हालैको वसन्त ऋतु। नेपालैभर डँढेलोको धुँवा तर सगरमाथा क्षेत्रमा निलो आकाश स्वच्छ सफा हावापानी। जीवनकालमा एक पटक पुग्नै पर्ने गन्तव्य सगरमाथा क्षेत्रमा विश्वभरका पदयात्रीको बढ्दो चहलपहल।
तर सात दिन लगभग पूरै उकाली चढ्दै, लेकसँग अभ्यस्त हुने गरि पर्याप्त आराम गर्दै हिँडिरहेपछि बल्ल बल्ल पुगिने सगरमाथा शिखर नजिकैको अन्तिम बस्ती गोरखशेप (५१६४ मिटर) पुग्दा सबै यात्री थकित गलित त्यसमाथि धेरथोर लेकलागेका बिरामी।
गोरखशेपका चार वटा जति लजका डाइनिङ हल र कोठा तिनै थकित यात्रुले भरिभराउ। तल नाम्चे बजार (३४०० मिटर) र दिङबोचे (४४०० मिटर) मा दुई–दुई रात बिताएर आए पनि गोरखशेपमा लेकको बिमारी भएर हल्का टाउको नदुखेको वा चैतको चिसो सिरेटोले नसताइएको मनुवा भेट्न मुस्किल, स्थानीय शेर्पा बाहेक।
वरिपरि पुमोरी, ल्होत्से, सगरमाथा, नुप्त्से, आमादब्लम जस्ता हिमालका चित्ताकर्षक दृश्य पनि थकानका कारण फिका फिका लाग्ने। गोरखशेपबाट ग्राभेल, पत्थर र चट्टान तेर्सिएको अप्ठ्यारो बाटो चार घन्टा पर सगरमाथा आधार शिविर। जहाँ आरोहणको तयारी र बन्दोबस्तीका सामान ओसार्न शेर्पा र झोक्प्यो (चौंरीको भाले) लाई भ्याइनभ्याइ।
एभरेस्ट बेस क्याम्प (सगरमाथा आधार शिविर) लेखिएको एउटा ठूलो चट्टान पुग्दा पदयात्रीलाई संसारै जितेजस्तो; सगरमाथा शिखर नै चुमेजस्तो खुसी र आनन्द!
हो त्यहीँ हो, मोबाइलमा फोटो–भिडिओ कैद गर्नेहरुको तँछाडमछाड हुने।
लन्डन बस्ने दक्षिण भारतीय साथी अन्बु र हाम्रा गाइड मिङ्मारसहित हामी पुग्दा त्यहाँ थिए — इजिप्ट, साउदी अरेबिया, इरान, युरोप, अमेरिका, मलेसिया, भारतलगायत देशका पदयात्री।
रकम र मौसमले साथ दिएकाहरू यस क्षेत्रमा हेलिकप्टरमा हुत्तिँदै आइपुग्छन्। झनै माथि रहेको काला पत्थर (५५४५ मिटर) मा झरेर तस्बिर र भिडिओ खिचेर तुरून्तै फर्किहाल्छन्। तर हिँडेर आएकाहरू प्रायः हिँडेरै फर्किन्छन्। कोहीकोही लेक बिमारीबाट सताइएकाहरू हेलिकप्टरमा फर्किन बाध्य हुन्छन्।
तर हिँडेरै एभरेस्ट बेस क्याम्प (इबिसी) जाने हो भने तपाईंले यी कुरामा ध्यान दिँनै पर्छ —
पूर्व तयारी
सगरमाथा क्षेत्रमा आएका एक हुल पश्चिमा पर्यटक। तस्बिरः सुरेन्द्र फुयाल
पहिलो, न्यानो तर हल्का टोपी, ज्याकेट, ट्राउजर्स, जुत्ता, मोजा जस्ता गियरको बन्दोबस्ती र आवश्यक पूर्व तयारी।
