झन्डै दुई वर्षअघि, सन् २०२३ अप्रिल २५ को रात काठमाडौंबाट दुबईका लागि उडेको 'फ्लाई दुबई' को विमानमा चरा ठोक्किएपछि विमानको एक इन्जिनबाट आगोको ठूलो लप्का देखियो।
तैपनि त्यो बोइङ ७३७–८०० का चालकले पश्चिमी उडान जारी राखे। आगो लागेको थाहा पाएपछि चालकले विमानलाई थानकोट पारि धार्केमाथि केहीबेर घुमाए।
सम्भाव्य आपतकालीन अवतरणका लागि काठमाडौं विमानस्थल खाली गराइयो। तर उडानमा कुनै खतरा नदेखिएपछि चालक दलले पश्चिमी उडान जारी राखे र १६७ यात्रुलाई केही घन्टापछि युएईको दुबई विमानस्थलमा सकुशल अवतरण गराए।
तर चरा ठोक्किएपछि आगोको लप्का देखिएको भन्ने दुबई सरकारको मिडिया कार्यालयको वक्तव्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरले ठाडै अस्वीकार गरिदियो।
भन्यो — त्यस रात फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको प्रमाण छैन, त्यसैले त्यो खबर भ्रामक हो।
हो, त्यस रात फ्लाई दुबईको बोइङमा कुनै चरा ठोक्किएको कुनै प्रमाण आजसम्म सार्वजनिक भएको छैन। तर आज पनि त्रिभुवन विमानस्थल क्षेत्रमा सानादेखि ठूला चरा झुम्मिइरहने र उडिरहने अवस्था कायमै छ। र, ती चरा उत्तरतर्फ बागमती माथिबाट आउजाउ गर्ने विमानमा ठोक्किन सक्ने खतरा टड्कारै छ।
कारण — त्रिभुवन विमानस्थलको धावनमार्गको उत्तरी डिलदेखि करिब १०० मिटर तलतिर फोहोर जलाएर खरानी बनाउने एउटा मेसिन जडान गरिएको छ। र, त्यो फोहोर संकलन र जलाउने केन्द्र झन्डै चार वर्षदेखि निरन्तर सञ्चालनमा छ।
टिनका पाताले घेरिएको जलाउने स्थानदेखि करिब २०० मिटर पूर्वतर्फ, बाँसको झ्याङ मुनितिर जलाउन ल्याइएको फोहोर थुपार्ने टहराहरू बनाइएको छ।
त्यहाँबाट निरन्तर फैलिने दुर्गन्धका कारण त्रिभुवन विमानस्थलको उत्तरी कुना 'चराहरूको स्वर्ग' मा बदलिएको प्राधिकरणका अधिकारीहरू आफै स्वीकार गर्छन्। उनीहरूले धावनमार्ग र छेउछाउबाट चरा, बाँदर, कुकुर वा अन्य जन्तु धपाउन चौबिसै घन्टा शिकारी–टोली खटाउँछन्।
नेपाली सेनासहितको त्यो चरा भगाउने टोलीसँग दुइटा गाडीसँगै लेजर लाइट र गुलेलीजस्ता औजार हुन्छन्।
तैपनि उनीहरुको डर छ — विमानस्थलमा खटिएका शिकारीको नियन्त्रणभन्दा बाहिरको अवस्था आएर कुनै विमानमा चरा ठोक्किएर ठूलो दुर्घटना भयो भने के गर्ने?
त्रिभुवन विमानस्थलमा दैनिक सय अन्तर्राष्ट्रिय उडानसहित ४ सयभन्दा बढी विमान आउजाउ गर्छन्। ती विमानबाट सन् २०२५ मा झन्डै १ करोड ३० लाख यात्रु आउजाउ गरेका थिए।
नेपालको नागरिक उड्डयन नियम अनुसार विमानस्थलको सिमानाभन्दा तीन किलोमिटर वर कुनै पनि फोहोरमैला व्यवस्थापन वा मासु पोल्ने जस्ता कार्यहरू गर्नु हुँदैन। किनभने, त्यसो गर्दा विमानस्थल क्षेत्रमा चरा झुम्मिने जोखिम ह्वात्तै बढ्न जान्छ।
फोहोर जलाउने केन्द्र कसको?
