सपनाहरू रंगीन हुन्छन्। मखमली हुन्छन्। आकाश छुने खालका हुन्छन्। सुन्दर सपनाहरूमा पखेँटा हुन्छ। ती महत्वाकांक्षी हुन्छन्। कल्पेर मात्रै बस्दा ती पिँडालुको पातमाथि टल्केको बिहानीको शितको थोपा जस्तो हुन्छन्। जो घामसँगै अस्तित्वहीन भएर बिलाउँछन्। जब सपनालाई आकार दिन, तिनमा रंग भर्न, उडान भर्न र सुगन्ध छर्न दृढ अठोट, कठोर संकल्प,अनवरत साधना र धैर्यताका हरेक परीक्षाहरू सामना गर्न तयार भइन्छ त्यसपछि एकदिन सपनालाई साँच्चै मोती झैं चम्किलो बनाउन सकिन्छ।
मसँग मेरो जीवनको एउटा सानो सपना थियो निलो भित्तामा उभिएर पोज दिने। जावलाखेल चोकको व्यस्त माहौल। नजिकै डेरा। साँझ बिहान चोकतिर निस्कनु पर्दा त्यही निलो भित्तामा सधैं आँखा जाने। यसलाई वास्तविकतामा परिणत गर्न जम्माजम्मी एउटा सानो सपना त रोजेको छु। मेरो सामर्थ्य भन्दा बाहिरको पनि त होइन। यो त जसरी पनि पूरा गर्छु भन्ने लाग्ने। जावलाखेलस्थित स्टाफ कलेजको निलो भित्ता देख्यो कि मन कल्पिहाल्ने।
एक दिन यही निलो भित्तामा उभिएर निलो पोशाकमा यही भवनभित्र तालिम लिनु छ। त्यसका लागि जति मेहनत गर्नु छ म अनवरत गर्नेछु। यति सोच्दा सोच्दै कहिलेकाहीँ यो भवन भित्रको तालिम कस्तो होला? सम्म पुगिहाल्ने।
यति सोच्नथाल्दा अर्को मनले भनिहाल्थ्यो कल्पनाको पर्खाल हुँदैन, जहाँ पनि पुग्छ तर गन्तव्यमा पुग्न हजारौं ब्यारियर हुन्छन्। त्यसैले कल्पनाको प्रवाहमा नबग बरू बाटोमा तेर्सिएका तगाराहरू हटाएर गन्तव्यतिर लाग। अनि फेरि ट्र्याकमा आइन्थ्यो। त्यो ट्र्याक भनेको डेरामा गएर पलेँटी कस्दै किताबको चांगमुनि हराउनु हो, म त्यसै गर्थें। कुनै पनि इलम, पेसा वा व्यवसाय रोज्नुका पछाडि कारण र पृष्ठभूमि हुन्छ।
नेपाल वायुसेवा निगमको ६ वर्षे करार सेवा नै मेरो सरकारी जागिरतिर मोडिनुको खास पृष्ठभूमि थियो। करार जागिरका क्रममा मलाई हमेशा सरकारी स्थायी जागिरमा प्रवेश गर्नुपर्छ भन्ने लागिरह्यो। बामे सर्दासर्दै भुइँबाट हात छोडेर उभिन थालियो। आमाले ताते गराउँदै हिँडाउनुहुन्थ्यो। आमाको हात समात्न छोडेपछि हिँडियो। दौडियो र कुदियो। यस्तै हो जिन्दगी यस करारको जागिर छोड्दा संसारै के खस्ला र?