इबिसी ट्रेक निकै चुनौतीपूर्ण मानिन्छ। यसनिम्ति तपाईंलाई आफ्नो शरीर र दिमागलाई तयार बनाउनुपर्छ। यसका लागि तपाईं झोला बोकेर लेकबेसी गर्न अभ्यस्त भएको हुनपर्छ।
दोस्रो कुरा तपाईंसँग कम्तीमा १२–१४ दिनको समय र त्यस अवधिमा गर्ने खर्चको जोहो हुनपर्छ। साथै आपतकालीन अवस्थाका लागि तत्काल उद्धारबारे पनि योजना बनाउनुपर्छ।
यात्रा चाहिँ यसरी सुरू हुन्छ ––
लुक्ला यात्रा
पर्यटक आउने वसन्त र शरद याममा लुक्लाको यो सानो विमानस्थल निकै व्यस्त रहन्छ। तस्बिरः सुरेन्द्र फुयाल
सगरमाथा क्षेत्रमा पुग्ने द्वार लुक्ला पुग्ने तीन उपाय छन्।
पहिलो, काठमाडौंबाट सबेरै जिप चढेर ओखलढुंगा हुँदै सोलु सल्लेरी पुगेर थाम डाँडा हुँदै सुर्के पुग्ने। पहिलो नेपाली सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाको जन्मघर सुर्केकै बेँसीमा छ। एक घन्टा उकालो चढेपछि लुक्ला पुगिन्छ।
काठमाडौंदेखि करिब ३२५ किलोमिटर लामो जिप यात्रा सल्लेरी कटेपछि कच्ची बाटो हुँदै अघि बढ्छ। त्यस दौरान थकाइमाथि जीउ दुखान सुरू हुन सक्छ।
दोस्रो, मोटरबाटै जाने अर्को उपाय भनेको तेन्जिङ नोर्गे र एडमन्ड हिलरीको टोलीले सन् १९५३ मा पहिल्याएको काठमाडौं–जिरी हुँदै बाम्ती भण्डारको बाटो किन्जा हुँदै सोलुखुम्बु छिर्ने।
यसका लागि काठमाडौंको जडिबुटीबाट बस समात्न सकिन्छ। रामेछाप सोलुखुम्बु सीमामा रहेको किन्जा पुगेपछि लामजुराको उकालो लाग्दै पिके नजिकैबाट सोलुखुम्बु छिर्न सकिन्छ। यो बाटो सोलुखुम्बु पुग्न तीन दिन लाग्छ।
तेस्रो, आन्तरिक उडानमार्फत काठमाडौं वा मन्थली रामेछापबाट लुक्ला पुग्ने।
काठमाडौंमा उडानको चाप हुँदा यात्रुहरू मोटरमा मन्थली पुगेर मात्र त्यहाँको विमानस्थलबाट मात्र लुक्ला उड्ने विकल्प रहने गरेको छ। लुक्ला पुगेपछि सगरमाथा क्षेत्रको शेर्पा संस्कृतिसँगै हिमाली तथा पहाडी सौन्दर्यको अनुभूति सुरू हुन्छ।
धेरैले लुक्लाबाटै इबिसी वा सगरमाथा क्षेत्रका थ्री–पासेस जस्ता निकै चुनौतीपूर्ण गन्तव्यको पदयात्रा थाल्छन्।
नाम्चे बजारमा लेक पचाउन दुई रात
नाम्चे बजारमा पदयात्रीलाई खाने बस्ने मात्र नभई किनमेल र मनोरञ्जन गर्ने विकल्पहरू उपलब्ध छन्। तस्बिरः सुरेन्द्र फुयाल
लुक्ला २८६० मिटर उचाइमा छ। त्यसैले लेक लाग्ने समस्या यहीँबाट सुरू हुन सक्छ। त्यसैले यहाँबाट बिस्तारै अघि बढ्नु उत्तम हुन्छ। लुक्ला बजार छोड्ने बेलामा पासाङ ल्हामु शेर्पाको सालिक तपाईंलाई खुम्बु क्षेत्रमा स्वागत गर्न उभिएझैं लाग्छ। थोरै ओरालो झरेपछि घमाइलो र रमाइलो शेर्पा गाउँ चौंरीखर्क आइपुग्छ।