विमानस्थलमुनिको इन्सिनेरेटर नजिकै त्रिभुवन विमानस्थलको धावनमार्ग नजिकै हालै देखिएको एक चरा। तस्बिरः सुरेन्द्र फुयाल
त्रिभुवन विमानस्थलको धावनमार्ग वरिपरि पंक्षी वा पशु धपाउन नेपाली सेनासहित करिब २४ जना शिकारी भनिने कर्मचारी चौबिसै घन्टा लेजर लाइट र गुलेली बोकेर खटिएका हुन्छन्। तस्बिरः कमल परियार/बिबिसी न्यूज नेपाली
विमानस्थल मुनिको फोहोर जलाउने इन्सिनेरेटर बागमती किनार नजिकै ठडिएको छ। त्यो स्थानमा काठमाडौं महानगरसहित तीन नगरपालिकाको सिमाना जोडिएको छ। त्यहाँ काठमाडौं उत्तरको गोकर्णेश्वर नगरपालिकाको नकुहिने भनिएको फोहोर जम्मा पारेर जलाइन्छ।
करिब ५ करोड रूपैयाँ बराबरको त्यो मेसिन झन्डै चार वर्षअघि जापानबाट किनेर ल्याइएको थियो।
फोहोर व्यवस्थानको नमूना भनी प्रचार गरिएको त्यो इन्सिनेरेटरले पूर्ण क्षमतामा चलाउँदा एक दिनमा ८ टन फोहोरमैला जलाउँछ। तापक्रम १००० सेल्सियससम्म पुग्छ। उद्घाटन बेला गोकर्णेश्वर नगरपालिका तथा सो केन्द्र सञ्चालन गर्ने निजी क्षेत्रका प्रतिनिधिले त्यो केन्द्रबाट कुनै दुर्गन्ध धुँवा र प्रदूषण नहुने दाबी गरेका थिए।
उद्घाटनको केही महिनापछि काठमाडौंसहित उपत्यकाका ११ नगर प्रमुखलाई सो केन्द्रको भ्रमण गराइएको थियो।
कारण — वैज्ञानिक व्यवस्थापनका अभावमा उपत्यकाभित्र फ्याँकिने करिब १२०० टन फोहरको ठूलो हिस्सा अझै पनि नुवाकोटको बञ्चरेडाँडा क्षेत्रमा स्थानीय बासिन्दाको निरन्तर विरोध र दबाब झेल्दै माटोले पुरेर छोप्ने गरिएको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन नियमले के भन्छ?
त्रिभुवन विमानस्थल उत्तरतिर बागमती किनारमा फोहोर जलाउने मेसिन राखिएको क्षेत्र र पश्चिमतर्फ बौद्ध क्षेत्रको ढल प्रशोधन गर्ने प्लान्ट भएको क्षेत्र। तस्बिरः गुगल अर्थ/स्क्रिन सट
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले स्पष्ट रूपमा विमानस्थल नजिकै फोहोर पुर्ने वा जलाउने केन्द्र निर्माण गर्न नहुने नियम राखेको छ।
यस सम्बन्धी आइकाओको निर्देशिकाले भन्छ — फोहोरमैला पुर्ने ल्यान्डफिल साइटले चराहरूलाई आकर्षित गर्छ। विमानस्थल नजिकै फोहोर जम्मा हुने ठाउँ राखिएमा चरा र विमान एक आपसमा ठक्कर खान सक्ने जोखिम बढ्न जान्छ।
विमानस्थल नजिकै इन्सिनेरेटर जडान गर्न पनि आइकाओले वर्जित गरेको छ।
आइकाओ निर्देशिका भन्छ — इन्सिनेरेटरले हावा प्रदूषित बनाउनुका साथै तातो हावा माथि फ्याँक्न सक्छ जसले विमानको उडानमा असर पर्न सक्छ। त्यस्ता संरचना राख्दा उडान वा अवतरण मार्गमा भए वा नभएको बारे गम्भीर विचार पुर्याउनु पर्छ।
तर विमानस्थल उत्तरको बाटो वा बागमती किनारको सडकबाट गुड्ने वा हिँड्ने जो कोहीले देख्न सक्छ। गोकर्णेश्वरको फोहोर जलाउने केन्द्र धावनमार्गको ठिक उत्तरतिर छ जसमाथिबाट दैनिक सैयौं विमान उड्छन्, अवतरण गर्छन्।
