नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालालाई छुट्टाछुट्टै भेटेर महाधिवेशनसम्बन्धी कुराकानी गरेका छन्।
फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने विषयमा मतभेद देखिएपछि महामन्त्री थापा र शर्माले कार्यवाहक सभापति खड्का र १४ औं महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालासँग कुराकानी गरेका हुन्।
पार्टीभित्रको सत्तापक्ष र प्रतिपक्ष मान्ने हो भने सो आधारमा सत्तापक्षमा रहेका कार्यवाहक सभापति खड्का र प्रतिपक्षमा रहेका नेता कोइरालासँग भेटेर उनीहरूका धारणा सुन्नु पनि उपयुक्त हुने महामन्त्रीद्वयबीच समझदारी थियो।
महाधिवेशन कार्यतालिका र क्रियाशील सदस्यता नवीकरण अद्यावधिक विवरण सुनाउन समय मागे पनि कार्यवाहक सभापति खड्काले एक दुई दिन अझै पर्खिन जबाफ दिएपछि थापा बिहीबार केन्द्रीय समितिमै गएका थिएनन्।
उक्त परिस्थितिपछि महामन्त्री थापा केन्द्रीय समितिमै गएनन्। अर्का महामन्त्री शर्माले बिहीबार बेलुकीदेखि नै समस्या समाधान गर्न नेताहरूसँग संवाद थालनी गरेका थिए। यो परिस्थितिमा कार्यवाहक सभापति खड्का र कोइरालासँग बेग्लाबेग्लै रूपमा भेटेरै छलफल गर्न शर्माले थापालाई सुझाव दिएका थिए भने भेटवार्ताको वातावरण आफूले बनाउने भनेका थिए।
त्यसअनुसार बिहीबार बेलुकी नै दुवै नेतासँग संवाद भयो। शुक्रबार बिहान बिहान ९ बजे शेखर कोइरालालाई भेट्ने र त्यसपछि कार्यवाहक सभापति खड्कालाई भेट्ने कार्यक्रम तय भएको थियो। महामन्त्री शर्माको आग्रहमा कोइरालाले आफूनिकट पदाधिकारीलाई छलफमा बोलाएका थिए। त्यसमा महामन्त्री शर्मा पनि मिसिए।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशन कार्यतालिका ल्याउने विषयमा नेता कोइरालाले आफूनिकट पदाधिकारीहरूसँग कुराकानी गरेको जानकारी दिए।
कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आयोजित छलफलमा उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्रीप्रसाद पाण्डे सहभागी थिए।
यीमध्ये विश्वप्रकाशबाहेक सबै २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४ औं महाधिवेशनमा एकै प्यानलमा थिए। त्यो बेला शर्मा भने प्रकाशमान सिंह समूहबाट महामन्त्री उठेर जितेका थिए। अहिले महामन्त्रीद्वय थापा र शर्मा सँगसँगै छन्। दुवैले छिटो नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गरेर भए पनि जेनजी पुस्ताको भावनाअनुसार पार्टी नीति र नेतृत्व परिवर्तन गरेर जानुपर्ने बताइरहेका छन्।
सभापति शेरबहादुर देउवानिकट पदाधिकारी र पूर्वपदाधिकारीले निरन्तर रूपमा समूह भेला गरेर रणनीति बनाए पनि संस्थापनइतरको बैठक बसेको थिएन। शुक्रबार संस्थापनइतर नेताहरूबीच छलफल भयो र यसले लामो समयदेखिको संवादहिनताको अन्त्य गरेको नेताहरूले बताएका छन्।
कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले केही कुरा राखे।
‘संस्थापन पक्षले भेला गरिराख्दा तपाईं संस्थापनइतरको नेता, किन आफ्नो समूहमा कुराकानी गर्नु भएन? तपाईंले मंसिरभित्रै महाधिवेशन भन्दै गर्दा तपाईंनिकट केन्द्रीय सदस्यहरू त्यहीअनुसार किन केन्द्रीय समितिमा बोलिरहेका छैनन्? यस विषयमा तपाईंको धारणा के हो?’ महामन्त्री शर्माले नेता कोइरालालाई भनेका कुरा उद्धृत गर्दै सहभागी एक नेताले भने।
यस कुरामा कोइरालाले खासै जबाफ दिएनन्।
त्यसपछि अर्का महामन्त्री गगन थापा बोले। उनले मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने भन्दै सबैले त्यसका लागि वातावरण बनाउनुपर्ने बताएका थिए।
‘मंसिरमा महाधिवेशन हुन्छ, यदि मंसिरमा केही गरी भएन भने विशेष महाधिवेशन हुन्छ। विशेष अधिवेशनले नीति मात्र होइन नेता पनि छान्छ, यो कुरा त तपाईंले पनि प्रष्ट रूपमा भन्नुपर्ने!,’ थापाले भनेका थिए।
४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाले विशेष महाधिवेशन माग गर्दै २९ असोजमा कार्यवाहक सभापतिलाई हस्ताक्षर बुझाएको अवस्था रहेकोले नियमित नगरे विशेष महाधिवेशन बाध्यकारी रहेको थापाको भनाइ थियो।
विधानको व्यवस्था र बहुमत महाधिवेशन प्रतिनिधिको चाहना पार्टीले सम्बोधन गरेर जानुपर्ने उनले बताएका थिए।
