अस्ट्रेलियाको कान्टास एअरवेजले सप्ताहन्तदेखि आफ्नो हालसम्मै लामो उडानको परीक्षण सुरू गर्ने भएको छ। अमेरिकाको न्युयोर्कदेखि अस्ट्रेलियाको सिड्नीसम्म निरन्तर हुने यो उडान करिब २० घन्टाको हुनेछ।
यसअघि सिंगापुर एअरलाइन्सले सिंगापुरदेखि न्युयोर्कसम्म र कतार एअरवेजले अकल्यान्डदेखि दोहासम्मका लामा उडान गर्दै आएका छन्। यी उडान १८ देखि २० घन्टाका छन्।
कान्टासको यो परीक्षण सफल भए सिड्नीदेखि न्युयोर्कसम्म कहीँ नरोकिई सिधै उडान हुनेछ। यसलाई पछ्याउँदै सन् २०२२ मा सिड्नीदेखि लन्डनसम्म उडान गर्ने योजना एअरवेजको छ।
शुक्रबार साँझ कान्टास– बोइङ ७८७ ड्रिमलाइनर जम्मा ५० जना यात्रु र केही विमानका कर्मचारी बोकेर उड्नेछ।
तर कान्टासका लागि यो काम सहज छैन। क्षमतावान् जहाज र आवश्यक पूर्वाधार भए पनि लामो उडानबाट यात्रुमा पर्ने असरलाई एअरवेजले कसरी सल्टाउँछ भन्ने प्रश्न उठिरहेको छ।
ब्लुमवर्गका अनुसार कान्टासले यात्रुमा हुने 'जेट ल्याग'को समस्या कम गर्न जहाजका सेवा–सुविधामा केही हेरफेर गरेको छ। एअरवेजले नियमित रूपमा यात्रुलाई दिने खानादेखि जहाजको बत्तीसम्म परिवर्तन गरेको बताइएको छ।
जहाजमा यात्रुलाई कम्तीमा छ घन्टासम्म जागै राख्ने पनि एअरवेजले तयारी गरेको छ। यसका निम्ति जहाज उडेपछि बत्ती मधुरो पारिनेछ। र, मरिच मिसाइएको र पिरो खाना यात्रुलाई दिइनेछ। साथै हरेक पेय र खानाको प्रकृति नियमितभन्दा केही फरक गरिएको छ।
'यात्रुको खाना र सुविधामा गरिएको यो वैकल्पिक व्यवस्था कत्तिको प्रभावकारी हुन्छ भन्ने हेर्न बाँकी नै छ। यिनै आधारमा हामीले दसौं वर्षसम्म यो उडान निरन्तर गर्ने हो,' कान्टासका प्रमुख कार्यकारी अधिकृत अलान जोइसले भने, 'पुरानै तरिकाको खाना र सुविधाले यात्रुको शरीरलाई लामो यात्रामा समायोजन गर्न कठिन हुन्छ। लामो यात्रामा पनि यात्रुले सहज महशुस गर्न जरूरी छ।'
यो उडानपछि सबै यात्रुको दैनिक व्यवहार र अनुभवहरूलाई दुई सातासम्म रेकर्ड राखिनेछ। उडानपछिका दिनमा उनीहरूको सुताइ, मुड लगायतबारे जानकारी लिइनेछ। र, त्यही नतिजाका आधारमा सुविधा र तरिकाहरू हेरफेर वा सुधार गरिनेछ।