योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाल २६ लाखभन्दा धेरै योगदानकर्ता जोडिएका छन्।
जसमा वैदेशिक रोजगारीमा गएका मात्रै २० लाख ५१ हजार २७१ श्रमिक आबद्ध भएका छन्।
वैदेशिक रोजगारीमा गएकाहरूको पाँच अर्ब १३ करोड ६१ लाख ८२ हजार ६४८ रूपैयाँ कोषमा जम्मा भएको छ।
रोजगारीमा जानेहरूले श्रम स्वीकृति लिने बेलामा नै कोषमा अनिवार्य आबद्धता लिनुपर्ने प्रावधान छ। कोषमा आबद्ध हुन प्रतिव्यक्ति दुई हजार ५०० रूपैयाँ शुल्क तिर्नुपर्छ।
सुरूमै अनिवार्य आबद्धता गरेका कारण वैदेशिक रोजगारीमा जानेहरू कोषमा योगदान गर्नेको संख्या धेरै देखिएको छ। तर नियमित योगदान गर्नेहरू भने कम छन्।
कोषमा नियमित योगदान ९५ हजार ४८६ जनाले मात्रै गरिरहेको कोषको तथ्यांकले देखाउँछ।
कोषका सूचना अधिकारी डा. रोशन कोजुका अनुसार पछिल्लो समय नियमित योगदान गर्नेहरूको संख्या बढ्दै गएको छ। कतिपयले गन्तव्य मुलुक पुगेपछि एकमुष्ट योगदान रकम जम्मा गरिरहेका छन्।
'थोरै-थोरै जम्मा गर्दा भन्दा एकै पटक जम्मा गर्दा सजिलो हुने र एउटै शुल्कमा धेरै समयको जम्मा गर्न सकिने हुँदा पनि कतिपयले एकमुष्ट जम्मा गरिराख्नु भएको छ। एक पटकमा ७४ महिनासम्मको रकम जम्मा गर्नेहरू पनि हुनुहुन्छ,' उनले भने।
डा. कोजुका अनुसार हाल मलेसिया, खाडी तथा युरोप लगायत विभिन्न ९४ मुलुक पुगेका युवाहरूले कोषमा योगदान गरिरहेका छन्।
पछिल्लो पाँच महिनाको तथ्यांक हेर्ने हो भने कोषमा सबैभन्दा धेरै श्रमिकहरूले योगदान रकम पठाउने १० गन्तव्य मुलुकहरूमा युएई, साउदी, कतार, मलेसिया, कुवेत, दक्षिण कोरिया, जापान, रोमानिया, बहराइन र ओमान छन्।
उनीहरूले कनेक्ट आइपिएस, इसेवा, खल्ती, आइएमई रेमिट, ग्लोबल आइएमई बैंकको मोबाइल एप, हिमाल रेमिट, सिटी एक्स्प्रेस, समसारा रेमिट जस्ता माध्यमबाट कोषमा योगदान गर्न सक्छन्।
तर, कतिपयलाई कोषमा योगदान गर्ने विषयमा जानकारी नहुँदा गन्तव्य मुलुक पुगेपछि नियमित योगदान नगरेको पाइएको कोषका निर्देशक रोहीत रेग्मी बताउँछन्।
केही समय अगाडि अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत पनि निर्देशक रेग्मीले कोषमा नियमित योगदान नहुनुका ६ कारण औंल्याएका थिए।
यस्ता छन् उनले औंल्याएका कारणः
१. म्यानपावर व्यवसायीले श्रम गर्ने भनेर एकमुष्ट रकम लिनु। कतिले त सामाजिक सुरक्षा कोषका लागि बुझाउनुपर्ने भन्दा धेरै रकम माग्ने र नियमित योगदान गर्नुपर्छ भन्ने जानकारी नदिने गर्दा नियमित योगदान हुन सकेको छैन।
२. कोषबाट के कस्ता सेवासुविधा पाइन्छ भन्ने जानकारी नहुनु।
३. धेरैलाई कोषमा रकम जम्मा गर्नुपर्छ भन्ने जानकारी भए पनि कसरी जम्मा गर्ने भन्ने जानकारी नहुनु।
४. आम सर्वसाधारणलाई सरकारप्रति विश्वास नहुनु। अर्थात्, आफूले जम्मा गरेको रकम भविष्यमा के हुने हो भन्ने अन्योल भएर।
५. सामाजिक सुरक्षा कोष सम्बन्धी सामाजिक सञ्जालले फैलाएका गलत भाष्यका कारण।
६. आफू भविष्यमा बुढो हुन्छु, समस्या पर्छ भन्ने नसोच्नु। सामाजिक सुरक्षा चाहिन्छ भन्ने चेतना अभाव हुनु।
२०७९ चैत ८ गतेबाट वैदेशिक रोजगारीमा जानेहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सुरू गरिएको हो।
कोषले हाल उनीहरूको योगदान नियमितताका लागि जोड दिइरहेको निर्देशक रेग्मीको भनाइ छ।
वैदेशिक रोजगारीमा गएकाले कोषबाट के-के सुविधा पाउँछन्?
