बन्दिपुरको ढुंगे गल्लीमा हिँड्दा समय कहिल्यै सीधा अघि बढ्दैन—यो अलि पछाडि फर्किन्छ, अलि ठहरिन्छ, अनि फेरि विस्तारै बग्छ।
दायाँबायाँ उभिएका पुराना नेवारी शैलीका घरहरू, घर हालिएका काठका कलात्मक ढोका र झ्यालहरू, र घरअगाडि फुलेका रंगीचंगी फूलहरू। जसले एउटा यस्तो दृश्य बनाउँछन्, जहाँ आधुनिकताको हतारो हराएको छ।
यही शान्त गल्ली शुक्रबार दिउँसो रंगीचंगी मानिसहरूले भरिए। परम्परागत पोशाकमा सजिएका मानिसहरूको समूहले थरीथरी बाजागाजा बजाए। कसैले गीत गाए। कोही नाचे। बन्दिपुरको यो पुरानो बजारमा परम्परागत उत्सवमा रूपान्तरित भए, जहाँ थरीथरीका संस्कृति एकै थलोमा देखा परे।
कफीको कप लिएर सुस्ताएका पर्यटक पनि यहाँका रैथाने संस्कृति पछ्याउन थाले। मानिसहरूका हाउभाउ र उनीहरूका जीवन संस्कृतिप्रति उनीहरूको कौतुहल जाग्यो। होमस्टे मार्टका बारेमा मात्र नभएर यहाँका सांस्कृतिक विविधताको बारेमा चासो राखे।
-ink-1777639024.jpeg)
बन्दिपुरमा शुक्रबार आयोजना गरिएको यो एउटा प्रदर्शन मात्र थिएन, यो त ग्रामिण पर्यटनका लागि पाहुनाको खोजी थियो। होमस्टेका सुधार योजना र एक अर्कासँग सिक्ने अवसर थियो।
पुरानो बजारको छेउछाउमा राखिएका साना स्टलहरूमा गण्डकी प्रदेशका १० जिल्लाबाट आएका होमस्टे सञ्चालकहरू उभिएका थिए। हरेक स्टलले एउटा गाउँको कथा भन्थ्यो। एउटा संस्कृति र जीवनशैली बताउँथ्यो। जंगली साग सिप्लीगानदेखि स्थानीय रक्सीको स्वाद, गुरूङ संस्कृतिको ‘रिपा’ र जनै, कतै हिमाली भेगको ‘बख्खु’।
लमजुङको पुरानकोटबाट आएकी कन्याकाशी गुरूङले आफ्नो स्टलमा राखेका परिकारहरूतिर इशारा गर्दै भन्छिन्, 'हामीले बेच्ने भनेको खाना मात्र होइन, हाम्रो जीवनशैली हो।'
उनले होमस्टेमा बस्न आउने ग्राहक नभएर पाहुनाको खोजी गरेकी थिइन्। जसले ग्रामिण जीवनशैली र संस्कृतिको सम्मान गर्छ र नयाँ अनुभूति गर्न सक्छ।
त्यही भावना दोहोर्याउँछिन् मुस्ताङको स्याङफोली थकाली सामुदायिक होमस्टेकी अध्यक्ष अमिता थकाली।
'मुस्ताङमा लाखौं पर्यटक आउँछन्,' उनी भन्छिन्, 'तर हाम्रोमा आउनेहरू थोरै भए पनि रमाएर फर्किन्छन्।'
उनको लागि होमस्टे कुनै ‘बजेट प्याकेज’ होइन—यो अनुभव हो, जहाँ एक रातको बसाइमा स्थानीय स्वाद, संस्कृति र आतिथ्य मिसिएको हुन्छ। बेलुकाको खाना, बास र बिहानको नास्ता—सबै मिलाएर १,१०० रूपैयाँ। यसको अनुभूति पैसाले किन्न सक्ने भन्दा बाहिर रहेको अनुभव पाहुनाले सुनाउने गरेको उनले सम्झिइन्।
गण्डकी प्रदेशभरका २९ होमस्टे र एउटा फार्मस्टे गरी ३० वटा स्टलमा गाउँलेहरूले आफ्नो परिचय बोकेका ब्रोसर र पम्प्लेटहरू पनि सँगै ल्याएका थिए। ब्रोसर र पम्प्लेटका पाना पल्टाउँदै पर्यटक र पर्यटन व्यवसायी यी गाउँहरूमा जाने र पर्यटक पठाउने योजना बुन्दै थिए। आउजाउ गर्न लाग्ने समय र बाटोका रूट सोधिरहेका थिए।
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछानेका अनुसार, यस्तै प्रश्नहरूको उत्तर खोज्न ‘होमस्टे मार्ट’ आयोजना गरिएको हो। गाउँका कुरा गाउँमै गर्न बन्दिपुर रोजिएको भन्दै उनले भने, 'सबै कुरा पोखरामै केन्द्रित हुनु पर्दैन, यसपटक हामी होमस्टे मार्ट लिएर बन्दिपुर आएका हौं।’
