बैंक र वित्तीय प्रविधि कम्पनीहरू (फिनटेक) बीचको सम्बन्ध प्रतिस्पर्धाबाट सहकार्यतर्फ रूपान्तरण हुँदै गएको फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले बताएका छन्।
सेतोपाटीले आयोजना गरेको नेपाल फिनटेक कनक्लेभ २०२६ मा बोल्दै उनले अब फिनटेकलाई बैंकको रणनीतिक साझेदारका रूपमा हेर्न थालिएको उल्लेख गर्दै यस्तो सहकार्य भविष्यको डिजिटल वित्तीय प्रणालीका लागि अपरिहार्य हुने बताए।
उनका अनुसार नेपाल डिजिटल बैंकिङको विकास चरणमा अहिले त्यही अवस्थामा छ। जहाँ भारत करिब ७–८ वर्ष पहिले थियो।
यसले नेपाललाई सिक्ने र छिटो सुधार गर्ने ठूलो अवसर प्रदान गरेको उनले बताए।
सापकोटाले भविष्यमा आर्थिक वृद्धि हासिल गर्न ओपन बैंकिङ र खुला एपिआइ प्रणालीतर्फ जानु अनिवार्य हुने बताए।
कृत्रिम बौद्धिकताको प्रयोगसँगै बैंकिङ संरचना पनि सोहीअनुसार रूपान्तरण गर्नुपर्ने उनको भनाइ थियो।
उनका अनुसार नेपालमा पूर्ण रूपमा पियर–टु–पियर कर्जा प्रणाली अझै विकसित नभए पनि साना आकारका डिजिटल र बिना धितो कर्जा प्रवाह सुरू भइसकेको छ, जसले डिजिटल ऋण बजारको आधार तयार गरिरहेको छ।
नेपालको डिजिटल पूर्वाधार अझै विकासोन्मुख अवस्थामा रहेको उल्लेख गर्दै उनले राष्ट्रिय परिचयपत्र प्रणाली पूर्ण रूपमा प्रभावकारी बन्न बाँकी रहेको बताए।
त्यसैगरी कर्जा सूचना प्रणाली पनि अझै सुदृढ र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
सापकोटाले डिजिटल बैंकिङ र प्रविधिको पूर्ण लाभ लिनका लागि पूर्वाधार सुधार अत्यावश्यक रहेको बताए।
यद्यपि वर्तमान चुनौतीका बाबजुद नेपालले डिजिटल रूपान्तरणको बाटो नै भविष्यको सही दिशा अपनाएको उनले निष्कर्ष प्रस्तुत गरे।