प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धर भन्छन्, 'जलाउनुअघि थुपारिएको फोहोरले चरा आकर्षित गर्न सक्छ। त्यसमाथि १००० सेल्सियससम्मको तातोमा जलाउँदा निस्किने तापले उत्तरतर्फको रनवे–२० प्रयोग गर्ने जहाजलाई जोखिम हुन सक्छ।'
मानन्धरको भनाइमा अझै डरलाग्दो कुरा यो हो — त्यो फोहर जलाउने इन्सिनेरेटर विमानहरू उड्ने फ्लाइट सर्किट क्षेत्रमा परेको देखिन्छ। यसमा आइकाओ पनि प्रस्ट छ, किनभने यस्तो संवेदनशील क्षेत्रमा त्यस्तो केन्द्र राख्नु हुँदैन जसले गर्दा राम्रोसँग विमान चलाउन समेत पनि कठिन हुन सक्छ।
'मेरो विचारमा प्राधिकरणले तत्काल यसलाई अन्यत्र सार्ने पहल थालिहाल्नु पर्छ,' उनी भन्छन्।
नेपाल एयरलाइन्सका एक जना वरिष्ठ चालक विमानस्थलदेखि उत्तर मुनितिर रहेको फोहोरमैला जलाउने त्यस केन्द्रबारे बेखबर रहेछन्। आफ्नो वायुसेवा निगमका प्रवक्ताले मात्रै मिडियालाई प्रतिक्रिया दिन सक्ने बताएका उनले आफ्नो नाम खुलाउन चाहेनन्।
तर उनको प्रतिक्रिया यस्तो रह्यो, 'ए त्यही भएर त्यता चराहरू देखिएका हुन्!'
प्राधिकरण के गर्दैछ?
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको त्रिभुवन विमानस्थलका प्रमुख टेकनाथ सिटौलाको भनाइमा त्यो फोहोर जलाउने इन्सिनरेटरबारे प्राधिकरणको गम्भीर ध्यानाकर्षण भइसकेको छ।
'पाइलटहरूबाट गुनासो आएको छैन तर त्यहाँको फोहरमैलाले गम्भीर समस्या निम्त्याउन सक्छ। त्यसैले त्यसलाई अन्यत्र सार्न अनुरोध गर्दै हामीले पटक पटक गोकर्णेश्वर नगरपालिकालाई पत्राचार गरिसकेका छौं, कुराकानी पनि गरिसकेका छौं। तर उहाँहरूले आफ्नो बचाउ गरिरहनुभएको छ, अन्यत्र सार्न मान्नुभएको छैन।'
प्राधिकरणको एयरसाइड शाखाका प्रमुख उमेश पन्थीका अनुसार तीन नगरपालिकाको सिमाना क्षेत्र भएकाले समन्वय गरेर त्यसलाई अन्यत्र सार्न मनाउन कठिनाइ भइरहेको छ।
'विमानस्थलको १०० मिटरभन्दा कम दुरीमा त्यसरी फोहोर जम्मा गर्दा दुर्गन्ध आएपछि त्यस क्षेत्र चराहरूको स्वर्ग भएको छ। त्यसले गर्दा विमानमा चरा ठोक्किने जोखिम बढेको छ,' उनले भने, 'यसबारे स्थानीय बासिन्दा तथा पालिकाहरूको सहयोग भए त्यसलाई अन्यत्र सार्न सहज हुन्थ्यो।'
चरा ठोक्किने जोखिम नेपालका दुई अन्तर्राष्ट्रिय विमानस्थलका लागि ठूलो टाउको दुखाइको विषय हो।
प्राधिकरणको सन् २०२५ को प्रतिवेदनका अनुसार पोखरा र काठमाडौं विमानस्थल वरपर बारम्बार देखिने चराहरूको गतिविधि विमानहरूको सुरक्षित रूपमा उडाउने दिशामा देखिएका सात प्रमुख चुनौतीमध्ये एक हो। ती विमानस्थल वरपर परेवा, काग, बाजदेखि विभिन्न प्रजातिका ठूला गिद्ध समेत देखिने गरेको प्रतिवेदनमा उल्लेख छ।
सरोकारवाला के भन्छन्? समाधान के?
