नेपालमा बैंकिङ र प्रविधिसम्बन्धी विषयमा अझ धेरै छलफल र अन्तरक्रिया आवश्यक रहेको माछापुच्छ्रे बैंकका सन्तोष कोइरालाले बताएका छन्।
सेतोपाटीले आयोजना गरेको नेपाल फिनटेक कनक्लेभ २०२६ मा बोल्दै उनले पछिल्लो समय कर्जा प्रवाह सुस्त हुनुका पछाडि बजारमा लामो समयदेखि देखिएको तरलताको समस्या, लगानीकर्ताको आत्मविश्वासमा कमी र लगानी सुरक्षाप्रति अनिश्चितता प्रमुख कारण भएको बताए।
उनका अनुसार ठूला उद्योगीदेखि साना व्यवसायीसम्म अहिले 'पर्ख र हेर' अवस्थामै रहेकाले नयाँ लगानी विस्तार हुन सकेको छैन। कोइरालाले लगानीकर्ताले आफ्नो लगानी र प्रतिफल सुरक्षित हुने सुनिश्चितता नभएसम्म नयाँ क्षेत्रमा प्रवेश गर्न हिचकिचाउने अवस्था रहेको उल्लेख गरे।
उनले हाल बैंकिङ प्रणालीमा करिब १२ देखि १३ खर्ब रूपैयाँसम्मको अधिक तरलता रहेको भए पनि त्यसलाई प्रभावकारी रूपमा परिचालन गर्न नीतिगत सुधार आवश्यक रहेको बताए। उनका अनुसार हालको आर्थिक वातावरणलाई स्पष्ट दिशा दिन आउने मौद्रिक नीतिप्रति बजारले ठूलो अपेक्षा राखेको छ।
कोइरालाले नेपालले अन्तर्राष्ट्रिय विशेषगरी युरोपेली अभ्यासहरूबाट सिक्दै आफ्नै सन्दर्भमा उपयुक्त नीति र प्रविधि अपनाउनुपर्नेमा जोड दिए।
उनले नेपालमा कर्जा विस्तार, विश्वास निर्माण र नीतिगत स्पष्टता एकसाथ अघि बढे मात्र आर्थिक गतिविधि तीव्र हुने निष्कर्ष प्रस्तुत गरे।