एफवानसफ्ट इन्टरनेसनलले सनत कुमार पौडेललाई कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) का रूपमा नियुक्त गरेको घोषणा गरेको छ।
कम्पनीले २२औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा पौडेललाई सिइओका रूपमा नियुक्त गरेको हो।
उनी सह–संस्थापक तथा निर्देशक सुवास शर्मापछि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्।
शर्माले उक्त भूमिका एक दशकभन्दा बढी समयसम्म सफलतापूर्वक सम्हालेका थिए।
सुवास शर्माले एफवानसफ्ट समूहको दृष्टिकोणलाई व्यवहारमा उतार्दै इसेवा, फोनपे लगायतका डिजिटल वित्तीय समाधानहरूको विकास र विस्तारमा महत्वपूर्ण नेतृत्व गरेका थिए।
यी पहलहरूले नेपालको डिजिटल वित्तीय प्रणालीलाई रूपान्तरण गर्नुका साथै नागरिक, घरपरिवार तथा व्यवसायहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पारेका छन्।
उनी अब निर्देशकको भूमिकामा रहँदै एफवानसफ्ट समूहको रणनीतिक दिशानिर्देशनमा संलग्न रहनेछन्।
हाल फोननेक्स्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत रहेका सनत कुमार पौडेलले नयाँ जिम्मेवारीसँगै दुवै संस्थाको नेतृत्व गर्नेछन्।
एफवानसफ्ट समूहमा आबद्ध हुनुअघि उनले नबिल बैंकमा एक दशकभन्दा बढी समय कार्य गर्दै भुक्तानी प्रविधि व्यवस्थापन तथा डिजिटल रूपान्तरण कार्यक्रमको नेतृत्व गरेका थिए।
उनी दुई दशकभन्दा बढी अनुभव भएका एक अनुभवी सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रका विज्ञ हुन्।
नेपालमा डिजिटल वित्तीय सेवाको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एफवानसफ्टले नगदमा आधारित बजारमा प्रारम्भिक मोबाइल भुक्तानी समाधानहरू सुरू गर्दै आज देशका प्रमुख डिजिटल वालेट, अन्तरसञ्चालनयोग्य भुक्तानी प्रणाली तथा डिजिटल ऋण प्लेटफर्महरूलाई सक्षम बनाउने व्यापक प्रणाली निर्माण गरेको छ।
यसले बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गर्दै नेपाली नागरिकहरूको वित्तीय पहुँचलाई सहज बनाउनुका साथै नगदरहित अर्थतन्त्रतर्फको यात्रालाई तीव्र बनाएको बताइएको छ।