कोषमा योगदान गरेबापत योगदानकर्ता तथा उनीहरूका परिवारले विभिन्न सेवासुविधा पाउँछन्।
उनीहरूले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना र औषधी उपचार, स्वास्थ्य मातृत्व सुरक्षा जस्ता योजनाबाट लाभ लिन सक्छन्।
औषधी उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा योजना अन्तर्गत नेपालमा उपचार गराएको हकमा योगदानकर्ताको पति वा पत्नी र सगोलका १८ वर्षसम्मका छोराछोरीले अस्पताल भर्ना नभइ गर्ने उपचारमा वार्षिक २५ हजार रूपैयाँसम्म दाबी गर्न पाउँछन्।
भर्ना भएर गरिने उपचारमा एक लाख रूपैयाँसम्म दाबी गर्न पाउँछन्। जसको २० प्रतिशत भने योगदानकर्ता आफैंले भुक्तानी गर्नुपर्छ।
वैदेशिक रोजगारीमा रहँदा दुर्घटनामा परेमा अस्पताल भर्ना भई उपचार गराउँदा ७ लाख रूपैयाँसम्मको उपचार खर्च कोषले बेहोर्छ।
दुर्घटनाका कारण अस्थायी वा पूर्ण असक्षमता भएका योगदानकर्ता काममा फर्कन सक्ने अवस्था नभएसम्म आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबर रकम मासिक रूपमा पाइन्छ।
योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको आश्रित परिवारलाई कोषले सुविधा उपलब्ध गराउँछ।
जसअन्तर्गत मृतक योगदानकर्ताको पति वा पत्नीले न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनभर निवृतिभरण पाउने व्यवस्था छ।
तर पति वा पत्नीको वैकल्पिक आम्दानी भएको अवस्थामा र अर्को विवाह गरेको अवस्थामा भने कोषले यस्तो सुविधा दिँदैन।
त्यस्तै योगदानकर्ताको मृत्यु भएको अवस्थामा योगदानकर्ताका छोराछोरीले पनि शैक्षिकवृत्ति पाउँछन्।
बढीमा दुई सन्तती(छोराछोरी)लाई १८ वर्ष उमेर पूरा नभएसम्म न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम बराबर भाग लगाएर उपलब्ध गराउँछ।
योगदानकर्ता अविवाहित वा एकल भएको अवस्थामा आमाबुबाले आश्रित परिवार योजना अन्तर्गतको सुविधा पाउँछन्।
उनीहरूले न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकमलाई दामासाहीले हुन आउने रकम जीवनकालभर मासिक रूपमा प्राप्त गर्छन्।
कोषले मृतक योगदानकर्ताको अन्तिम संस्कार खर्च २५ हजार रूपैयाँ समेत उपलब्ध गराउँछ।
योगदानकर्ताले वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत अवकाश सुविधा र निवृत्तभरण सुविधा पाउँछन्।
अवकाश बचत योजनामा जम्मा गरेको रकम र यसले आर्जन गरेको प्रतिफल वैदेशिक रोजगारी अन्त्य भएपछि एकमुष्ट पाउने व्यवस्था छ। योगदानकर्ताले निवेदन दिएमा यो रकम निवृत्तभरण योजनामा राख्न सकिन्छ।
योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएपछि निवृत्तभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण उपलब्ध गराउँछ।