प्याराग्लाइडिङ खेललाई खेलाडी र पर्यटक दुबैले चरासँग तुलना गर्छन्। हावाको बहावसँगै इन्जिनबिना ग्लाइडरको भरमा आकाशमा उड्नु सजिलो छैन। चराझैं आकाश उड्नभन्दा गाह्रो मानिन्छ, चराले झैं तोकिएको ठाउँमा टेक्न।
एक ठाउँबाट उडेको चरा अर्को ठाउँमा जसरी सजिलै बस्न सक्छ, त्यसरी नै सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवाताल किनारमा तोकिएकै प्वान्टमा झर्ने प्रतियोगिता बिहीबार सुरू भएको छ।
सराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्याण्ड गर्न फेवाताल किनारको मैदानमा गोलो घेराभित्र एउटा डिभाइस राखिएको छ। जुन डिभाइसमा आकाशबाट झरेका ग्लाइडरले पहिलो पाइला राख्नुपर्ने छ। जसले यसरी तोकिएकै प्वाइन्टमा टेक्न सक्छ, उही प्रतियोगितामा विजयी हुने नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष अनिल केसीले बताए।
-1773917066.jpg)
‘चरा तोकिएकै ठाउँमा जसरी सजिलै बस्न सक्छ। एकुरेसी प्याराग्लाइडिङ च्याम्पियनसीपमा त्यसरी नै तोकिएको ठाउँमा ग्लाइडर झर्न सक्नुपर्छ,’ उनले भने, ‘एउटा पाइलटले ६ वटा टेकअफ र ल्याण्डिङ गर्छन्, जसले तोकिएको प्वाइन्ट वा नजिक झर्न सक्यो, त्यही विजयी हुन्छ।’
इन्जिनविहीन प्याराग्लाइडिङमा यसरी तोकिएको ठाउँमा झर्न सक्नु सजिलो काम होइन।
चराले जसरी पखेँटालाई नियन्त्रणमा राखेर उड्छ र भनेको ठाउँमा बस्छ, त्यसरी नै पाइलटले प्याराग्लाइडरलाई पखेँटाका रूपमा प्रयोग गर्छ।
प्याराग्लाइडिङका अन्तर्राष्ट्रिय खेलाडी योगश भट्टराईका अनुसार, तोकिएकै प्वान्टमा ल्याण्ड गर्न सक्नु पाइलटको सीप, क्षमता र अनुभवले मात्र पुग्दैन, हावाको चाप र तापक्रमले पनि फरक पार्दछ।
‘पाइलटले आकाशबाटै ल्याण्ड गर्ने प्वाइन्ट हेर्छ अनि हावाको चाप र तापक्रम विचार गरेर कसरी तोकिएको प्वाइन्टमा झर्ने भनेर विचार गर्छ,’ उनले भने, ‘यसमा हावाको चाप र पाइलटको सीप सबैभन्दा महत्वपूर्ण हुन्छ।’
नेपाल हवाई खेलकुद संस्था (ना)ले चार वर्षपछि पोखरामा आयोजना गरेको २१ औं अन्तर्राष्ट्रिय नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीपमा ६३ जना खेलाडीले भाग लिएका छन्।
सराङकोट डाँडाबाट उडान भरेर उनीहरू फेवाताल किनारमा गोलो घेराभित्र राखिएको डिभाइसमा टेक्न उद्यत छन्।
-1773917065.jpg)
बिहीबारदेखि तीन दिनसम्म हुने यस प्रतियोगितामा एक जना खेलाडी ६ पटक उड्नेछन्।
यस प्रतियोगिताले हावाको चाप, सन्तुलन र धैर्यलाई सन्तुलनमा राख्नुपर्ने प्याराग्लाइडिङ खेलाडीको सीप प्रशिक्षण गर्नेछ।
२१ वर्षदेखि पोखरामा निरन्तर हुँदै आएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता विगत ४ वर्षदेखि हुन सकेको थिएन। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा २०८९ असोज ३० गते प्याराग्लाइडिङतर्फ खेल हुँदै गर्दा नेपाली सेनाका खेलाडी निसिम थापाको मृत्यु भएपछि एकल उडान बन्द भएको थियो। एकल उडान बन्द हुँदा प्याराग्लाइडिङ प्रतियोगितासमेत हुन पाएको थिएन। नागरिक उड्डयन प्राधिकरणले एकल उडान खुलाएसँगै प्रतियोगिता आयोजना गरिएको हो।
प्याराग्लाइडिङको एकल उडान खुलेसँगै नेपाली खेलाडीले अब अभ्यास गर्न पाउने भएका छन्। नेपालमा यस्ता खेलहरू आयोजना गर्न र प्याराग्लाइडिङ पर्यटन बढाउन सहयोग पुगेको ना अध्यक्ष केसीले बताए। यसले पर्यटन प्रवर्द्धन मात्र नभई खेलाडी उत्पादनलाई पनि उत्तिकै योगदान पुर्याउने उनको विश्वास छ।
नेपालले एसियाली खेलकुद प्रतियोगितामा अहिलेसम्म एउटा मात्र पदक जितेको छ। त्यो हो, प्याराग्लाइडिङ।
