुन्छ। एउटा माला बनाउन ३५ देखि ४५ थुँगा फूल चाहिन्छ। माला उन्नेलाई ज्याला दिनुपर्छ। मालाको मूल्य राख्दा ज्याला पनि जोडेको हुन्छ।
तिहारमा फूलको भाउ ह्वात्तै बढ्छ। उपभोक्ताले एउटै मालाको दुई सय रुपैयाँसम्म तिर्नुपर्छ।
‘उपभोक्ताले महँगोमा माला खरिद गर्नुपर्ने बाध्यता हुन्छ। मेरो फर्मबाट सिधै उपभोक्तालाई बिक्री गर्छु,’ ईश्वरी भन्छन्, ‘सिधै उपभोक्तालाई बेच्दा मलाई र उपभोक्ता दुबैलाई फाइदा हुन्छ। नर्सरीमा आएपछि आफैंले रोजीरोजी टिपेर लैजान पाउनुहुन्छ।’
यसपालिको तिहार लक्षित गरेर उनले हाइब्रिड र कलकत्ते गरी दुई प्रजातिका सयपत्री रोपेका थिए। अहिले दुबै प्रजातिका बोटमा फूल ढकमक्क छ।
कलकत्ते फूल तयार हुन ९० दिन लाग्छ, हाइब्रिड दुई महिनामै तयार हुन्छ। नियमित मलजल र गोडमेल गर्नसके एक सिजनमा एउटै बोटले सय थुँगासम्म फूल दिन्छ।
असोजमा फुल्न सुरू गरेको बोटले पर्याप्त स्याहार पायो भने माघसम्म उत्पादन दिन्छ। यसपालि दसैँको दुर्गापूजाका लागि फूल दिएका बोटले तिहारका लागि पनि दिन्छ। फेरि अर्को एकपटक पनि फुल्छ।
ईश्वरी भन्छन्, ‘हाइब्रिड बोटबाट दसैंको नवदुर्गामा एक खेप फूल टिपियो। अब तिहारमा टिपिन्छ। फेरि मंसिरमा टिपिन्छ।’
उनका अनुसार सयपत्री फूल साउन र भदौबाहेक १० महिना उत्पादन हुन्छ। फूलको माग हुने समय विचार गरेर बिरूवा लगाउनुपर्छ। मुख्य गरी साउन र भदौ नर्सरी बनाउने र बिरूवा रोप्ने समय हो।
मंसिर, माघ र फागुनमा बिहे, ब्रतबन्ध पूजापाठ इत्यादि हुने भएकोले फूलको माग पनि धेरै हुन्छ। माघ फागुनका लागि हाल नर्सरीमा बिरूवा तयार छन्। वैशाखदेखि असारसम्मका लागि फागुनको पहिलो साता बिरूवा रोप्छन्।
ईश्वरी तीन ठाउँमा पालैपालो १० महिना फूल उत्पादन गर्छन्। यस वर्ष फूलबाट २० लाख रुपैयाँ हाराहारी आम्दानी हुने उनको अनुमान छ। परिवारका सदस्यबाहेक फूलखेतीमा मासिक पारिश्रमिक पाउने गरी चार जनाले रोजगारी पाएका छन्। दैनिक ज्यालादारीमा हरेक दिन थप श्रमिक हुन्छन्। ईश्वरीले नेपालमा फूलको व्यवसायको निकै राम्रो सम्भावना देखेका छन्। उनी थप पाँच बिघा जमिनमा फूलखेती गर्ने तयारीमा छन्।
भन्छन्, ‘नेपालमा बाह्रै महिना फूलको माग हुन्छ। पर्याप्त उत्पादन गर्न सके भारतबाट हुने आयात रोक्न सकिन्छ।’
![sayapatri-ishori-1699598369.jpeg](https://img.setoparty.com/uploads/posts/sayapatri-ishori-1699598369.jpeg?timestamp=1699598394082)
उनले यस वर्षको तिहारमा फूल उत्पादक किसानहरू मिलेर फूलको सस्तो बजार चलाउने सोचेका थिए। छलफल सुरू हुन अलिक ढिलो भएकाले यस वर्ष सम्भव भएन।
‘आगामी वर्ष फूलखेती गर्ने किसान मिलेर तिहारका तीन दिन फूलको सस्तो बजार चलाउँछौं,’ उनी भन्छन्, ‘यसो गर्न सके उत्पादक र उपभोक्ता दुबैलाई फाइदा हुन्छ। किसानहरू मिलेर काम गर्ने हो भने भारतबाट हुने आयात स्वतः बन्द हुन्छ।’
ईश्वरी फूल उत्पादक किसान त हुँदै हुन्, सयपत्रीको नर्सरीबाट बिरूवा पनि बेच्छन्। केही तरकारीका बिरूवा उत्पादन गर्ने नर्सरी पनि बनाएका छन्। गत साउनमा साढे दुई लाख रुपैयाँको सयपत्रीका बिरूवा र एक वर्षमा १० लाख रुपैयाँको तरकारीको बिरूवा बेचेको उनले बताए।
अहिले उनको नर्सरीमा सयपत्रीका बिरूवासँगै बन्दा, काउली, ब्रोकाउली, प्याज, खुर्सानी, कुरिलो, भान्टा, टमाटर लगायतका बिरूवा छन्। विभिन्न प्रजातिका सागका बिरूवा पनि छन्।
उनी नर्सरी पनि विस्तार गर्ने योजनामा छन्।
भन्छन्, ‘अहिले बिरूवा उमार्न चार वटा मात्रै टनेल छन्। अर्को वर्ष चार वटा थपेर तरकारी र सयपत्रीका बिरूवा तयार गर्ने योजना छ।’
ईश्वरी फूल र नर्सरीबाट बढ्दो आम्दानीले उत्साहित छन्। बजारको आवश्यकता राम्ररी थाहा पाएर मेहनत गर्ने हो भने आम्दानीका लागि भौंतारिदनु पर्दैन भन्ने उनको विश्वास छ।