होमस्टे मार्टलाई पोखराबाट बन्दिपुर स्थानान्तरण मात्र नभएर विकेन्द्रिकरण गरेको भन्दै लामिछानेले पर्यटनलाई विकेन्द्रित गर्ने र गाउँ गाउँसम्म पुर्याउने लक्ष्य नेपाल पर्यटन बोर्डले लिएको उनले बताए।
-ink-1777639025.jpeg)
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले विश्व पर्यटनको बदलिँदो प्रवृत्तितर्फ ध्यान खिच्छन्। उनका अनुसार, अहिलेको यात्रू केवल हेर्न होइन, बुझ्न र जोडिन चाहन्छ।
'नयाँ अनुभूति गर्ने र समुदायसँग इन्गेज हुने ट्रेन्ड विश्वभर बढेको छ,' उनी भन्छन्, 'यसका लागि पर्यटन चेतनाको विस्तार, खोज र अभ्यासलाई तीव्रता दिनुपर्छ।'
उनको भनाइमा, होमस्टे पर्यटनले केवल आम्दानीको ढोका मात्र खोलेको छैन—यसले परम्परागत सीप, ज्ञान र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने माध्यम पनि बनेको छ।
बन्दिपुर आफैंमा एउटा सफल उदाहरण हो। यहाँ आधुनिक होटलहरूको संख्या बढ्दो छ, सुविधाहरू थपिँदै छन्, प्रतिस्पर्धा तीव्र छ। तर त्यो सबैबीच पनि बन्दिपुर सामुदायिक होमस्टेमा पाहुनाको चाप घटेको छैन।
'होटलले सुविधा दिन्छ,' होमस्टे सञ्चालक समितिका उपाध्यक्ष रिमबहादुर कार्की भन्छन्, 'तर हामीले दिने अनुभव फरक हुन्छ।'
त्यो ‘फरक’ के हो भने—एकै घरमा बसेर खाना खानु, अगेनामा आगो ताप्दै गफ गर्नु, बिहानै चराचुरूङ्गीका आवाजसँगै ब्युँझिनु।
यी कुरा कतिपय स्वदेशी पर्यटकका लागि सम्झनाको पुनरागमन हुन्—बाल्यकाल, हजुरबुबाको घर, वा बिर्सिँदै गएको गाउँ। विदेशीहरूका लागि भने, यो एउटा नयाँ संसार हो।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकीकी अध्यक्ष शोभा सापकोटा भन्छिन्, 'पर्यटन भनेको केवल सुविधा होइन, हाम्रो संस्कृति पनि हो।'
उनको भनाइमा, गण्डकीका होमस्टेहरूले यही कुरा प्रमाणित गरेका छन्—कि स्थानीयता नै सबैभन्दा ठूलो आकर्षण हुन सक्छ।
ग्रामिण पर्यटनले स्थानीय जीवनशैली र संस्कृतिका कथा मात्र भन्दैन, यसले ग्रामिण अर्थतन्त्रको कथा भन्छ। युवालाई गाउँमै अड्याउने, गाउँका खेतबारीमा अनाज उत्पादन गर्ने र यसैबाट आयआर्जन गर्न बाटो देखाएको छ।
होस्टे मार्टको उद्घाटन गर्न पुगेकी गण्डकी प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले होमस्टेहरूले गाउँको आर्थिक अवस्था बदल्न थालेका छन्।
'सरकारले मात्र केही गर्न सक्दैन,' उनी भन्छिन्, 'निजी क्षेत्र र स्थानीय समुदाय मिल्नुपर्छ।'
उनको दृष्टिमा, होमस्टे केवल व्यवसाय होइन—यो एउटा माध्यम हो, जसले शहरतिर बगिरहेको जनशक्ति फेरि गाउँतिर फर्काउन सक्छ। बाँझो जमिनलाई हराभरा बनाउन सक्छ।
तर त्यसका लागि एउटा शर्त छ—स्थानीयता जोगाउनु।
'पाहुनालाई आफ्नै संस्कृति देखाउनुहोस्,' उनी भन्छिन्, 'आफ्नै उत्पादन खुवाउनुहोस्।'
शुक्रबार सुरू भएको ‘होमस्टे मार्ट’ शनिबार सकिनेछ। बन्दिपुरको ढुङ्गे गल्लीमा लागेको यो मेलाले गाउँको जीवनशैली जोगाउँदै पाहुनालाई नयाँ अनुभव दिन सक्छ—र गाउँलेलाई आम्दानी पनि।
-ink-1777639025.jpeg)
-ink-1777639025.jpeg)
-ink-1777639024.jpeg)