साथै महामन्त्री विश्वप्रकाश शर्माले मंसिरमा नियमित महाधिवेशन गर्न समय पुग्दैन भन्ने लाग्छ भने पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने आफ्नो प्रस्ताव सुनाएका थिए। उनले यो प्रस्ताव बिहीबार बिहान कार्यवाहक सभापति खड्कालाई पनि प्रस्ताव गरेका थिए। 
‘मंसिरमा महाधिवेशन नगर्ने र पछि जाने हो भने पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्दा उपयुक्त हुन्छ भनेर कार्यवाहक सभापतिजीसँग पनि मैले कुरा राखेको छु,’ शर्माले भनेका थिए, ‘त्यसअनुसार अघि बढौं।’
साथै शर्माले यस विषयमा नेता कोइरालाको धारणा मागेका थिए। 
‘अन्य मितिभन्दा पुस १६ देखि नियमित महाधिवेशन गर्ने मिति उपयुक्त हुन सक्छ, मलाई पनि सम्पर्क गर्ने साथीहरूले विश्वप्रकाशजीले राखेको प्रस्तावअनुसार पुस १६ देखि १९ गतेसम्म महाधिवेशन उपयुक्त हुन्छ भनेका छन्, मलाई पनि यही ठिक लागेको छ,’ कोइरालाले भनेका थिए।
यसपछि महामन्त्रीद्वय कार्यवाहक सभापति पूर्णबहादुर खड्का भेट्न पुगेका थिए।
कार्यवाहक सभापतिसँग महामन्त्रीद्वयले महाधिवेशन कार्यतालिका ल्याएर महाधिवेशनको माहोल बनाउन आग्रह गरेका थिए।
‘सभापतिजीले विधानले तोकेको समयमा अधिवेशन गर भनेर तपाईंलाई कार्यवाहक दिनुभएको हो। विधानले तोकेको समय भनेको यो कार्यसमितिको म्याद नथप्ने भनेको हो त्यो भनेको मंसिर मसान्त हो,’ महामन्त्री शर्माले कार्यवाहक सभापति खड्कालाई भनेका थिए, ‘कतिपय साथीहरूले चुनावपछि महाधिवेशन भनिराख्नुभएको छ, तपाईंको चाहिँ के छ यस विषयमा दृष्टिकोण? मंसिरमा महाधिवेशन गर्न गाह्रो हुन्छ भन्ने लागेको भए विकल्प के हो?’
यसबीचमा महामन्त्री थापा बोले।
‘आज केन्द्रीय कार्यसमितिमा महाधिवेशन कार्यतालिका पेस गर्न नदिने हो भने म केन्द्रीय समिति बैठकमै जान्न,’ थापाले भनेका थिए।
कार्यवाहक सभापति खड्काले आफू नियमित महाधिवेशन गर्न सकारात्मक रहेको तर सबैसँग छलफल गरी निर्णय लिनुपर्ने भएकोले समय लाग्ने बताएका थिए।
‘म त समयमै नियमित महाधिवेशनका पक्षमा छु, तर कतिपय साथीहरू मानिराख्नुभएको छैन। पुस १६ देखि १९ सम्म महाधिवेशन गर्नेबारे म एकपटक सबै साथीहरूसँग परामर्श पनि गर्छु,’ कार्यवाहक सभापतिले महामन्त्रीहरूसँग भनेका थिए, ‘केही दिन समय लाग्ने भयो।’
कार्यवाहक सभापतिले समय खोजेपछि केन्द्रीय समिति बैठक केही दिन स्थगित गरेर अनौपचारिक कुराकानी गरेर भए पनि महाधिवेशन कार्यतालिकामा सहमति खोज्ने तयारीसहित कार्यवाहक र महामन्त्रीहरू छलफलबाट उठेका थिए।
त्यसबेला सानेपामा केन्द्रीय सदस्यहरू भेला भइसकेका थिए। दिउँसो १ बजेका लागि बोलाइएको बैठक डेढ घन्टा बितिसक्दा पनि सुरू नभएपछि आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो। 
विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूले पनि आइतबार भेला बोलाएका छन्।
नेता गुरूराज घिमिरेका अनुसार केन्द्रीय समितिले नियमित महाधिवेशन कार्यतालिका नल्याएका खण्डमा विशेष महाधिवेशन प्रक्रिया सुरू गर्न दबाब दिन भेला आयोजना गरिएको हो।
चुनावअघि महाधिवेशन गर्ने वा नगर्ने विवादले कांग्रेस केन्द्रीय समिति बैठक पटक पटक स्थगित हुँदै आएको छ। असोज २८ गते केन्द्रीय समितिमा उपस्थित भएर सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहक दिएका थिए।
त्यसपछि सभापति देउवा केन्द्रीय समितिमा आएनन्। उनी थप उपचारका लागि भन्दै सिंगापुर गएका छन्। कतिपयले सभापति देउवा नै चुनावअघि महाधिवेशनको पक्षमा नरहेकोले उनीनिकट नेताहरू त्यसअनुसार धारणा दिइरहेको दाबी गर्छन्।
तर प्रवक्ता प्रकाशशरण महत क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणलगायत काम बाँकी रहेको, मंसिरभित्र त्यो काम पूरा हुन सक्ने अवस्था नरहेकोले अब पार्टी सम्पूर्ण रूपमा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा होमिनुपर्ने भएकोले वैशाखमा नियमित महाधिवेशन गरे हुने बताउँछन्।
संस्थापनइतर नेताहरू भने यही नेतृत्वमा फागुन २१ को चुनावमा जान नसकिने र चुनावअघि महाधिवेशन नगरे विशेष महाधिवेशन गर्ने चेतावनी दिइरहेका छन्।