नेपाल राष्ट्र बैंकले असार २७ (शुक्रबार) मा सार्बजनिक गर्ने भनेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको मिति पछाडि सरेको छ।
मौद्रिक नीतिमा छलफल गर्न आवस्यक समय तथा मौद्रिक नीतिको तयारी नपुगेकाले भोलि सार्वजनिक हुन नसकेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । उनले अब कहिले गर्ने भन्ने मिति पनि नतोकिएको बताए।
जेठ १५ मा बजेट घोषणा गर्ने संबैधानिक व्यवस्था भएपनि मौद्रिक नीति सार्वजनिक गर्ने भने कुनै बाध्यकारी नीति छैन । तर, बजेट घोषणा भएपछि बजेटकै उदेश्य पूरा गर्ने गरि मौद्रिक नीति बनाइने हुनाले बजेट लगत्तै मौद्रिक नीति बनाइन्छ।
राष्ट्र बैंकका एक कर्मचारीले भने, ‘आज यस बिषयमा पूर्व गभर्नरहरुसँग छलफल छ, उहाँहरुको सुझाव पनि समेट्नुपर्ने भएपछि भोलिनै सार्वजनिक गर्न सकिँदैन।’
उनले पनि आन्तरिक तयारी नपुगेकै करण मौद्रिक नीति मितिपछि सरेको बताए । उनले भने, ‘अर्थ सचिव पनि अमेरिका जानुभएकोले उहाँ साउन लागेपछि मात्रै फर्किने कार्यक्रम छ, त्यसैले उहाँ नफर्किदासम्म नीति सार्वजनिक नहुने संभावना बढेको छ।’
मौद्रिक नीति सार्वजनिकगर्दा अर्थ सचिवको अनिवार्य उपस्थिति हुनुपर्ने कतै व्यवस्था नभएपनि हरेक पटकको मौद्रिक नीतिमा अर्थ सचिव उपस्थित हुँदै आएका थिए।
केही हप्ताअघि गर्भनर डा चिरन्जिवी नेपाल पनि विदेश भ्रमणमा जाँदा मितिपछि सारिएको थियो। गभर्नर नेपाल भने स्वदेश फिर्ता भइसकेका छन् ।