फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिवस कुमारलाई थप चार वर्षका लागि पुनः नियुक्त गरेको घोषणा गरेको छ।
यससँगै संस्थागत नेतृत्वको निरन्तरता अझ सुदृढ भएको कम्पनीले जनाएको छ।
दिवस कुमार सन् २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका छन् र बैंकिङ प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार तथा फिनटेक नेतृत्वमा २० वर्षभन्दा बढी अनुभव राख्छन्।
उनले फोनेपेको प्रारम्भिक टोलीका सदस्यका रूपमा प्रमुख प्रविधि अधिकृत (सिटिओ) को भूमिकाबाट कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए।
सन् २०२१ मा सिइओको जिम्मेवारी सम्हालेपछि उनको नेतृत्वमा फोनेपेले उल्लेखनीय वृद्धि हासिल गरेको छ।
उनको कार्यकालमा फोनेपे प्रारम्भिक भुक्तानी प्रणाली सञ्चालकबाट नेपालको विश्वसनीय डिजिटल भुक्तानी पूर्वाधारमा रूपान्तरण भएको छ।
उनको नेतृत्वमा हासिल गरिएका प्रमुख उपलब्धिहरूः
- देशका सबै बैंक तथा वित्तीय संस्थाहरूलाई एउटै भुक्तानी सञ्जालमा जोड्दै नेपालको पहिलो ओपन लुप क्युआर भुक्तानी प्रणाली सञ्चालन, फोनपे क्युआर, फोनपे डाइरेक्ट, फोनपे बिल्स, फोनट्याग र फोनपे क्रेडिट कार्ड जस्ता सेवामार्फत लाखौँ व्यवसायलाई जोड्नु
- दैनिक २५ लाखभन्दा बढी कारोबार संख्या र १५ अर्ब रूपैयाँभन्दा बढी कारोबार मूल्य हासिल
- भारत र चीनका भुक्तानी सञ्जालसँग एकीकरण तथा फोनपे भर्चुअल क्रेडिट कार्डमार्फत छोटो समयमै ३० हजारभन्दा बढी कार्ड जारी
- देशका सबै ७७ जिल्लामा २० लाखभन्दा बढी क्युआर टर्मिनलसहित मर्चेन्ट सञ्जाल विस्तार
पुनः नियुक्तिपछि प्रतिक्रिया दिँदै सिइओ दिवस कुमारले भने, 'सञ्चालक समितिले ममाथि देखाएको विश्वासप्रति म अत्यन्त आभारी छु। यो नवीकरण केवल व्यक्तिगत उपलब्धि मात्र नभई नेपालमा डिजिटल भुक्तानी यात्रा अझै प्रारम्भिक चरणमै रहेको हाम्रो सामूहिक विश्वासको पुष्टि हो। आगामी दिनमा फोनेपेलाई केवल भुक्तानी सञ्जाल मात्र नभई प्रत्येक नेपालीलाई सेवा दिने पूर्ण वित्तीय प्लेटफर्ममा रूपान्तरण गर्ने लक्ष्य राखेको छु।'
उनले आगामी कार्यकालमा क्षेत्रीय तथा सीमापार भुक्तानी अन्तरसम्बन्ध विस्तार, उत्पादन तथा इकोसिस्टम विकास, र वित्तीय पहुँच कम भएका क्षेत्रमा समावेशीकरण बढाउने तीन प्रमुख रणनीतिमा ध्यान केन्द्रित गर्ने बताएका छन्।
साथै, फोनेपेलाई सार्वजनिक कम्पनी (आइपिओ) मा लैजाने प्रक्रिया पनि उनले अगाडि बढाउनेछन्, जसलाई सन् २०२५ डिसेम्बरमाकम्पनीको साधारणसभाले स्वीकृति दिएको थियो।