वायु सेवा संचालक संघ विमान स्थलमा पूर्वाधारको विकास वा अन्य कुनै विकल्पको विकास नभएसम्म यात्रुले फ्लाइट डिलेको समस्या अझै व्यहोर्नु पर्ने जनाएको छ।
फ्लाइट डिले भएको कारण यात्रुहरुले विमानका कर्मचारीहरुलाई दुव्र्यबहार गर्ने लगाएतका कृयाकलाप बढेपछि संघले विज्ञप्ती जारी गर्दै वायु सेवा संचालकले तोकिएको समयमा उडान नहुनुमा आफुहरुको गल्ती नभएको स्पष्ट पारेको हो।
एउटा मात्र धवन मार्ग हुनाले उडानको लागि आन्तरिक जाहाजहरुलाई आकाशमै होल्ड गर्नु पर्ने कि ग्राउण्डमा होल्ड गर्नुपर्ने, अन्तर्राष्ट्रिय उडानको तुलनामा आन्तरिक उडानले उडान अनुमति नपाउनु पनि समयमा उडान नहुनुको प्रमुख कारण भएको संघले जनाएको छ।
त्यस्तै नेपालगञ्ज, भैरहवा, सिमरा, तथा विराटनगर बाहेक तराइमा अन्य विमानस्थलमा भिएफआर (सुर्योदयदेखि सुर्यास्त समय भित्र) उडान गरिसक्नु पर्ने अवस्था रहेकोले जनकपुर पोखरा, भरतपुर, चन्द्रगढी तथा धनगढी विमान स्थलमा उडान सम्पन्न गर्न अत्याधिक कठिनाई हुने र कहिलेकाही अन्तिम समयमा उडान रद्द समेत गर्नुपर्ने अवस्था आउने विज्ञप्तीमा उल्लेख छ।
त्यसैगरी जाडो याममा तराइमा भिजिविलिटी अपुग हुँदा पनि यात्रुहरुले फ्लाईट डिले र उडान रद्दको समस्या व्यहोर्नु परेको संघले जनाएको छ।