२२८८ मिटर उचाइबाट वरिपरि देखिने हरियाली दृश्य, पर्यटकहरू हिँड्न ढुंगा ओछ्याएर बनाइएको गोरेटो बाटो र त्यहाँ पुग्दा देखिने परम्परा झल्किने घरले जो कोहीको मन लोभ्याउँछ।
त्यहाँ कुनै अग्ला-अग्ला सिमेन्टले बनाइएको घरहरू छैनन्। ढुंगा, माटो र खरले छाएको एक तले र दुई तले स-साना घर छन्। कुनै कुनै घर झिँगटीले पनि छाएका छन्।
पार्कभित्र कतै कतै अग्ला अग्ला ढुंगा गाडिएका छन्। पर्यटक बस्ने ठाउँहरू, पोखरी, कुवा बनाइएको छ। सानासाना लालिगुराँसका बोटहरूले पार्कमा सुन्दरता थपिदिएको छ।
लालिगुराँस फुल्दा त्यहाँका दृश्यहरूबाट पर्यटकको मन लोभ्याउँछ। त्यो ठाउँ हो- तेह्रथुम लालिगुराँस नगरपालिका- ३ बसन्तपुरमा बनाइएको चोलुङ (सिद्धि प्राप्ति) पार्क।
लिम्बू भाषामा ‘चो’ को अर्थ लक्ष्य र ‘लुङ’ को अर्थ ढुंगा हुन्छ। यस अर्थमा पार्कको विशेषता भनेकै ढुंगाको सभ्यता हो।
थरीथरीका लालिगुराँस फुल्ने र तीनजुरे मिल्के जलजले (टिएमजे) को काखमा रहेको यो पार्क पर्यटकको लागि नयाँ गतव्य बनेको छ।

उचाइमा बनेको यो पार्कबाट धनकुटा र संखुवासभाका सुन्दर दृश्यहरू देख्न सकिन्छ। पुष्पलाल (मध्यपहाडी) लोकमार्गसँग जोडिएको उक्त पार्क पुग्न पर्यटकलाई कुनै समस्या भोग्नु पर्दैन।
सहजै यात्रा गरेर त्यहाँ पुगेपछि लिम्बू परम्परा झल्काउने र कथा बोकेको पार्कले पर्यटकको मन लोभ्याउँछ।
पार्कमा प्रवेश गरेसँगै गाडिएका ढुंगा र घरका बनावटहरूले पर्यटकको मनमा प्रश्न उब्जिने लालिगुराँस नगरपालिकाको प्रमुख अर्जुन माबोहाङले जानकारी दिए।
उनका अनुसार पार्कमा राखिएका ढुंगा र बनाइएका घरका एकएक टुक्रा लिम्बू समुदायसँग परम्परासँग जोडिएको छ।
'पूर्वी पहाडी भेगमा बसोबास गर्ने लिम्बू समुदायको ढुंगासँग छुट्टै सम्बन्ध रहिआएको छ। जन्मदेखि मृत्युपर्यन्तसम्म ढुंगाको भूमिका र प्रयोग हुन्छ,' उनले भने, 'जन्म, विवाह, मृत्यु र सामाजिक कार्यमा ढुंगाको प्रयोग अनिवार्य गरिन्छ।'
त्यस्तै, कसैसँग झै-झगडा भएर मिल्नुपर्दा, मितेरी साइनो गाँस्दा, सम्बन्ध जोड्दा वा विच्छेद गर्नुपर्दा पनि निशानी एवं प्रतीकका रूपमा ढुंगा गाड्ने लिम्बूहरूको परम्परा छ।
उनका अनुसार लिम्बू समुदायले हरेक काममा ढुंगालाई साक्षी राख्ने गर्छन्। यसरी साक्षी राख्ने ढुंगालाई 'मेन्दुरी प्यासाङा' भनिन्छ। त्यही परम्परालाई पार्कमा झल्काइएको छ।
पार्कमा प्रवेश गरेसँगै १६ फिट अल्लो ढुंगा गाडिएको छ। वरिपरि ढुंगाकै पर्खाल बनाएर बीचमा गाडिएको ढुंगाले पर्यटकहरूलाई उत्सुकता जगाउँछ। त्यसकै दायाँतर्फ तान बुन्ने ठाउँ छ। त्यसकै ५० मिटर तल वरिपरि पर्खाल लगाएर बीचमा जातो राखिएको छ।
उक्त दृश्यले लिम्बू जातिको युमा (इष्टदेवी) ले अग्लो ढुंगामा धागो अड्काउने र तान बुन्ने गरेको ठाउँ भनेर बुझाउने मेयर मोबाहाङ बताउँछन्।
यी दृश्यलाई नियालेर तल झर्दै गर्दा अर्को बीचमा अग्लो ढुंगा राखेर दायाँबायाँ गोलाकारका ढुंगा राखेर तराजुको चित्र बनाइएको छ।
यसको पनि कथा छ।
लिम्बू संस्कृतिअनुसार खोङलिसो आयसक्पा र सेक्ङायङ फेक्ङायङबाट एउटा छोरी जन्मिएकी थिइन्। उनीहरूले आफ्नो छोरीको एक वृद्धासँग विवाह पक्का गरिदिए।
उनकी छोरीले कुप्रो, र्याल सिँगान भएको बुढा कति दिन बाँच्छ बैना गरिदिए पनि उनकी छोरीले मान्दिनन्।
बैना भइसकेकाले उनलाई विवाह गर्नका प्रकृतिले पनि आग्रह गरेको लिम्बूको ग्रन्थहरूमा पनि भनिएको छ।
त्यसपछि विवाहका लागि उनले तौलमा बढी भएमा मात्र विवाह गर्ने प्रस्ताव राखिन्। त्यसका लागि गाउँमा ढुंगाको तराजुहरू बनाएर जोख्ने काम भयो। वृद्धाले लुकाएर तराजु बोकाले युवतीभन्दा बढी तौल आयो।