१८ औं एसियाली खेलकुदमा पोखराका खेलाडी योगेश भट्टराईले प्याराग्लाइडिङतर्फ रजत पदक जितेका थिए। यसबाहेक नेपालले अहिलेसम्म उक्त प्रतियोगिताका कुनै पनि खेलमा पदक जित्न सकेका छैनन्। यस हिसाबले पनि नेपाललाई प्याराग्लाइडिङले चिनाउन सक्ने अध्यक्ष केसीले बताए।
‘ब्राजिललाई फुटबलले चिनाए जस्तै नेपाललाई एकदिन प्याराग्लाइडिङले चिनाउँछ, यहाँका हावापानी र डाँडाकाँडाले यसको सम्भावना देखाएको छ,’ उनले भने, ‘सरकारले आवश्यक नीति बनाएर प्रवर्द्धन चाहिँ गरिदिनुपर्छ।’
प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिन आएका अन्तर्राष्ट्रिय खेलाडीले पनि नेपालको प्रवर्द्धन गर्न टेवा पुग्ने अध्यक्ष केसीले बताए।
यस प्रतियोगितामा विभिन्न १५ देशका खेलाडीले नाम टिपाए पनि मध्यपूर्वमा चर्किएको युद्धले गर्दा ६ वटा देशका खेलाडी आउन पाएनन्। प्रतियोगितामा नेपाल, भारत, चीन, जापान, कोरिया लगायत ९ वटा देशका गरी ६३ जना खेलाडीले भाग लिएका छन्।
प्रतियोगितालाई सुरक्षित बनाउन आयोजकले कुनै कसर बाँकी राखेका छैनन्। पत्येक पाइलटलाई वाकीटकी दिइएको छ र डिभाइसमार्फत उनीहरूको निगरानी पनि राखिएको छ। मौसमको ख्याल गरेर मात्र उडान र अवतरण गर्न दिइएको छ। प्रतियोगितास्थलमा एम्बुलेन्सदेखि स्वास्थ्यकर्मीका टिम खटिएका छन्।
-1773917065.jpg)
यस प्रतियोगितालाई फेडेरेसन एरोनटिक इन्टरनेसनलले क्याटागोरी सेकेण्ड स्तरको अन्तर्राष्ट्रिय प्रतियोगिताको मान्यता दिएको छ। जसले पोखराको प्याराग्लाइडिङलाई थप प्रवर्द्धन गर्ने आयोजकको विश्वास छ।
प्रतियोगिताको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले पोखरालाई प्याराग्लाइडिङले अन्तर्राष्ट्रिय पहिचान दिएको बताए। साहसिक पर्यटनका लागि चिनिएको पोखरामा सबैभन्दा लोकप्रिय प्याराग्लाइडिङ नै भएको उनी बताउँछन्।
‘विदेशीहरू पोखरा आउँदा प्याराग्लाइडिङ गर्ने भनेर आउँछन्, पोखरालाई प्याराग्लाइडिङले चिनाएको हो,’ उनले भने, ‘यस्ता प्रतियोगितालाई क्यालेण्डरमा राखेर सहयोग गर्न पोखरा महानगरपालिका तयार छ।’
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछानेले अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रतियोगिताले नेपालकै प्रवर्द्धन गरेको बताए। यस्ता प्रतियोगिताहरू नियमित हुनुपर्नेमा जोड दिँदै उनले पर्यटन प्रवर्द्धनमा यस्ता गतिविधि प्रभावकारी हुने बताए।
‘प्याराग्लाइडिङ प्रतियोगिताले आन्तरिक र बाह्य दुबै पर्यटनलाई चलायमान बनाउँछ, यस्ता गतिविधि नियमित हुन आवश्यक छ,’ उनले भने।
प्रतियोगितामा पुरूष र महिला एकुरेसी विद्यामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमश: १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ नगद पुरस्कार सहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ। टिम विधामा विजेता टोलीलाई ७५ हजार, उपविजेतालाई ५० हजार र तेस्रो स्थान हासिल गर्ने टोलीलाई २५ हजार रुपैयाँ पुरस्कार दिने आयोजकले बताएका छन्।
प्रतियोगिता सञ्चालन गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
पोखरामा फेरि सुरू भएको प्याराग्लाइडिङ प्रतियोगिताले आगामी दिनमा अझै ठूला प्रतियोगिताहरू आयोजना गर्ने ढोका खुलेको आयोजकले बताएका छन्। यसअघि प्रि वर्ल्डकप लगायत खेल भइसकेको आकाश प्याराग्लाइडिङले भर्न सके पर्यटन उद्योग पनि उचाइमा पुग्ने अध्यक्ष केसी बताउँछन्।
-1773917064.jpg)
-1773917064.jpg)