अझै अघि बढ्दा तिब्बती लिपिमा पवित्र बौद्ध मन्त्र कुदिएका चट्टानसँगै माने तथा गुम्बाहरू देखा पर्न थाल्छन्। त्यो क्रम तपाईंको यात्राभरि नै रहन्छ।
अझै अगाडि जोरसल्ले पुगेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेश गर्नु हुन्छ। यहाँ प्रस्ट लेखिएको हुन्छ — तपाईं पवित्र बेयुल अर्थात् पवित्र बौद्ध क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ, त्यसैले अपवित्र र हिंसाजन्य गतिविधि नगर्नुहोला।
अझै अगाडि दूधकोसीको किनारमै अवस्थित सुन्दर फाकदिंग गाउँ तपाईंलाई स्वागत गर्न आतुर हुन्छ। त्यहाँ पदयात्रुलाई खान, बस्न सुविधासम्पन्न होटलहरू बनिसकेका छन्।
निकै अगाडि बढेपछि मात्र तपाईं नाम्चेको उकालो पुग्नु हुनेछ जहाँ उकालो चढ्न सहज होस् भनेर तलैदेखि सिँढी बनाइएको छ।
पुरानो झोलुंगे पुलदेखि अझै माथि नयाँ झोलुंगे पुलबाट निकै तल दूधकोसीमा पश्चिमको थामेतिरबाट आएको अर्को नदीको संगम हुन्छ। यो शान्त र सुन्दर खोँचमा दिन ढल्दै गएपछि बेस्सरी हुरीबतास चल्न थाल्छ।
अगाडि बढेपछि अझै उकालो चढ्नुपर्छ। यसैले हो तपाईंको पहिलो शारीरिक सबलताको परीक्षा लिने।
सल्लाघारीबीचको यही उकालो सकिएर करिब ६ घन्टाको हिँडाइपछि अगाडि नाम्चे बजार सुरू हुन्छ। प्रवेशद्वारमा काठमाडौं बौद्धको जस्तै सानो चैत्यको दर्शन गरेपछि बजार सुरू हुन्छ।
माथिबाट हेर्दा कुनै सोलीजस्तै गोलो, सानो उपत्यकामा गरा गरामा बनाइएका सुन्दर घरहरूको लश्कर। लगभग हरेक घरमा होटल वा गेस्टहाउस वा रेस्टुरेन्ट वा पसल।
३४४० मिटरमा रहेको यही सुविधासम्पन्न बजारमा हामीले दुई रात आराम गर्यौं र लेकसँग अभ्यस्त हुने पहिलो चरणको कोसिस गर्यौं।
यहाँ बस्ने क्रममा नाम्चे बजारदेखि माथिको तेन्जिङ हिलारी पार्क, अझै माथि रहेको स्याङ्बोचे क्षेत्र, याक प्रजनन केन्द्र, हरियो जस्ताले छाएका घरै घर भएको खुम्जुङ गाउँ र ऐतिहासिक एभरेस्ट भ्यु होटल घुम्न सकिन्छ।
नाम्चेमा दुई रात नबिताई सिधै माथि जाँदा लेकजन्य बिमारी लाग्ने जोखिम ह्वात्तै बढ्ने गरेको पाइएको छ।
तेङ्बोचे गुम्बा क्षेत्रमा बास
तेङ्बोचे गुम्बा खुम्बुका शेर्पाहरूको मुख्य देवताको बासस्थान हो, जहाँ पूजा गरेर मात्रै आरोहण दलहरू हिमाल चढ्छन्। तस्बिरः सुरेन्द्र फुयाल
नाम्चेमा प्रशस्त आराम गरेपछि सुरू हुने यात्रामा नयाँ नयाँ आश्चर्यहरू देखा परिरहन्छन्। नाम्चे छाडेको एक घन्टापछि दूधकोसी उपत्यका पारि सालघारी माथि तेङ्बोचे गुम्बा देखापर्छ।
