सगरमाथा आरोहण मार्गअन्तर्गत खुम्बु आइसफल क्षेत्रमा भेटिएको एक शव उद्धार गरी काठमाडौं ल्याइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभाग नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, एक्सपिडिसन अपरेटर्स एसोसिएसन अफ नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समितिको समन्वयमा उक्त शव काठमाडौं ल्याइएको हो।
शव शनिबार बिहान हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले जानकारी दिए।
उनका अनुसार उक्त शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी खुम्बु आइसफलबाट लुक्लासम्म झारिएको थियो र त्यसपछि काठमाडौं ल्याइएको हो।
'एक हप्ता अघि देखेको थिएँ, त्यसपछि मन्त्रालयलाई जानकारी दिएपछि समन्वयमा उद्धार गरिएको हो,'उनले भने।
अध्यक्ष शेर्पाका अनुसार उक्त शव १०–१२ वर्ष पुरानो हुनसक्ने अनुमान गरिएको छ। शव बेस क्याम्प र क्याम्प–१ बीचको क्षेत्रमा बाटोमै अलपत्र अवस्थामा भेटिएको थियो।
उनले शव हिउँमा जमेको अवस्थामा रहेकाले निकाल्ने काम चुनौतीपूर्ण भएको बताए।
'उद्धारका लागि सात जना खटिएका थिए। शव तल झार्न करिब साढे चार घण्टा लागेको थियो,' उनले भने।
हाल शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ।
डिएनए परीक्षणमार्फत यसअघि सगरमाथामा हराएका आरोहीहरूसँग मिलान गरी मृतकको पहिचान गरिनेछ।
यद्यपि पहिचान गर्न कति समय लाग्ने भन्नेबारे यकिन नभएको जनाइएको छ।