अर्को राम्रो, बलियो र भरपर्दो यात्रातिर निस्कन्छु जे सुकै होस् भन्ने भयो। करारको जागिर छोडेँ। थोरै समय लोक सेवा पढेँ। फेरि भौंतारिएँ। घरखर्चमा पनि योगदान गर्नुछ। मैले योगदान नगर्दा अर्थात् मैले नकमाउँदा घर चल्छ कि चल्दैन मनमा अलिकति त्रास पनि छँदै थियो। एक दिन सोचें।
मेरो जीवनको महत्वपूर्ण समय त मैले स्नातकोत्तर गर्न, प्राइभेट जागिर गर्न र सरकारी करार जागिर गर्नमै खर्चिसकें। स्नातक सकेर तुरून्तै सरकारी सेवाको तयारी गर्नुपर्ने। समयको गति तीव्रतामा छ मेरो तयारी पुगेन भने के गर्ने? मलाई शिक्षण पेशामा रूची छैन। तर थाहै नपाई एम.एड. गरियो। अब कानुनमा बि.एल.गर्छु र त्यतैबाट सरकारी सेवामा प्रवेश गर्छु।
कुनै कारणले सरकारी सेवाको चाहना पूरा भएन भने पनि जिन्दगी त केही कर्म गरेरै जिउनुपर्छ। त्यसपछि वकालतको बाटो रहन्छ भन्ने निर्णयमा पुगेँ र कानुनमा भर्ना भएँ। मेरो बि.एल.सकियो। बार काउन्सिलबाट अधिवक्ताको अनुमतिपत्र प्राप्त गरें। छोरीको निकै रहर गरेर दोस्रो सन्तान जन्माउने निर्णय गरें तर फेरि छोरा जन्मियो। दुई वर्ष उसको स्याहार सुसार गरें। त्यस बीचमा पनि मैले थोरै समय निकालेर मेरो वकालत पेशालाई सक्रिय राखिरहन प्रयत्न गरें। वकालतमा भविष्य त देखें तर महिलाहरूका लागि थोरै अनिश्चित जस्तो। छोरा दुई अढाइ वर्षको पुगेपछि मैले निकै मेहनतका साथ आफ्नो सम्पूर्ण सामर्थ्य पढाइमा केन्द्रित गरें। एक दुई वटा सरकारी संस्थानहरूमा लिखितमा नाम निस्कियो तर अन्तर्वार्तासम्म पुग्दा नतिजा मेरो पक्षमा आएन।
उमेरले अर्लामको घण्टीतर्फ इसारा गर्दैछ। लिखितमा निस्केका ठाउँमा अन्तर्वार्ताबाट रिङ आउट हुनुपर्छ। कस्तो भाग्य? सकिन्न कि क्या हो ? छोड्दिऊँ जस्तो लाग्छ। अर्को मनले भन्छ 'नेभर गिभ अप। गिभ अप गर्नेले सपनामा रंग भर्न सक्दैनन्। तिमीले करारको जागिर खाँदा लगाएको सेतो सर्ट, निलो कोट पाइन्ट र निलो सारी स्थायी रूपमा हात पर्दैछ।'
दराजमा थन्काएका ती पुराना पोशाक तानेर हेर्थें। माया लाग्थ्यो, सुमसुम्याउँथेँ। आँखाबाट बर्वर आँसु झर्थ्यो। ती पोशाक पुनः दराजमै थन्काएर फेरि किताबको चाङमा डुबिहाल्थेँ। सपनाको यही चक्रमा दिनहरू बित्थे। कैयौं पटक निराशाहरू पनि आए।
अघिल्लो वर्ष त सातदोबाटोस्थित नेपाल चार्टर्ड एकाउन्टेन्सी संस्थामा कानुन अधिकृतमा अन्तर्वार्तामा परिणाम नआएपछि सेप्टेम्वर फ्लुले छोयो। उदास र बेचैनीको धड्कन निकै बढ्यो। फेरि सम्हालिनु पर्यो। वास्तवमा लोक सेवाको यो यात्रा पार लाउनु मेरो लागि निकै कठिन थियो। दुई, दुई वटा बच्चा, घर परिवार, पाहुनाहरू त्यत्तिकै। चुलो चौको सक्यो फेरि बच्चाहरूको पढाइमा सघाउनुपर्ने, आफू पढ्नुपर्ने।
वास्तवमै फलामको च्युरा चपाउनु सरह नै थियो त्यो परिवेश छिचोलेर नतिजा हात पार्नु।
आफन्त र साथी सर्कलबाट पनि सकारात्मक प्रेरणा नआइदिने। अझै के पढेको। कतै प्राइभेट जागिर खाए हुन्छ। फ्रेसरहरूसँग कम्पिटिसन सजिलो छैन। गरिखाने ससानो बाटो खोजे हुन्छ भन्ने जस्ता प्रतिक्रियाले झन् निराशामा धकल्थ्यो केहीबेर। पढ्दापढ्दै कानुनका कतिपय जार्कनहरू नबुझेर एक्लै रोएको छु। चाडपर्व, घुमफिर र खानपानका तस्वीरहरू आफ्नो सर्कलले सामाजिक सञ्जालमा पोष्ट गर्दा निराश भएर आफ्नो त एउटा जागिर खाने काम पनि पूरा भएको छैन भन्ने असन्तोष मनमा तुरून्त आइहाल्ने। बाटोमा निजामती पोशाकको मान्छे देख्यो भने एकछिन विचलित हुने खालको। वास्तवमा सपनाप्रतिको यो लगाव र अनुराग अनिवार्य रहेछ अहिले फर्केर सम्झँदा त्यो अनुभूति गर्छु मैले।
कैयौं दिन अनिँदो राखेको, व्यग्रता र बेचैनले व्याकुल बनाएको, नो गिभ अप भन्दै गन्तव्यतिर लखेटेको त्यही सपनाले २०८१ साल कात्तिक १२ गते ७ बजेर ७ मिनेट जाँदा दिपावलीको पूर्वसन्ध्यामा जिन्दगीको सुकून्, आनन्द र रंगीन सन्देश बोकेर ल्यायो। त्यसको ठिक दुई दिनपछि कात्तिक १४ गते लोक सेवा आयोगबाट आएको नियुक्तिको सन्देशमा शाखा अधिकृत न्याय सेवामा छनोट हुनु भएकोमा हार्दिक बधाई दुर्गा पौड्याल, उल्लेख थियो। आज त्यो स्मरणीय क्षण अर्थात् सानो सपनाले आकार लिएको ठिक एक वर्ष भयो।
वास्तवमा दसैंमा जुन छटपटाहट, दुविधा, अन्यौलता र निराशपन थियो। ममा दिपावलीको आगमन र शुभ समाचारले निकै हौसला र आनन्द दियो। अब यात्रा तय भयो। बाटो मोडियो। सपनाले आकार लियो। आफन्त, शुभचिन्तक र मित्र सर्कल सबै सकारात्मक बने। अब निलो भित्ताको पोजको रहर मात्र पूरा भएन। यात्रा नै त्यही बन्यो। नतिजा प्रकाशित भएलगत्तै तिहार बिदा भएकाले २७ कात्तिकदेखि स्टाफ कलेजले तालिम सुरू गर्ने जानकारी कानून मन्त्रालयबाट प्राप्त भयो।
२५ कात्तिकको तीन महिने सेवा प्रवेश तालिमको उद्धघाटनमै औपचारिक पोशाकमा बिहान ठिक १० बजे तालिम केन्द्र आइपुग्नु भन्ने म्यासेज आयो। केही साथीहरूको सल्लाह अनुसार औपचारिक पोशाकको पहिलो दिन हामीले निजामती सारी चुज गर्यौं। म र साथी केतु जी निजामती सारी किन्न असन पुग्यौं। असनमा हामीले सारी मागेर मूल्य सोध्यौं। सारीको मूल्य जम्मा १३ सय रहेछ। १३ सयको सारी लगाउन कति दु:ख गर्नुपर्यो है! भन्दै हामी दुवै जना एकछिन मज्जाले हाँस्यौं।
यसरी स्टाफ कलेजको निलो भित्तामा निलो सारी लगाएर प्रोफाइल पिक्चर छनौट गर्ने सपना पूरा भयो।