बुटवल उपमहानगरपालिकाले फुटपाथमा सञ्चालन गरिएका पसल हटाउने नाममा विभिन्न सटरमा झुन्ड्याएर राखिएका सामान थुतेर मिल्काउने र जफत गर्ने कार्यको तीव्र विरोध भइरहेको छ।
उपमहानगरले सर्वसाधारणलाई आवतजावतमा अवरोध भएको भन्दै सर्भिस लेन र फुटपाथमा सञ्चालन गरिएका पसल डोजर लगाएर हटाउने अभियान सुरू गरेको छ। त्यसै क्रममा पसलका सटरभित्र झुन्ड्याइएका सामान पनि नगर प्रहरीहरूले थुतेर मिल्काउनुका साथै जफत गरेका हुन्। खासगरी फेन्सी स्टोरका सटरमा झुन्ड्याइएका लुगाफाटा नगर प्रहरीले मिल्काएका भिडिओ सामाजिक सञ्जालमा भाइरल छन्।
स्थानीय व्यवसायीहरूले पनि उपमहानगरको यो रवैयाको विरोध गरेका छन्।
कुनै पनि कानुनले सटरभित्र राखिएका सामान जफत गर्ने अधिकार उपमहानगरलाई नदिएको भन्दै व्यवसायीहरूले गैरकानुनी कार्य तत्काल बन्द गर्न माग गरेका छन्।
राम मन्दिर लाइनमा प्लास्टिकका सामानको पसल चलाउँदै आएका केशव भण्डारीले फुटपाथ खाली गराउने नाममा उपमहानगरपालिकाले पेटीमा राखेका सामग्री जफत गरेको बताए।
'फुटपाथमा सामान राखेका थिएनौं। मेरो पसल सडकबाट तीन-चार पेटीमाथि भएकाले केही सामान त्यहाँ थिए,' उनले भने, 'बिक्रीका लागि बाग्लुङ लैजान प्याक गरिएका सामान पनि राखिएका थिए। ती सबै सामान नगर प्रहरीले उठाएर लगे, हामी हेरेर बस्यौं।'
राम मन्दिर लाइनमा झोला पसल चलाउँदै आएका विजय रायमाझीले पनि सटरमा झुन्ड्याइएका झोला उठाइरहेका नगर प्रहरीलाई रोक्न खोज्दा आफ्नो हातको औंला भाँच्चिएको बताए। नगर प्रहरी र रायमाझीबीच छिनाझपटी भएको भिडिओ पनि सार्वजनिक भएको छ।
बुटवल उपमहानगरले मुख्य सडक तथा भित्री बजारहरूमा फुटपाथ कब्जा गरी व्यापार गरिएको भन्दै सार्वजनिक सूचना जारी गरेर वैशाख २ बाट फुटपाथ खाली गराउने अभियान सुरू गरेको हो।
फुटपाथमा राखिएका सामान हटाउन एक साताको म्याद दिँदा पनि व्यापारीहरूले अटेर गरेको भन्दै डोजर लिएर खाली गराउन थालिएको थियो।
यसअघि पटक पटक सूचना जारी गर्दा पनि फुटपाथ खाली नभएपछि उपमहानगरपालिकाले व्यावसायिक संघ-संस्थाहरूसँग सामूहिक बैठक बसेर फुटपाथ हटाउने सहमति गरेको थियो।
त्यसै अनुसार वैशाख २ गते सर्वसाधारणको सबभन्दा बढी आवतजावत हुने अस्पताल लाइन र भुड्की चोकमा डोजर लगाएर फुटपाथ खाली गराइएको थियो। त्यसै दिन मिलन चोक क्षेत्रमा सञ्चालन गरिएका रिकन्डिसन शोरूमहरूले फुटपाथ र सर्भिस लेनमै पार्किङ गरेर राखिएका मोटरसाइकल र स्कुटर हटाएर फुटपाथ खाली गरिएको थियो।
यसरी पहिलो दिन अस्पताल लाइन, भुड्कीचोक र मिलन चोक क्षेत्रको फुटपाथ खाली गराउँदा प्रशंसा पाएको उपमहानगरपालिकाले दोस्रो दिन अमर पथ, बिपी चोक र राम मन्दिर क्षेत्रमा भने व्यापारीमाथि ज्यादती गरेको भन्दै आलोचना सुरू भएको हो। यी ठाउँमा नगर प्रहरीले व्यापारीमाथि बल प्रयोग गरेका र सामान जफत गरेका थुप्रै भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छन्।

पहिलो दिनको काममा समर्थन जनाएका व्यावसायिक संघ-संस्थाहरूले पनि त्यसपछि व्यवसायीहरूमाथि गरिएको ज्यादतीको विरोध गरेका छन्।
रूपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही उद्योग संघ र उद्योग व्यापार संघले संयुक्त विज्ञप्ति जारी गर्दै फुटपाथ खाली गराउने नाममा उपमहानगरले सटरभित्र राखिएका सामान अभिलेख नराखी उठाएर लगेको आरोप लगाएका छन्।
रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले जफत गरिएका सामान फिर्ता गरी मुख्य बजार क्षेत्रको फुटपाथ व्यवस्थापनका लागि स्पष्ट मापदण्ड बनाउन उपमहानगरसँग आग्रह गरे।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले फुटपाथ खाली गराउनु सकारात्मक भएकाले त्यसमा आफूहरूको साथ र समर्थन रहे पनि व्यवसायीहरूमाथि गरिएको धरपकड र ज्यादती खेदजनक भएको बताए।
व्यापारीहरूले मुख्य सडकको ८२ फुटभित्र र फुटपाथमा कुनै पनि संरचना निर्माण गर्न र पसल सञ्चालन गर्न नपाइने भए पनि बजारका भित्री सडकमा स्पष्ट मापदण्ड नभएको र त्यसबारे उपमहानगरले पनि आफूहरूलाई जानकारी नगराएको बताएका छन्।
हामीले यसबारे बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेलाई कुन ऐन वा कानुन अनुसार यसरी सामान जफत गरेको भनेर सोधेका थियौं।
उनले फुटपाथ व्यवस्थापनका लागि बुटवलले छुट्टै ऐन वा कानुन नबनाएको र सार्वजनिक सडक ऐन २०३१ अनुसार नै फुटपाथ व्यवस्थापनको अभियान सञ्चालन गरेको बताए।

'सडक विभागले मुख्य सडकको ८२ फुटभित्रका संरचना तथा पसल हटाएर सडक खाली गराएको भए हामीलाई हटाउनैपर्ने थिएन,' उनले भने, 'मुख्य सडक भए पनि नगरभित्र सडकका फुटपाथ र सर्भिस लेन समेत व्यवसायीहरूले कब्जा गर्न थालेपछि हामीले हटाएका हौं।'
उक्त ऐनको दफा १८ मा सार्वजनिक सडकको आवागमनमा बाधा पुर्याउने मालवस्तु हटाउने अधिकार सडक विभाग, सम्बन्धित प्रदेश सरकार, गाउँपालिका वा नगरपालिकालाई दिइएको छ।
उक्त ऐनमा सार्वजनिक सडकको दायाँबायाँ रहेको कुनै घर वा पर्खालमा सडकपट्टि निस्कने गरी बनाइएको कुनै वस्तु, ढोका वा रूखको हाँगा, लहरा वा तारले सडकमा हुने आवागमनमा अवरोध हुन गएको छ भन्ने ठहर गरे त्यस्तो अवरोध हटाउन सडक विभाग, सम्बन्धित प्रदेश सरकार, गाउँपालिका वा नगरपालिकाले आदेश जारी गर्न सक्ने उल्लेख छ।
मुख्य बजार क्षेत्रमा सटरमाथि तीन-चार फिट बाहिर आउने गरी अस्थायी पाली टाँगेर झुन्ड्याइएका र पैदल यात्री हिँड्ने पेटीमा समेत राखिएका सामान हटाइएको नगर प्रमुख पाण्डेले बताए।
'फुटपाथ पसलहरूका कारण बुटवल बजार अस्तव्यस्त बनिरहेको छ। जहाँ पायो त्यहीँ पसल राख्दा पैदलयात्रीहरूलाई हिँड्न समस्या भइरहेको छ। यस्तै लापरबाही भइरहने हो भने झनै अस्तव्यस्त हुने भएकाले हामीले फुटपाथ व्यवस्थापनको अभियान सुरू गरेका हौं,' उनले भने।
नगर प्रमुख पाण्डेले सामान जफत गर्दा कहीँ कहीँ सामान्य तानातान भए पनि व्यवसायीहरूमाथि कुनै ज्यादती र बल प्रयोग नभएको दाबी गरे।
'फुटपाथ व्यवस्थापनमा हामी एक्लै गएका छैनौं। नेपाल प्रहरी र ट्राफिक प्रहरीसँगै व्यावसायिक संघ-संस्थाका प्रतिनिधि र मिडियाकर्मी समेत लिएर गएका छौं,' पाण्डेले भने।
उपमहानगरका प्रवक्ता शिव रानाले पनि नगर प्रहरीले बल प्रयोग गरेर व्यवसायीमाथि कुनै ज्यादती नगरेको दाबी गरे। उनले सटरभित्रका नभई फुटपाथमा राखिएका सामान मात्र उठाएको बताए।
नगर प्रमुख पाण्डेले फुटपाथ खाली गराउने अभियान निरन्तर सञ्चालन हुने भन्दै सडक पेटी र सटर बाहिर झुन्ड्याएका सामान हटाएर पसलभित्र व्यवस्थित रूपमा सामान राखेर व्यापार गर्न व्यवसायीहरूलाई आग्रह गरे।
फुटपाथ हटाउन सुरू गरेको तीन दिनको अभियानबाटै अधिकांश क्षेत्रमा फुटपाथ व्यवस्थित भइसकेको छ। आइतबार पनि गोल पार्कदेखि राजमार्ग चौराहासम्म अनुगमन गर्दा एक-दुई स्थानमा मात्र सामान्य रूपमा फुटपाथ अवरोध भएको भेटिएको थियो। जहिलेसम्म बुटवलका सबै क्षेत्रको सडक र फुटपाथ खाली हुँदैन, हाम्रो अभियान निरन्तर चल्छ,' बुटवलका मेयर पाण्डेले भने।
उपमहानगरले चैत अन्तिम साता तीन दिन माइकिङ गर्दै व्यवसायीहरूलाई स्वैच्छिक रूपमा सडक र फुटपाथ अतिक्रमण गरी राखिएका पसल हटाउन आग्रह गरेको थियो।
