मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच समझदारी भएको छ।
विद्यार्थीलाई व्यावहारिक ज्ञान, प्रत्यक्ष अनुभव तथा अनुसन्धानमा सहयोग पुर्याउने विषयमा समझदारी गरिएको हो।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा दुई पक्षले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
समझदारी पत्रमा संघका तर्फबाट अध्यक्ष अनुपम राठी त्रिभुवन तथा विश्वविद्यालयका तर्फबाट प्रा. डा. केदारप्रसाद रिजालले हस्ताक्षर गरेका हुन्।
यो समझदारी अनुसार विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सशक्तीकरणको लागि इन्टर्नशिप, अनुभवजन्य शिक्षा, औद्योगिक भ्रमण तथा मार्गदर्शन जस्ता व्यावहारिक स्रोतहरू उपलब्ध गराइने भएको छ।
यी सबै सेवा मोरङ उद्योग वाणिज्य संघको पहुँचमा रहेका निजी क्षेत्रका उद्योग–व्यावसायिक संस्थाहरू मार्फत गरिनेछ।
यसले नेपालमा सीपमा आधारित रोजगारी तथा 'प्लेसमेन्ट' को लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने दुवै पक्षले विश्वास व्यक्त गरेका छन्।
समझदारी अनुसार संघको संस्थागत उद्देश्य पूरा गर्नका लागि त्रिभुवन विश्वविद्यालयले विषयगत विद्यार्थी वा स्रोत व्यक्तिहरू प्रदान गर्नेछ।
यसले अनुसन्धान, छलफल, अन्तर्क्रिया तथा प्रतिवेदन तयारी जस्ता कामहरूमा सहयोग पुर्याउने जनाइएको छ।
यसैगरी, औद्योगिक, आर्थिक, वातावरणीय नीति, आपूर्ति श्रृंखलाको सुधारमा पनि टेवा पुर्याउने विश्वास दुई संस्थाको छ।
यसैगरी, दुई पक्षबीच उपलब्ध वा बाह्य स्रोतबाट संकलन गरिएका संकाय सदस्य, विशेषज्ञ वा सम्बन्धित क्षेत्रका विज्ञहरूको अनुभव आदानप्रदान गर्न जनशक्ति उपलब्ध गराइने समझदारी पनि भएको छ।
यसले विविध विषयहरूमा देखिएका समस्या समाधान तथा सुधार प्रक्रियामा सहयोग पुर्याउने जनाइएको छ।
यसैगरी, त्रिविले उद्योग, व्यापार, बजार र वातावरणसँग सम्बन्धित समस्याहरूको अनुसन्धान, अध्ययन, पहिचान र प्रसारण गर्नका लागि विषयमा आधारित विद्यार्थीहरू तथा स्रोत व्यक्तिहरू उपलब्ध गराउने छ।
समझदारीअनुसार कार्यक्रम सञ्चालन गर्न संघले अन्य उद्योग वाणिज्य संघहरूसँग पनि समन्वय र सहकार्य गर्ने संघका अध्यक्ष राठीले बताए।
यसले त्रिविका विद्यार्थी तथा संकाय सदस्यहरूलाई आवश्यकता अनुसार औद्योगिक भ्रमणको व्यवस्था, उद्योग विशेषज्ञहरूसँग अन्तर्क्रिया, व्यवस्थापन सम्बन्धी ज्ञान आदानप्रदान गर्नेछ।