त्यसले गर्दा युवतीलाई पनि विभिन्न गहनाहरू लगाएर बराबर भएपछि विवाह गराइदिएको लिम्बू परम्परामा भनिँदै आएको मेयर मोबाहाङ बताउँछन्।
'तौलमा बराबर भएमा उस्तै-उस्तै उमेरमा मृत्यु हुन्छ भन्ने भनाइ छ,' उनले भने, 'अहिले पनि बिहे गर्दा जोखेर तौल बराबर गरेर मात्र विवाह गर्ने चलन छ। तौल नपुगेको खण्डमा माटोका गहन लगाउने गरिन्छ।'
-ink-1751782866.jpeg)
-ink-1751782865.jpeg)
यही कथालाई झल्काउन तराजु बनाइएको उनको भनाइ छ।
त्यस्तै पार्कको पूर्वपट्टिको भागमा लिम्बू जातिको आदिम राजा सावा येहाङ (गाउँ) को सभ्यता झल्काउने घर निर्माण गरिएको छ। ६ वटा घर बनिसकेका छन् भने एउटा घर बन्दै छ।
मौलिक तथा ऐतिहासिक घरमा संग्रहालय पनि बनाइएको छ। संग्रहालयमा मान्छेको परम्परागत जनजीवनमा प्रयोग हुने सामग्री, पुराना कागजात राखिएका छन्। त्यसले नयाँ पुस्तालाई अध्ययनमा सहयोग पुर्याउने मेयर माबोहाङले जानकारी दिए।
'थप सूचनामूलक सामग्री खोज्ने क्रम जारी छ,' उनले भने, 'हामीले गाउँघरका स्थानीयले जम्मा गरेर राखेर र केही किनेर संग्रहालयमा राखिएको हो।'
लिम्बू समुदायको संस्कार चलाउने फेदाङमा, येवा, साम्बालगायत शास्त्रीय ज्ञान भएका मन्त्रधारीहरू पछिल्लो समय लोप हुँदै गएका छन्।
संग्रहालयमा राखिएका सामान र पार्कले नयाँ पुस्तालाई जानकारी गराउनु नै मुख्य लक्ष्य रहेको नगरप्रमुख माबोहाङको चहाना हो।
त्यही उद्देश्यले नै आफू मेयर भएपछि पार्क निर्माण गरिएको उनको भनाइ छ।
देशको विकास क्रमसँगै पुरानो संस्कारहरू पनि परिवर्तन हुँदै गइरहेका छन्। त्यसलाई ताजा गर्ने प्रयास गरिएको उनको भनाइ छ।
'आफू प्रमुख भएदेखि नै लिम्बू समुदायको परम्परालाई जोगाउन वा देशव्यापी रूपमा चिनाउन मन थियो। त्यही सोचले पार्क निर्माणको योजना बन्यो,' उनले भने, '४ वर्षअघिदेखि नै सञ्चालनमा ल्याइएको हो। अझै पनि घर र थप संरचना बनाउने काम भइरहेको छ।'
५० रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा अझै पनि संरचना थप हुनसक्छ। पार्कमा पर्यटकको संख्या बढ्दै गइरहेको छ। त्यसले पनि थप ऊर्जा मिलेको उनी बताउँछन्।
यो ठाउँमा आएर फोटो, भिडिओ खिच्ने, घुम्नेका संख्या र रूचि बढ्दै गएको देखिन्छ। पर्यटकहरूकै सुझावमा टिकट शुल्क बढाएको उनी बताउँछन्।
-ink-1751782864.jpeg)
-ink-1751782865.jpeg)
उनका अनुसार सुरूआतमा प्रवेश शुल्क २० रूपैयाँ राखिएको थियो। ५० रूपैयाँ हुँदै अहिले प्रतिव्यक्ति एक सय रूपैयाँ तोकिएको छ। बच्चा, बुढापाका र पैसा तिर्न सक्दिनँ भन्नेहरूका लागि भने शुल्क लाग्दैन।
'गत वर्ष १६ लाख रूपैयाँ संकलन भएको थियो। यस वर्ष बैशाख, जेठ र असारको आधासम्म अझै पर्यटकको संख्या बाक्लो हुँदै गइरहेको छ,' उनले भने, 'पुरानो संरचनाले नै नयाँ पुस्तालाई तानेको हो।'
अहिलेसम्म एकमुष्ठ टिकट काट्ने भएकाले पनि संख्यात्मक तथ्यांक राखिएको छैन। आगामी आर्थिक वर्षदेखि भने कति जना आए भनेर तथ्यांक राख्ने तयारी गरिएको छ।
जतासुकै सिमेन्टको प्रयोग गरेर संरचना निर्माण भइरहेका छन्। तर यो पार्क निर्माण गर्दा सिमेन्टको प्रयोग भएको छैन। त्यसैले पनि युवापुस्तालाई तानेको अनुमान नगरप्रमुख माहोबाङको छ।
‘लिम्बू जातिको पुरानो सभ्यता र संस्कारलाई पार्कको माध्यमद्वारा प्रतिविम्बित गराई विश्वसामु चिनाउने लक्ष्य छ,' उनले भने, 'विश्वले चिन्दै पनि छ।'
न्युयोर्क टाइम्सले सन् २०२५ विश्वमा घुम्नुपर्ने १ सय स्थानमध्ये चोलुङ पार्कलाई ४२ औँ स्थानमा राखेको छ।
-ink-1751782864.jpeg)
-ink-1751782864.jpeg)
-ink-1751782864.jpeg)