राजश्व अनुसन्धान विभागले ३ अर्ब ८२ करोड करछली गरेको भन्दै २ कम्पनी र त्यसका सञ्चालकहरु विरुद्ध मुद्दा दायर गरेको छ।
विभागले अनुसन्धानको क्रममा ती कम्पनी तथा सञ्चालकहरुले नियोजित रुपमा करछली गरेको तथ्य प्रमाणका आधारमा मुद्दा दायर गरेको जानकारी दिएको छ।
यसमा एउटै कम्पनी बिरुद्ध विभागले २ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ विगो असुलीको माग गर्दै मुद्दा दायर गरेको हो।
काठमाडौंको सोह्रखुट्टेमा रहेको हाइटेक इन्टरनेशनल कम्पनीले भन्सार बिन्दुबाट मालवस्तु आयत गर्दा घोषणा नै नगरी जालसाजीपूर्ण तरिकाले नेपाल ल्याइ अवैध कारोबार गरेको, सिमित वस्तुको मात्र बिल जारी गरेर धेरै बस्तुको बिल पनि आफ्नो अनुकूलतामा जारी गरेको पाइएको विभागले अनुसन्धानको क्रममा भेटाएको छ।
कर कम तिर्नका लागि उक्त कम्पनीले वस्तुको थोरै मूल्य देखाएको प्रमाणहरु भेटिएको विभागले बताएको छ।
उक्त कम्पनीले १ अर्ब ७१ करोड ५६ लाख भन्सार छली गरेको, ५९ करोड २८ लाख मूल्यअभिबृद्धि कर तथा १२ करोड १४ लाख आयकर छली गरेको विभागले अभियोग लगाएको छ। छली गरेको कूल रकम २ अर्ब ४२ करोडलाई विगो कायम गरि यसमा लाग्ने जरिवाना तथा सजायको माग गर्दै उच्च अदालत पाटनमा उक्त कम्पनी विरुद्ध मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ।
त्यस्तै ललितपुरको जेएसएस मोबाइल्स एण्ड सर्भिसेज नामक कम्पनीले विद्युती सामग्रीहरु भन्सार छली गरेर आयात गरि नेपालभित्र पनि कर नतिरी कारोबार गरेको पाइएकाले १ अर्ब ३९ करोड विगो दाबी गर्दै विभागले आजै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
यो कम्पनीले पेन ड्राइभ, मेमोरी कार्ड लगायतका अन्य विद्युतीय सामग्री भन्सार छली गरेर नेपाल ल्याउने, यहाँ थोरै सामग्रीको मात्र कारोबार देखाएर छुट्टै खाता बनाएर कर छलेको विभागले आरोप लगाएको छ।
यो कम्पनीले १ अर्ब १ लाख भन्सार कर , ३२ करोड २४ लाख मूल्यअभिबृद्धि कर र ४ करोड ८५ लाख आयकर छली गरेको विभागले अभियोग लगाएको छ।