यो वर्ष चाँदीको मूल्य करिब चार गुणाले बढेको छ।
२०८१ चैत मसान्तमा प्रतितोला १ हजार ९६० रूपैयाँमा चाँदीको बिक्री मूल्य थियो। २०८२ चैत मसान्तमा आइपुग्दा प्रतितोला ४ हजार ९०० रूपैयाँमा कारोबार भएको छ।
यसरी मूल्य बढ्दा पनि चाँदीको कारोबारमा लगानीकर्ताको आकर्षण अत्यधिक देखिएको छ।
लगानीकर्ताको अत्यधिक मागका कारण यो वर्ष चाँदीको आयात अहिलेसम्मकै उच्च भएको भन्सार तथ्यांकले देखाएको छ।
२०८२ साउनदेखि चैतसम्मको अवधि अर्थात् पछिल्लो नौ महिनामा करिब ३० अर्ब रूपैयाँ बराबरको चाँदी आयात भएको छ।
आयात मूल्यको हिसाबले विगतमा कुनै पनि वर्ष यति धेरै चाँदी आयात भएको छैन। अघिल्लो वर्षको तुलनामा साढे चार गुणा बढी चाँदी आयात भएको छ।
परिमाणात्मक रूपमा पनि नौ महिनाको अवधिमा विगत १० वर्षमा कुनै पनि वर्ष यति धेरै चाँदी आयात भएको छैन।
अघिल्लो आर्थिक वर्षको नौ महिनामा ५ अर्ब ३१ करोड रूपैयाँको ३ करोड ८१ लाख ग्राम मात्रै चाँदी आयात भएको थियो।
तर, चालु वर्षको नौ महिनामा भने २९ अर्ब ९३ करोड रूपैयाँ बराबरको ९ करोड ६६ लाख ग्राम चाँदी आयात भएको छ।
व्यवसायीहरूका अनुसार माघ दोस्रो सातासम्म बजारमा अत्यधिक माग भए पनि चाँदी अभाव थियो।
तर, त्यसपछिका दिनमा ठूलो मात्रामा आयात भएपछि अहिले बजारमा अभाव देखिँदैन। यद्यपि, फागुनको तुलनामा चैतमा चाँदीको आयात र कारोबार दुवै कम रहेको व्यवसायीको भनाइ छ।
व्यवसायीहरूले चाँदीमा व्यवसायिक कारोबारका लागि समेत लगानी बढेको तर्क गरेका छन्।
सुनको कारोबारका लागि बैंकले मात्रै आयात गर्न पाउने तथा तोकिएका व्यवसायीले मात्रै कारोबार गर्ने व्यवस्था गरिएको छ भने आम सर्वसाधारणले लगानीका रूपमा कारोबार गर्न पाउँदैनन्।
तर, चाँदीको हकमा सर्वसाधारण तहमा पनि कारोबार तथा लगानीमा रोक नलगाइएको कारणले चाँदीमा लगानी बढेको व्यवसायीहरूको भनाइ छ।
चाँदीको कारोबारमा कुनै विशेष प्रतिबन्ध लगाइएको छैन।
व्यक्तिहरूले पनि चाँदी किनेर कारोबार गर्ने गरेको व्यवसायीले बताएका छन्।
आयात भने एउटै व्यवसायीले धेरै गर्न नपाउने व्यवस्था छ।
उद्योगहरूले चाँदीका गहना वा सामान बनाएर निर्यात गर्ने सर्तमा महिनाको २० लाख डलरसम्म आयात गर्न पाउने व्यवस्था छ।
सामान्य व्यापारीहरूले महिनामा ५ लाख डलरसम्म चाँदी ल्याउन पाउने प्रावधान छ।
नेपाल राष्ट्र बैंकले गत भदौमा औद्योगिक प्रयोजनका लागि ल्याउन पाउने चाँदीको सीमा बढाएको थियो।
कच्चा पदार्थका रूपमा औद्योगिक प्रयोजनका लागि चाँदी ल्याउन एक पटकमा पाँच लाख डलर बराबरको सटही सुविधा व्यवसायीहरूले पाउने व्यवस्था गरिएको छ।
यसअघि यस्तो सुविधा तीन लाख डलर थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले सुन आयात गर्ने व्यवसायीको संख्या नै बढेको तर्क गर्छन्।
'पछिल्ला महिनाहरूमा सुन आयात गर्ने ट्रेडर्सको संख्या नै बढेको छ। यसै कारणले नौ महिनामै ३० अर्ब बराबरको आयात भएको हो,' उनले भने।
सुनमा लगानी गर्न बढी पुँजी चाहिने र धेरैको क्षमता नपुग्ने भएकाले मानिसहरू चाँदीतर्फ आकर्षित (डाइभर्ट) भएको उनको बुझाइ छ।
चाँदीमा गरिएको लगानी र यसको माग दुवै बढ्दो क्रममा रहेको व्यवसायीहरूको प्रतिक्रिया छ।
व्यवसायीहरूका अनुसार चाँदीको प्रयोग भाँडाकुँडाभन्दा पनि लगानीका उद्देश्यले बढी भइरहेको छ।
पछिल्ला दिनमा चाँदीको ढिक्काको कारोबार बढ्दै गएको उनीहरूको भनाइ छ।
विश्व बजारमा सोलार, आइटी क्षेत्रमा औद्योगिक प्रयोजनका लागि चाँदीको माग उच्च छ। लगानी उपकरणका रूपमा समेत यसको माग छ।
मूल्य थप बढ्ने प्रक्षेपण भइरहँदा नेपालमा समेत यसको माग बढिरहेको हो।
ठूलो मात्रामा चाँदी किन्न आउने खरिदकर्ताहरूले मूल्य बढ्छ भन्ने व्यापक हल्लाका कारण पनि धेरै मानिसहरूले यसलाई लगानीका रूपमा खरिद गर्न थालेको प्रतिक्रिया दिने गरेको व्यवसायीहरूको भनाइ छ।
पछिल्लो डेढ महिनामा भने चाँदीको मूल्य घटेको छ।
फागुन १५ गतेसम्म प्रतितोला ५ हजार ७ सय पुगेको चाँदीको मूल्य वैशाख ८ गतेसम्म आइपुग्दा उतारचढावकाबीच ५ हजार १ सय ६० रूपैयाँ छ।