त्रिभुवन विमानस्थलको नाकैमुनि बागमती किनारमा फोहोरमैला संकलन तथा जलाउने काम गर्दा चराहरू आकर्षित हुनुका साथै बागमती नदी प्रदूषणसमेत बढ्ने चिन्ता छ। तस्बिरः सुरेन्द्र फुयाल
गोकर्णेश्वर नगरपालिकाका भनाइमा पालिकाभित्र कहीँकतै फोहोर जलाउने केन्द्र राख्न उपयुक्त जग्गा दिन स्थानीयवासी तयार नभएपछि विमानस्थलमुनि बागमती किनारमा त्यो स्थान भेटिएको थियो।
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले निजी क्षेत्रसँग साझेदारीमा सञ्चालित त्यो इन्सिनेरेटर अब अन्यत्र सार्नेबारे छलफल भइरहेको बताए।
'नागरिक उड्डयनको पत्र आएपछि हामीले हाल फोहोर जलाउन बन्द गरेका छौं। अन्यत्र ठाउँ खोज्दैछौं। त्यो निजी क्षेत्रले सञ्चालन गरेको भएकाले उसले खोज्नुपर्ने भएको छ। त्यहाँ मेडिकल वेस्ट (फोहोर) मात्रै फ्याँक्ने कुरा भएको थियो। अहिले त्यो पनि बन्द छ। त्यहाँ अन्य टहरा पनि छन्, तिनबाट फोहोर निस्किएको होला। हामीले फोहोर गरेका छैनौं,' उनले भने।
मेयर रिसालले शनिबार दिउँसो त्यसो भनेको एक घन्टापछि म विमानस्थलमुनि बागमती किनारमा रहेको इन्सिनेरेटर र फोहोर संकलन केन्द्र पुगेँ। त्यहाँ फरक दृश्य देखियो।
उनको दाबीको ठिक विपरीतको क्रियाकलाप। अर्थात्, फोहर जलाउने काम बन्द भएको रहेनछ। इन्सिनेरेटर छेउ फोहरको डंगुर यत्रतत्र असरल्ल छरिएको थियो। अलि माथि धावनमार्गमा विमानहरू लगातार आउजाउ गर्दै थिए।
फोहोर नकुहिने खाले नै देखिए — प्लास्टिक, स्टाइरोफोम इत्यादि। त्यो डंगुरको बीचमा पाँच महिला दिउँसोको खाना खाँदै थिए। एक जना महिला काखे बालकसहित बसेकी थिइन्, चम्चाले भात खान व्यस्त।
उनीहरू अगाडिको फोहोर कहिले जलाउने भनी सोध्दा एक महिलाले भनिन्, 'यो फोहोर दिउँसो होइन, राति जलाइन्छ। रात परेपछि जलाउँछन् यो सब।'
राति इन्सिनेरेटरमा फोहोर जल्दा धेरैले चाल पाउँदैनन्। सायद त्यहीँमाथि बाट उड्ने फ्लाई दुबईजस्ता कैयौं अन्तराष्ट्रिय एयरलाइन्सका चालकले पनि! र, तिनलाई उड्न हरियो बत्ती बालेर उड्न अनुमति दिने विमानस्थल टावरमाथि बसेर अहोरात्र काम गर्ने एयर ट्राफिक कन्ट्रोलरले पनि!
इन्सिनेरेटरमा जलाउने फोहोर थुपार्ने स्थान रहेको अलि पूर्वतिरको कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्की विमानस्थल मुनितिरै वर्षौंदेखि फोहोरमैला संकलन र जलाउने काम भइरहेको प्रति निकै चिन्तित सुनिए।
भने, 'धावनमार्गको त्यति नजिकै फोहोरमैला संकलन र जलाउने काम गर्दा चरा ठोक्किएर विमान दुर्घटना हुने डर बढेको छ। त्यसले बागमती नदीलाई स्वच्छ भएर बग्न समेत बाधा पुगिरहेको छ। त्यसैले त्यो अन्यत्र सारिनुपर्छ भन्ने हाम्रो सुरूदेखिको माग हो।'
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal