राजु थापा ५१ वर्षका भए। दाङ, तुलसीपुर उपमहानगरपालिका – ४ खाद्रे वनहरीका स्थायी बासिन्दा उनको दैनिकी निकै व्यस्त छ।
उनी हरेक दिन बिहान शारीरिक व्यायाम गर्छन्। अरूलाई व्यायाम गराउँछन्। रेस्टुरेन्ट चलाउँछन्। अनि तरकारी खेतीको काममा लाग्छन्।
राजु राष्ट्रिय खेलकुद परिषद (राखेप) का दाङ जिल्ला बक्सिङका सहायक प्रशिक्षक हुन्। उनको प्रशिक्षण पाएका खेलाडीहरू ४औं राष्ट्रिय प्रतियोगितादेखि ९औंसम्म लगातार प्रदेशमै प्रथम भए। अहिले उनी १०औं प्रतियोगितामा भिडाउन खेलाडी तयार पार्दैछन्।
दाङ, तुलसीपुर बजारमा उनी १८ वर्गदेखि 'सुराया रेस्टुरेन्ट' चलाइरहेका छन्। विगत ८ वर्षयता दुई ठाउँमा गरी ११ बिघा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्।
हरेक बिहान उनी तुलसीपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा बक्सिङ प्रशिक्षणपछि तुलसीपुर–१८ बिजौरीस्थित रंगशालाको जिल्ला खेलकुद विकास समितिको कार्यालय पुग्छन्। त्यसपछि आफ्नो तरकारी फर्ममा व्यस्त रहन्छन्। दिउँसो भोक लाग्दा आफ्नै रेस्टुरेन्टमा खाजा खान पुग्छन्।
उनी सबभन्दा धेरै रमाउने भने खेतीमै हो।
'म जब खेतीमा पुग्छु, दुनियाँ बिर्सिन्छु,' उनले भने, 'हराभरा बोट र तिनमा लागेका फलले सारा दुःख बिर्साउँछन्।'
उनका अनुसार खेतीमा महिनावारी तलबमा काम गर्ने १० जना छन्। ज्यालादारीमा दैनिक ३५ देखि ४० जनाले काम गर्छन्। रेस्टुरेन्टमा १० जना छन्।
यसरी व्यवसायमा जम्दै गएका राजु पूर्वसेना हुन्।
कक्षा दस उत्तीर्ण गरेपछि, २०५१ सालमा उनी नेपाली सेना प्रवेश गरे। तर सिपाहीको जागिर तीन वर्षमै छाडे र २०५६ सालमा दुबई गए। दुई वर्ष दुबई बसेर फर्किए।
त्यो बेला तुलसीपुरमा एक जनाले 'सैनिक रेस्टुरेन्ट' चलाइरहेका थिए। राजुले दुबईबाट फर्केर त्यो रेस्टुरेन्ट किनेर 'सुराया रेस्टुरेन्ट' बनाए। रेस्टुरेन्ट राम्रो चल्यो।
राजुले बीचमा लुगा पसल पनि खोलेका थिए। केही वर्षमै बेचिदिए।

कोरोना महामारीको फुर्सदमा उनले व्यावसायिक रूपमा तरकारी खेती गर्ने सोचे। उनीसहित पाँच जना मिलेर पहिलो लकडाउनकै बीच तुलसीपुर–१२ ग्वारखोला किनारमा जग्गा भाडा लिए। त्रिशिद्धेश्वरी बहुउद्देश्यीय कृषि फर्म दर्ता गरी खेती थाले।
उनीहरूमध्ये एक जनालाई मात्रै कृषि सम्बन्धी ज्ञान थियो। सबैले जसोतसो मिलेर केही वर्ष काम गरे। सोचे अनुरूप सफलता मिलेन। क्रमशः साझेदार बाहिरिए।
'म भने विचलित भइनँ। पछिल्ला चार वर्षदेखि एक्लै फर्म सम्हालिरहेको छु,' उनले भने।
हाल उनी तुलसीपुर–१२ मा ७ बिघा र तुलसीपुर–१६ मा करिब ४ बिघामा खेती गरिरहेका छन्। जग्गा भाडा वार्षिक प्रतिकट्ठा २५ हजार रूपैयाँ छ।
राजु वर्षमा दुई सिजनमा विभिन्न तरकारी उत्पादन गर्छन्। साउनदेखि असोजसम्म खासै काम हुँदैन। त्यो समय दैनिक २० जना जतिले पूर्वतयारीका काम गर्छन्। काटछाँट, जग्गा तयारी, बेर्ना उत्पादन लगायत अन्य काम हुन्छ।
मल, बिउबिजन, ज्याला, सिँचाइ खर्च समेत गरी एक सिजनको तरकारी उत्पादनमा झन्डै ४० देखि ५० लाख रूपैयाँ खर्च लाग्ने राजु बताउँछन्। फाइदा परिस्थितिमा निर्भर हुन्छ।
'मौसमले साथ दिएन, अति वर्षा भयो वा सिजनमा हावाहुरी वा असिना आयो भने उत्पादन स्वाहा हुन सक्छ। सबै राम्रो भए दोब्बर फाइदा पनि हुन्छ,' उनले भने।
गत असोजमा नियमित भारी वर्षाका कारण एकै सिजनमा झन्डै २० लाख रूपैयाँ बराबरको क्षति बेहोर्नुपरेको थियो।
'सिजन र अवस्थामा फाइदा निर्भर हुँदो रहेछ,' उनले भने, '४०–५० लाख खर्च गरेर एकै सिजनमा अरू त्यति नै बचत गर्न पनि सकिँदो रहेछ। धान वा मकै जस्ता अन्नबालीभन्दा तरकारी खेती गरे राम्रो फाइदा हुने रहेछ।'
त्यसैले एक सिजनमा घाटा हुँदा आत्तिने वा बिचलित भएर भाग्न नहुने, बरू धैर्य गर्नुपर्ने राजु ठान्छन्।

'अहिले सबै खर्च कटाएर मासिक डेढ लाख रूपैयाँसम्म बचत हुन्छ,' उनले भने, 'एक वर्ष पहिले ६० लाख रूपैयाँमा नयाँ गाडी किनेको थिएँ। आधाउधी पैसा तरकारी खेतीबाटै आएको हो।'
राजुले पछिल्लो समय तुलसीपुर – ६ को बजार क्षेत्र, बरूवा गाउँमा घर बनाएका छन्।
उनले थपे, 'तर योभन्दा ठूलो सन्तुष्टि यति धेरै मानिसलाई रोजगारी दिन सकेँ भन्नेमा छ।'
तरकारी खेतीमा लाग्दा सुरूमा उनलाई घरपरिवारकै सदस्यले किन यस्तो काम गर्ने भन्थे। उन्नति हुँदैन पनि भनेका थिए।
'जब तरकारीबाट पैसा आउन थाल्यो, बल्ल सबै छक्क परे। राम्रो काम गरेछौ भनेर खुसी भए,' उनले भने।
पछिल्लो समय परिवारका सबैले काममा सघाउन थालेका छन्।
राजुको तरकारी फर्म खुलेदेखि नै जुना चौधरी यहाँ काम गरिरहेकी छन्। उनका अनुसार घरको आर्थिक अवस्था कमजोर भएकाले थप पढ्न पाएकी थिइनन्। तर घर नजिकै यो फर्ममा काम गरेर भएको आम्दानीले पढाइका साथै जीवनयापनमा सजिलो भएको बताइन्।
कक्षा १२ को परीक्षा दिएर बसेकी उनले भनिन्, 'नजिकै भएकाले घरको काम गरेर पनि कमाउन सकिएको छ। कामको खोजीमा बाहिर जानुपरेको छैन।'
कृषि प्राविधिक समेत रहेका बाँके राप्ती सोनारी गाउँपालिकाका रामसिंह चौधरी फर्मका म्यानेजर हुन्। तीन वर्षदेखि उनको परिवारै यहीँ काम गरिरहेको छ। फर्ममा दैनिक ज्यालादारीमा ३० देखि ३५ जनाले र नियमित तलबमा थप १० जनाले काम गरिरहेको उनले बताए।
जुना चौधरी
रामसिंह चौधरी
'यस्ता फर्मले हामीजस्ता युवालाई सजिलो भएको छ, बाहिर जानुपरेको छैन,' उनले भने, 'बाहिर जति दुःख हुन्छ, त्योभन्दा यहाँ काम गर्न सहज छ।'
यतिखेर राजु काँक्रा, बोडी, लौका, इस्कुस, भेडे खुर्सानी बेचिरहेका छन्। उनले ६ बिघामा टमाटर मात्रै खेती गरेका छन्। व्यवसायीहरू फर्ममै तरकारी लिन आउँछन्। राजु आफ्नो रेस्टुरेन्टमा पनि यहीँको तरकारी प्रयोग गर्छन्।
राजुका दुवै ठाउँको खेतीमा सिँचाइ राम्रो छ। उनले घोराहीस्थित कृषि ज्ञान केन्द्रबाट तीन पटक डेढदेखि दुई लाख रूपैयाँसम्म अनुदान पनि पाएका छन्।
किसानको सबभन्दा ठूलो समस्या रासायनिक मल सहज उपलब्ध नहुनु हो भन्ने उनलाई लाग्छ। मल पाउनकै लागि सात वटा जति सहकारीमा जोडिएको तैपनि भने अनुसार नपाएको उनको गुनासो छ। प्रांगारिक मल भने किनेर हालिरहेको उनले बताए।
तरकारी व्यवसायमा चुनौती बिचौलियाको पनि हो। बिचौलियाका कारण सहज भए पनि किसानभन्दा बढी फाइदा उनीहरूले लैजाने प्रवृत्ति अन्त्य हुनुपर्ने उनी बताउँछन्।
'यो समस्या समाधान गर्न राज्यले नै न्यूनतम मूल्य तोक्नुपर्छ,' उनले भने।
राजु भविष्यमा कृषि कर्म विस्तार गर्ने योजनामा छन्। कुखुरा, हाँस, खसीबाख्रा पाल्ने योजना छ। फर्ममै रेस्टुरेन्ट खोल्ने सोच पनि बनाएका छन्।
'अब बाँकी जीवन कृषिमै लाग्ने हो,' उनले भने।