नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान सुरु गरेको छ। घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटर हटाएर स्मार्ट मिटर जडान आजदेखि सुरु भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–९को वडा कार्यालय मंडिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको सुरु गरेका हुन्।
यस्ता सिंगर फेजका ग्राहक देशभर हाल करिब ५० लाख भएको प्राधिकरणले जानकारी दिएको छ। पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थ्री फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिने प्राधिकरणले जानकारी दिएको छ।
यो मिटर जडान भएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नु पर्ने छैन। यसबाट प्राधिकरणको सञ्चालन लागतमा कमी आउनसक्ने छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २ हजार ५ सय देखि ३ हजारसम्म कर्मचारीको खर्च कम हुने बताए।
प्राधिकरणको कन्ट्रोल सेन्टरबाटै ग्राहकको घरमा कति बिजुली खपत भएको छ भन्ने डेटा रहने हुँदा मिटर रिडिङ गर्न घरमै पुग्नुपर्ने बाध्यता सकिने छ। त्यस्तै बिल नतिर्ने ग्राहकको बिजुली पनि काट्न सकिने छ।
स्वचालित मिटर रिडिङ हुने भएपछि ग्राहकले घरबाटै बिल तिर्नसक्छन्।
सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राज्यका निकायले प्रवाह गर्ने सेवाको आधुनिकरण र चुस्तता कायम गर्नु भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्मार्ट मिटर जडानको सुरुवात एउटा कोशेढुंगा भएको मन्त्री पुनले बताए।
स्मार्ट मिटर जडान भएपछि प्राधिकरणको फाइदामात्र नभएर समग्र बिजुली प्रसारण तथा खपतको क्षेत्रमा आधुनिक प्रणाली स्थापना हुन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ।
‘स्मार्ट मिटरमा हरेक घण्टाको महसुल फरक–फरक कायम गर्न सकिने हुँदा पिक, अफ पिक र नर्मल समयमा ग्राहकको फरक–फरक महसुल तोक्न सकिने छ, साथै अव चाँडै वर्षायाममा बढी विद्युत उत्पादन हुँदैछ, त्यसको खपत बढाउन सस्तो महसुल कायम गर्न सकिन्छ भने हिउँदयामको महसुल पनि फरक तोक्न सकिने छ’,उनले भने ‘स्मार्ट मिटरमा पोष्ट पेड र प्रि पेड दुवै फङसन हुने हुँदा ग्राहको ईच्छाअनुसार पोष्ट पेड र प्रि पेड गर्न सकिने छ, ग्राहकले जुनसुकै ठाउँबाट अनलाइन विल भुक्तानी गर्न सक्ने हुँदा सजिलो हुन्छ ।’
प्राधिकरणले यसअघि नै देशभरका ८ हजार २ सय २२ टिओडी (टाइम अफ डे)मिटरहरुलाई स्मार्ट बनाइसकेको छ । दोस्रो
सिंगल फेज स्मार्ट मिटर जडानको लागत करिब १ अर्ब रुपैयाँ रहेको छ । एसियाली विकास बैकले सहुलितपूर्ण ऋणमा यो आयोजना सञ्चालन भइरहेको छ।
काठमाडौं उपत्यकामा हाल रहेका करिब ४ लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढेको छ।