सौराहास्थित पाँचतारे लक्जरी रिसोर्ट 'रोयल टुलिप चितवन' होटलले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ।
होटल सञ्चालन गर्दै आएको केटिएम हस्पिटालिटी लिमिटेडले आइपिओ निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ।
कम्पनीले अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।
बोर्डको विवरणअनुसार कम्पनीले १०० रूपैयाँ अंकित दरका १५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न प्रस्ताव गरेको छ।
यसका लागि बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ नियुक्त गरिएको छ।
आइपिओका लागि गरिएको मूल्यांकनमा केयर रेटिङ नेपालले कम्पनीलाई 'डबल बी माइनस' रेटिङ दिएको छ, जसले वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
करिब १ अर्ब ७० करोड रूपैयाँ लागतमा निर्माण भएको रिसोर्ट सञ्चालनमा आइसकेको छ।
कम्पनीले पुँजी संरचना सुदृढ बनाउने, बैंक ऋणको भार घटाउने र सर्वसाधारणलाई समेत लगानीमा सहभागी गराउने उद्देश्यसहित आइपिओ ल्याउन लागेको जनाएको छ।
होटल क्षेत्रमा लगानी फिर्ता हुने अवधि लामो हुने भएकाले दीर्घकालीन पुँजी जुटाउन आइपिओ महत्वपूर्ण माध्यम हुने कम्पनीको भनाइ छ।
राप्ती नदी किनार र कुमरोज सामुदायिक वन नजिक फैलिएको यस रिसोर्टमा ६५ कोठा, रेस्टुरेन्ट, जिम, स्विमिङ पुल र हेलिप्याडजस्ता सुविधा छन्।
अन्तर्राष्ट्रिय 'रोयल टुलिप' ब्रान्डसँगको व्यवस्थापन सहकार्यमा सञ्चालन भइरहेको यस परियोजनाले चितवनको पर्यटन क्षेत्रमा नयाँ आकर्षण थप्ने अपेक्षा गरिएको छ।