ठिक पछाडि नुप्त्से र लोत्सेको बीचमा सर्वोच्च शिखर सगरमाथा हाँसिरहेको दृश्य आँखै अगाडि पाउँदा पदयात्रीहरू आह्लादित हुन थाल्छन्।
दायाँ छेवैमा उभिएको हुन्छ अर्को सुन्दर चुचुरा – आमादब्लम जुन हेर्दा पनि कुनै बौद्ध चैत्यजस्तै देखिन्छ।
नाम्चेबाट केही घन्टा हिँडेपछि सुन्दर क्यान्जुमा पुगेपछि त्यहाँबाट आमादब्लम अझै सुन्दर देखिन्छ। यहीँबाट आरोहीहरूको गाउँ भनेर चिनिने खुम्जुङ गाउँ पुगिन्छ।
सिधा उकालो चढ्यो भने अदभूत उच्च हिमाली ताल तलैयाको दृश्यावलीका लागि चिनिएको गोक्यो ताल पुग्ने बाटो छुट्टिन्छ।
बायाँ पट्टी हिमालको फेदमा सुन्दर फोर्त्से गाउँ देखापर्छ।
तर इबिसी जानेहरू पारि तेङ्बोचे गुम्बा पुग्न तल दूधकोसी तर्फ झर्नैपर्छ। ठाडै ओरालो झरेर फेरि झोलुंगे पुल तरेपछि थुप्रै पदयात्री अत्याउने उकालो सुरू हुन्छ।
तीन घन्टा संघर्ष गरेपछि बल्ल आइपुग्छ तेङ्बोचे गुम्बा, अर्थात खुम्बुका शेर्पाहरूको मुख्य देवताको बासस्थान जहाँ हरेक आरोहण दलले पूजा गरेर मात्रै हिमाल चढ्छन्।
३८६७ मिटर उचाइमा उभिएको गुम्बाभित्र शाक्यमुनी बुद्धको विराट मूर्ति छ। सन् १९१३ मा लामा गुलुले निर्माण गरेको यो गुम्बा सन् १९३४ (१९९० साल) को भूकम्पमा क्षतविक्षत भएको थियो। नवनिर्माण भए पनि फेरि सन् १९८९ मा आगलागीपछि ध्वस्त भयो। त्यसपछि बनेको भवन आधुनिक र सगरमाथा आरोहीका कारण विश्व चर्चित बनेको छ।
गुम्बादेखि दक्षिणतिर र अलि पूर्वतिर पदयात्रीका लागि सुविधासम्पन्न होटल बनिसकेका छन्। नाम्चेबाट आएका धेरै यात्री यतै रात बिताउँछन्।
दिङ्बोचेमा लेक पचाउन थप दुई रात
दिङ्बोचेबाट अघि बढिसकेपछि पदयात्रीले हावाबाट धेरै अक्सिजन तान्न सक्दैनन्। तस्बिरः सुरेन्द्र फुयाल
बिहान घामको लालीले तेङ्बोचे गुम्बा खर्क र वरपरका पहाड तथा हिमालमा रङ पोतेको हेरिरहन मन लाग्छ। तर इबिसी जान चाहनेहरू अघि बढिहाल्नुपर्छ तल पूर्वतर्फ दिबोचे गाउँतिर।
त्यहाँबाट नदी किनारै किनार बनाइएको पदमार्गमा हिँड्दा आमादब्लम र अन्य हिमालका दृश्यावलीसँगै खर्कमा चरिरहेका झारल र घोरल जस्ता हिमाली बाख्रासँग पनि जम्का भेट हुन सक्छ।
यहाँबाट उकालो यात्रा कठिन हुन थाल्छ। किनभने, यात्रीहरू यहाँबाट बिस्तारै ४००० मिटरको उचाइतर्फ अघि बढिरहेका हुन्छन्। निकै बेर घुमाउरो र हल्का उकालो हिँडेपछि दिउँसो सुरू हुँदा आइपुग्छ अर्को शेर्पा गाउँ पाङ्बोचे जुन अर्को गुम्बाका लागि प्रसिद्ध छ।
