तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि केही समय स्थलमार्गबाट उत्तरी छिमेकी चीनसँगको व्यापार नै रोकियो। विशेषतः स्थलमार्गबाट चीनसँगको व्यापार रसुवा र तातोपानी नाकाबाट नै हुने गरेको छ।
तर, यी दुबै नाका सञ्चालनमा आउन नसकेपछि एक महिनाअघि मुस्ताङको कोरला नाकाबाट आयात–निर्यात सुरू गरिएको थियो। भदौ ३० गते कोरला नाकाबाट चीनसँग आयात–निर्यात सुरू गर्दा तातोपानी र रसुवा दुवै नाका अवरुद्ध थिए। अहिले तातोपानी सञ्चालनमा आएको छ। रसुवा पनि तिहारपछि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
एक महिनाको अवधिमा यो नाकाबाट कति भयो चीनसँग व्यापार, के यो नाका चीनसँगको स्थलगत व्यापारका लागि वैकल्पिक बन्न सक्छ त? के छन् समस्या? अहिले कसरी काम भएको छ? लगायतको चासोमा हामीले भन्सार अधिकृत डिल्ली सुवेदी र व्यापारी दिलिप शेर्पासँग कुराकानी गरेका छौं।
सुवेदी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा काम गर्न खटिएका भन्सार अधिकृत हुन्। पोखराबाट अन्तर्राष्ट्रिय उडान तथा आयात–निर्यात नभएको अवस्थामा एक महिनादेखि उनी कोरला नाकामा छन्।
भदौ ३० गते औपचारिक रूपमा कोरला नाका सञ्चालनमा ल्याउँदाको दिन दुई गाडी सामान नेपाल ल्याइएको थियो भने दुई गाडी चीन पठाइएको थियो। सुरुको दिनमै २२ वटा विद्युतीय गाडी जाँचपासको प्रक्रियामा थिए, जसले नाका सञ्चालनप्रति व्यापारीको रुचि र उत्साह देखाएको थियो।
भदौ ३० पछि एक महिनाको अवधिमा कोरला नाकाबाट चीनसँगको व्यापार विस्तारै गतिमा आउँदै गएको छ। एक महिनामा यो नाकाबाट १,२७३ वटा विद्युतीय जीप, कार र भ्यान नेपाल भित्रिएका छन्। केही गाडीका पार्टपुर्जा, मेसिनरी र अन्य सामान पनि रहेका छन्। अन्य सामग्री आयात हुँदा दुई अर्ब ३९ करोडको राजस्व मात्रै उठेको छ।
प्रारम्भिक चरणमै यति ठूलो संख्यामा गाडी आयात हुनुले व्यापारी र भन्सार दुवैका लागि कोरला नाकाको सम्भावना देखाएको छ।
भन्सार अधिकृत डिल्ली सुवेदीका अनुसार, “नाकामा भन्सार प्रक्रिया नियमित रूपमा अघि बढ्दै छ, तर पूर्वाधारका कारण सहजता छैन।”
औसत रूपमा अहिले दैनिक ४० देखि ५० गाडीसम्मको आवागमन भइरहेको छ। कोरला नाका हुँदै चिनियाँ सामान नेपाल आयात गरेका व्यापारी दिलिप शेर्पा नाकाको सुरुवातले ठूलो आशा पलाएको बताउँछन्।
'चीनतर्फका ठूला कम्पनीहरूले पनि कोरलाबाट सामान पठाउने तयारी गरिरहेका छन्। तर सडक अवस्था, मौसम र ढुवानी खर्च अझै ठूलो चुनौती बनेको छ,' उनले भने। मुस्ताङको भौगोलिक कठिनाइका कारण साना गाडीले मात्र यात्रा गर्न सक्ने अवस्था छ।
नाका स्थायी रूपमा सञ्चालन गर्नका लागि आवश्यक भन्सार भवन, गोदाम, तौल उपकरण र सडक विस्तारका काम अझै थालिन बाँकी छन्। नाकाको सम्भावना ठूलो भए पनि पूर्वाधार नभएसम्म दीर्घकालीन रूपमा नियमित व्यापार सम्भव नभएको अधिकारीहरूले बताएका छन्।
कोरलाबाट सुरू भएको यो व्यापारले मुस्ताङमा केही चहलपहल बढाएको छ। एक महिनाको अवधिमा चीनबाट कोरला नाकाबाट १,२७३ वटा विद्युतीय गाडीका साथै ४२० गाडी सामान आयात भएको छ। सात गाडी सामान भने चीनतर्फ गएको छ।
स्थायी पूर्वाधार नभएको अवस्थामा यो नाकामा अहिले सीमित भन्सार प्रतिनिधि मात्रै काम गरेका छन्। दुई जना भन्सार अधिकृत र कार्यालय सहयोगीसहित जम्मा छ जना प्रतिनिधि यो भन्सारमा खटिएका छन्।
'बस्न–खानका लागि स्थायी संरचना नबनेको अवस्थामा हामी नजिकै रहेको एउटा होटेलमा बसेका छौं। बिहान ७ बजेदेखि बेलुका ७/८ बजेसम्म नै भन्सारको काममा व्यस्त भइन्छ,' सुवेदीले भने।
व्यापारी दिलिप शेर्पाले कोरला नाकाबाट सामान आयात–निर्यात गर्ने अवस्था ‘ठिकै ठिकै’ रहेको बताए। मुख्यगरी लत्ताकपडा र काँचो कपडाहरू आयात गर्छन्। रसुवा र तातोपानी नाकाहरू हरेक वर्ष विपत्ति (बाढी–पहिरो)मा पर्ने गरेकाले, यदि कोरला नाका राम्रोसँग स्थापित भए व्यापारमा सहजीकरण हुने उनको भनाइ छ।
अहिले नेपाली व्यापारीहरूलाई सामान हाल्ने (लोड गर्ने) बेलामा उता (चीनतर्फ) जान अन्य मानिसलाई दिइँदैन। यसले गर्दा उनीहरूले लोड गर्न ढिलो गर्दिने र सामान छिटो आइपुग्न नसक्ने समस्या छ।
गाडी चलाएर लैजाने ड्राइभरलाई मात्र जान दिइन्छ। गाडीमा अरू सहयोगी पठाउन पाइँदैन। यसका साथै चीनतर्फको ३० किलोमिटरको स्थानीय क्षेत्रका मान्छेहरू मात्र गाडी चलाउन पाउँछन्।
जाडो महिनामा (दुई–तीन महिनासम्म) चिसो धेरै भएर गाडीको तेल जम्ने समस्या रहने उनले बताए। अहिले पनि गाडी स्टार्ट गर्न समस्या हुने भएको छ।
भन्सारबाट काठमाडौंसम्म सामान पठाउन पनि समस्या भएको शेर्पाको भनाइ छ। कोरलाबाट काठमाडौं सामान पठाउन नै दुई–तीन दिनसम्मको समय लागेको उनले बताए।
तर नेपालतर्फबाट बाटो सहज बनाएमा भने कोरला नाका वैकल्पिक मार्ग हुने उनको भनाइ छ। दशैंको समयमा रसुवा नाका पूर्ण र तातोपानी नाका आंशिक सञ्चालन भएको कारण पनि यो बीचमा धेरै सामान कोरला नाकाबाट आयात–निर्यात भएको भन्सार अधिकारीहरूले बताएका छन्।