यहाँबाट पदयात्रीले सास फेर्न साह्रो पर्न थालेको अनुभव मजाले गर्न थाल्छन्। जति बलियो खेलाडी वा धावकलाई पनि हावाबाट पर्याप्त अक्सिजन फोक्सोभित्र तान्न नसकेको अनुभव हुन्छ। जति छिटो हिँड्छु भन्दा पनि पाइला अघि बढाउन मुस्किल पर्न थाल्छ। अघि बढिहाले पनि रोकिएर स्वाँस्वाँ गर्नुको विकल्प हुँदैन।
लेक पचाउन दुई रात सुत्न सुझाइने गरिएको दिङ्बोचे गाउँ त्यही माथि देखिन्छ। तर पुग्न दुई– तीन घन्टा नै लाग्छ।
दिङ्बोचे वरिपरि पनि हरिया खर्कसँगै आइल्यान्ड पिक र आमादब्लम लगायतका हिउँचुलीका लश्कर देखिन्छन्। तर होटलका कोठादेखि डाइनिङ हल सबै देशी तथा विदेशी लखतरान वा झन्डै बिरामी पदयात्रीले भरिएका हुन्छन्।
लेक पचाउन आराम गर्दा दोस्रो दिन दिङबोचे माथिको खर्क क्षेत्रमा घुमेर हिमाली दृश्यावलोकन गर्न सकिन्छ। पारिलो घाम लाग्ने यस क्षेत्रमा दिन ढलेपछि हुरीबतास मजाले चल्छ। थोरै माथि गएर रात बिताउने योजना बनाएकाहरू दुई घन्टा हिँडेर थुक्ला गाउँ पुग्ने गर्छन्।
लोबुचे – गोरखशेप
आधार शिविरतर्फ अघि बढ्दा सगरमाथा शिखरलाई फरक फरक कोणबाट देख्न सकिन्छ। तस्बिरः सुरेन्द्र फुयाल
दिङ्बोचे वा थुक्लापछिको उकालो यात्रा झनै कष्टकर। किनभने, अबको पदयात्रा ४००० मिटरबाट ५००० मिटरतर्फ उकालो लाग्न थाल्छ। अब भूगोल र वनस्पति पनि फरक हुन थाल्छ। ग्राभेल र चट्टानयुक्त पदमार्ग वरपर त्यस्तै पदार्थ मात्र देखिन्छन्। हिमालहरू अझै माथि। सगरमाथातिरबाट आएको खोली त्यही कतैबाट तल झरिरहेको हुन्छ।
संसारका कुना कुनाबाट आएका पदयात्री लश्करै उक्लिरहेका वा ओर्लिरहेका।
स्वाँस्वाँ गर्दै एकछिन आराम गर्दै हिँडेको केही घन्टापछि बल्ल पुगिन्छ लोबुचे चुचुरा (६१४५ मिटर) मुनि बसेको सानो लोबुचे गाउँ (४९४० मिटर)। त्यहाँका लजहरू पदयात्रीलाई स्वागत गर्न तम्तयार।
एक जना पाका ब्रिटिस पाइलट भेटिए जो बाक्लो मोजामाथि अर्को बाक्लो मोजा लगाउँदै आरोहण गर्ने बुट लगाउन व्यस्त थिए।
आफू ठिक पछाडि ठडिएको लोबुचेको चुचुरा चढ्ने तयारी गरिरहेको बताउँदे उनले भने, 'म ठूलो जेट प्लेन चालक हो तर बिदा प्रशस्त हुन्छ। त्यसकै सदुपयोग गर्दै हिमाल आरोहण गर्न नेपाल आउन पाएको।'
लोबुचेमा दिउँसोको खाना र आराम गरेपछि पदयात्रीहरू दुई घन्टा परको गोरखशेपतर्फ हइँ–हइँ गर्दै सुस्तरी तेर्सो उकालो चढ्न सुरू गर्छन्। गोरखशेप पुग्ने बाटोमा खर्क कम र ग्राभेल र चट्टान बढी हुने हुनाले हिँड्दै अघि बढ्न झनै कठिन हुन्छ। त्यसमाथि हल्का लेकको बिमारीका कारण टाउको दुखाइ अनि तलभन्दा झनै चिसो सिरेटो।
गोरखशेप (५१६४ मिटर) पुगेपछि युद्ध जितेजस्तो। होटलभित्र न्यानो पार्न बालिएको दाउराको चुह्लोबाट निस्किएको धुँवैधुँवा र डाइनिङमा आगो ताप्न हानाथाप गरिरहेका विश्वभरिका पदयात्रीको भिड।
माथि कोठामा दुई पत्र डाउन ज्याकेट र दुई पत्र टोपीदेखि दुई पत्र टाउजर्स र मोजा लगाएर सुत्दा पनि ठिहिर्याउने चिसो। बिहान उठ्दा परेला र नाकको टुप्पामा चिसो शीत।
सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्न हरेक वर्ष दसौं हजार पदयात्री आउँछन्। तस्बिरः सुरेन्द्र फुयाल
अर्को दिन अधिकांश पदयात्री सगरमाथा आधार शिविर पुगेर रमाएर फर्किन भ्याउँछन्।
कोही–कोही स्थानीय शेर्पा जस्तै बलिया र लेक पचाएका यात्री छेवैको खर्कमाथि रहेको काला पत्थर पहाड पुग्न पनि भ्याउँछन्। काला पत्थर (५५४५ मिटर) सगरमाथाको शिखर हेर्न उत्कृष्ट गन्तव्य वा भ्यू–प्वाइन्ट हो। त्यहाँ पुग्नेहरूका लागि यो नै इबिसी ट्रेकको उच्चतम बिन्दु हो।
बिहान सबेरै काला पत्थरबाट देखिने सगरमाथा लगायतका शिखरका दृश्य अतुलनीय मानिन्छ। किनभने, सगरमाथा यहाँबाट यति धेरै प्रस्ट र नजिक तल इबिसी वा अन्यत्र कतैबाट पनि देखिँदैन।
सन् २००९ डिसेम्बर ४ मा तत्कालीन माधवकुमार नेपाल सरकारले काला पत्थरमा मन्त्रिपरिषदको ऐतिहासिक बैठक आयोजना गर्दै सगरमाथा घोषणापत्र जारी गरेको थियो।
उद्देश्य थियो — नजिकिँदै गरेको कोपनहेगन जलवायु सम्मेलनअघि जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारिरहेको निरन्तर असरबारे विश्व समुदायको ध्यानाकर्षण गर्नु।
त्यो बैठकको १४ वर्षपछि पनि हिमालयको अवस्था उस्तै छ किनभने हिमनदी तीव्र गतिमा पग्लिने क्रम जारी छ।
साथै झन्डै दुई वर्षअघि पश्चिम खुम्बुको थामेमा जस्तै हिमताल विस्फोटनको क्रम पनि बढ्ने चिन्ता छ।
त्यसको साक्षी बन्न पनि सगरमाथा क्षेत्रमा पदयात्रामा जानैपर्छ।
खुम्बु क्षेत्रको प्रकृति र संस्कृतिसँगको साक्षात्कार त अनुपम अनुभव हुने भइहाल्यो! जीवनभरि कहिल्यै बिर्सिन नसकिने र सम्झिन मन लागिरहने गर्विलो अनुभूति हुने भइहाल्यो!
सगरमाथा आधार शिविर। तस्बिरः सुरेन्द्र फुयाल
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal