हालैको एक दिउँसो काठमाडौंबाट कोलम्बो जाने श्रीलंकन एअरलाइन्सको एअरबस ३२० निओ विमान प्राय: नेपाली यात्रीले खचाखच थियो।
कोही मजदुरीका लागि श्रीलंका पारिको माल्दिभ्सको कुनै टापू उडेका, कोही अरब सागर पारिका कुनै खाडी देश उडेका, कोही युरोपको पेरिस वा लन्डनका लागि उडेका, कोही चाहिँ हिन्द महासागर पारिको अस्ट्रेलिया उडेका।
सिधै काठमाडौंबाट उडेर ती देश जाने सुविधा नेपाली वायुसेवाले दिन सकेका छैनन्। ठिक विपरीत ती सबैतिर जान सुविधा दिन श्रीलंकन एअरलाइन्स सक्षम छ; त्यसका लागि उसका विमान कोलम्बो विमानस्थलमा तम्तयार रहन्छन्।
नरहून् पनि किन — श्रीलंकन एअरलाइन्ससँग युरोप एसिया र अस्ट्रेलिया उडान भर्न २३ वटा आधुनिक विमान छन्। तिनले श्रीलंका टापू देशको राजधानी कोलम्बोलाई ६३ देशका १३० गन्तव्यसँग जोडिदिएका छन्।
त्रिभुवन विमानस्थल काठमाडौंबाट यात्रु लिएर कोलम्बो जान तम्तयार श्रीलंकन एअरलाइन्सको एअरबस निओ। तस्बिर: सुरेन्द्र फुयाल
उडेलगत्तै काभ्रेको आकासमा श्रीलंकन एअरलाइन्सको विमान। तस्बिर: सुरेन्द्र फुयाल
कोलम्बोपुगेपछि अंग्रेजी दैनिक द आइल्यान्डको एउटा खबरमा लेखिएको थियो — श्रीलंकामा सन् २०२६ को जुनसम्म ११ लाख पर्यटक आइसकेका छन्। यो क्रम बढ्दै गएमा यो वर्षको अन्त्यसम्ममा ३० लाख पर्यटक श्रीलंका भित्र्याउने सरकारको लक्ष्य पूरा हुन सक्छ।
भारतीय उपमहाद्वीपको पुछारको टापू श्रीलंकाको राजधानी कोलम्बोबाटै विमान चढेर थुप्रै पर्यटक टापू नै टापू भएको देश माल्दिभ्स जान्छन्। त्यहाँका टापू र स्वच्छ सफा नीलो पानी भएका समुद्र किनारले संसारभरका पर्यटकलाई सम्मोहित तुल्याउँछन्।
सानै देश भए पनि टापूहरूमा छरिएको माल्दिभ्सले पनि सन् २०२६ मा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।
नेपाल पनि के कम? नेपाल पर्यटन बोर्डले सन् २०२६ मा पोहोरको भन्दा ५ लाख बढी अर्थात् १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। कमैलाई थाहा होला नेपाल भ्रमण दशक २०२५–२०३५ चलिरहेका बेला नेपालले यो वर्ष नेपाल–पूर्वी एसिया (आसियान) पर्यटन वर्ष २०२६ नामक अभियान समेत चलाइरहेको रहेछ।
यद्यपि त्यसको चर्चा नेपाली सञ्चार माध्यममा कमै हुने गरेको छ। कारण प्रस्ट छ — नेपाली सञ्चार माध्यममा अझै पनि गत वर्षको भदौ २४ को जेनजी विद्रोहका बेला भयंकर आक्रमण आगजनी र लुटपाटमा परेका हायात, हिल्टन लगायत ठूला होटल तथा रिसोर्टका हबिगतको बेला बेला फलोअप रिपोर्ट गर्नमै व्यस्त रहन्छ।
हुन पनि विनाश र क्षति धेरै गरिएको थियो त्यस दिन। भदौ २४ मा भएका आक्रमण र आगजनीका कारण नेपालको अतिथिसत्कार उद्योगमा करिब २४ अर्ब रूपैयाँको क्षति भएको सुरूको अनुमान थियो। पाहुना बसेका होटलहरूमा समेत विदेशी ज्यान जोगाउन भाग्नुपर्ने गरी भएका क्रुर आक्रमण भएका खबरलगत्तै पर्यटक आगमन चौथाइ बढीले घटेको थियो।
भत्काउन सजिलो; बनाउन चाहिँ निकै गाह्रो सायद। एक वर्ष बित्न लाग्दा विश्व पर्यटन बजारसँगै दक्षिण एसिया र नेपालका पर्यटन उद्योगले नयाँ नयाँ संकट सामना गर्दैछन्।
जस्तो — रुस–युक्रेन युद्ध सकिने संकेत पटक्कै नमिलेको बेला गत फेब्रुअरी २८ देखि चर्किएको पश्चिम एसियाको लडाइँ। जस क्रममा अमेरिका र इसराइल इरानविरूद्ध अचानक युद्ध छेडिदिए।
त्यहाँ गत अप्रिल ८ देखि युद्ध विराम भए पनि शान्ति पूरै फर्किइसकेको छैन।
पर्यटकीय चहलपहल
श्रीलंकाको पूर्वी तटीय सहर ट्रिंकोमाली नजिकैको निलावेली समुद्र तटदेखि केही पारि पानीमाथि तैरिएर कोरल रिफ अवलोकन (स्नोर्केलिङ) गर्दा देखिएको च्याउ कोरल र समुद्री कछुवा। तस्बिर सौजन्य: पर्ल डाइभर्स
युद्ध र झैझगडाका बीच पनि नेपालका हिमालमा जस्तै श्रीलंकाका पहाड र समुद्र किनारमा पनि पश्चिमासँगै एसियाली पर्यटकको चहलपहल कायमै देखिन्छ। उनीहरू राजधानी कोलम्बोसहित दक्षिणी तटीय सहर मिरिसा वा मध्यको क्यान्डी वा उत्तरको जाफ्ना वा ट्रिंकोमालीमा सलबलाइरहेका देखिन्छन्।
तर तिनको संख्या थोरै घटेको भन्दै पर्यटन उद्यमी चिन्तित रहेछन्। उत्तरपूर्वी तटीय गन्तव्य ट्रिंकोमालीको निलावेली समुद्री किनारका रिसोर्टहरू जुन महिनामा पर्यटकले भरिभराउ हुन्थे। तर यो वर्ष इरान युद्धका कारण धेरै पर्यटकले बुकिङ रद्द गरिदिएका कारण त्यो नीलो समुद्र किनार वरपरका रिसोर्टहरूमा चहलपहल कम छ।
हशिता जयसेकर कोलम्बोका एक कार चालक हुन्। २७ वर्षीय ती युवा उबर, वा पिक–मी जस्ता एपमार्फत आफ्नो कारमा यात्री बोकेर श्रीलंका घुमिरहन्छन्। यति बेला पर्यटन याम भए पनि सोचेजति पर्यटक नआएकोमा उनी केही खिन्न छन्।
तर चार महिनादेखि चलिरहेको पश्चिम एसिया तनाव कम हुने संकेत मिलेपछि उनी आशावादी छन्।
'अब युद्ध सकिएला जस्तो छ, अब बुकिङहरु रद्द नहोलान्,' श्रीलंकाको मध्यभागमा रहेको सिगिरियाबाट ट्रिंकोमालीतर्फ लाग्ने राजमार्गमा कार हुइँकाउँदै उनले भने, 'विश्वमा कोभिडका बेलाको जस्तो तनाव र लडाइँ भएनन् भने पर्यटन राम्रो हुन्छ। त्यसो हुँदा हामी व्यस्त हुन्छौं र कमाइ पनि राम्रो हुन्छ।'
व्यस्त रहेका बेला उनले पर्यटकहरूलाई आफ्नो कारमा कोलम्बोबाट उत्तरको अनुराधापुरादेखि जाफ्ना, मध्यको सिगिरियादेखि क्यान्डी, नुवारा एलिया र दक्षिणका मिरिसादेखि पूर्वको बट्टिकोलोवासम्म घुमाइरहन्छन्। त्यस क्रममा हबरनका वन क्षेत्रमा जस्तै सडकमा जंगली हात्तीका बथान भेटिन्छन्।
जसलाई परैबाट अवलोकन गर्न उनी कार सडकको अर्को छेउ रोकिदिन्छन्।
नेपाललाई पाठ
दक्षिण श्रीलंकाको मिरिसापारिको समुद्र निलो ह्वेल माछा अवलोकन लगायतका जलचर अवलोकनका लागि प्रख्यात छ। तस्बिर: सुरेन्द्र फुयाल
आकारले नेपालभन्दा आधाभन्दा पनि कमले सानो श्रीलंकाका त्यस्तो के जादु छ जसले संसारभरका पर्यटकलाई लोभ्याइरहन्छ?
दुई करोडभन्दा केही बढी जनसंख्या रहेको ऊसँग त्यस्ता के पूर्वाधार र साधन छन् जसले पर्यटकलाई श्रीलंका भ्रमण नेपालभन्दा सुगम र सहज तुल्याइदिने गरेको छ?
त्यसको चर्चा थोरै तल गर्नेछु।
भारतदेखि दक्षिणतिर हिन्द महासागरको पाल्क स्ट्रेट भनिने साँघुरो जलमार्ग पारि बसेको श्रीलंका टापू आकासबाट हेर्दा पानीको थोपा आकारको छ। रामायणकालमा वानरसेनाले ढुंगा बोकेर बनाएको भनिएको रामसेतुमार्फत दक्षिण भारत श्रीलंकासँग जोडिएको हिन्दुहरूको विश्वास छ। त्यसरी जोडिएको मानिएको जलखण्डको चौडाइ मात्र ६४ किलोमिटर छ।
तर स्वच्छ सुन्दर समुद्री किनार, प्राकृतिक, जैविक तथा सांस्कृतिक विविधता तथा न्यानो हावापानी अनि अति उर्बर जमिनका कारण श्रीलंका ब्रिटिस शासकहरूलाई निकै प्यारो थियो। उनीहरूले आफ्नो जिब्रोलाई सहज पार्न सिलोन भन्ने गरेको यो देशको चिया, दालचिनी मरमसला लगायतका उपज विश्व विख्यात छन्।
सन् १९४८ मा अंग्रेजले भर्खर छोडेको भारतबाट स्वतन्त्र भएपछि श्रीलंकाले सार्वभौम र स्वतन्त्र पहिचान बनाउदै शिक्षा र स्वास्थ्य तथा कृषि तथा पर्यटनका क्षेत्रमा लोभलाग्दो प्रगति हासिल गर्न थालेको हो।
निलो समुद्रले घेरिएको श्रीलंकाको भित्री भूभागमा सुन्दर पहाडसँगै वर्षाको पानी जम्मा गर्ने ३००० बढी ठूला साना तालतलैया तथा सरोवरहरू छन्। यिनले सौन्दर्य मात्र बढाएका छैनन् पिउने पानी, बिजुली र सिँचाइको समेत बन्दोबस्त मिलाइदिएका छन्। यहाँका कुनै कुनै सरोवर त २००० वर्षअघि बनाइसकिएको बताइन्छ।
प्राकृतिक र सांस्कृतिक सम्पदाकै कारण श्रीलंका पोर्चुगिज अनि पछि ब्रिटिससहित अरबीका लागि समेत प्यारो रहेको इतिहास छ। झन्डै १० लाख मानिसको ज्यान लिने गरी भएको २६ वर्षे द्वन्द्व सन् २००९ मा सकिएपछि श्रीलंकाले शान्तिको सास फेरिरहेको छ।
त्यही कारण यो देश पश्चिमा र पूर्वेली पर्यटकको लागि झनै प्यारो र आकर्षक भएको छ। यो देश घुम्न आउने सबै विदेशीलाई छिमेकी भारतीयको भिडले उछिन्ने क्रम जारी रहेको तथ्यांकले देखाउँछ।
सन् २०२५ मा श्रीलंकाले २३ लाख बढी पर्यटकलाई स्वागत गर्यो। यो साल ३० लाख कटाउने लक्ष्य छ जसका लागि उसले चर्को प्रचारप्रसारसँगै भिसा शुल्क समेत मिनाह गर्न थालेको छ। नेपालीले हालैदेखि यो सुविधा पाउन थालेका छन्।
नेपालसँग तुलना गर्दा अर्को चाखलाग्दो कुरा यस्तो छ— पश्चिमा वा पूर्वेली घुमन्तेलाई नेपाल आउनभन्दा श्रीलंका जान सहज र सुगम देखिन्छ। त्यसको मुख्य कारण श्रीलंका टापूमा पानीजहाजबाट पनि पुग्न सकिन्छ र हवाइजहाजबाट पनि।
पूर्वी र पश्चिम एसियाका विभिन्न बन्दरगाहबाट बेला बेला त्यस्ता क्रुज जहाज चल्छन्।
तटीय क्षेत्रमा समथर भूभाग र भित्री भागमा पहाडहरू रहेको श्रीलंकाका गाउँ तथा सहरहरू सडक सञ्जालसँग जोडिएका छन्। त्यसैले ती सुगम लाग्छन्। ब्रिटिस शासनका बेला बनेको रेलमार्गले यो टापू देशका प्रमुख सहर जोडिदिएको छ जसमा भारतले 'उपहार' दिएका रेलगाडी दौडिरहन्छन्।
मध्य श्रीलंकाको क्यान्डी सहरबाट कोलम्बो जान तयार एक रेलगाडी। तस्बिर: सुरेन्द्र फुयाल
नेपालले लोभिएर हेर्नुपर्ने अर्को तथ्य यस्तो छ — श्रीलंकाको राष्ट्रिय ध्वजावाहक श्रीलंकन एअरलाइन्स।
यसका विमान नेपाल र भारत मात्र नभई खाडीका विभिन्न देश युरोप र अस्ट्रेलियाका विभिन्न सहरमा उडान भर्न व्यस्त रहन्छन्। अन्य यात्रुसँगै पर्यटक पनि श्रीलंका ओसार्न व्यस्त रहन्छन्।
सन् १९७९ मा स्थापना भएको श्रीलंकन एअरलाइन्स नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमभन्दा कान्छो हो। नेवानि सायद त्यसअघिको सिलोन एअरलाइन्स सँगसँगैको हो। नेवानिसँग अहिले मात्र ४ वटा जेट विमान र २ वटा साना विमान छन्। अन्तर्राष्ट्रिय क्षेत्रमा नेवानिका विमान मुस्किलले एक दर्जन सहरलाई काठमाडौंसँग जोड्छन्।
ठिक विपरीत श्रीलंकनसँग २३ विमान छन्। यसमध्ये १० वटा एअरबस ३३० ले लामो दुरीका उडान भर्छन्। मझ्यौला एअरबस ३२० वा ३२१, बोइङ आदिले मध्यम दुरीका उडान भर्छन्। कुल मिलाएर श्रीलंकन एअरलाइन्सका नयाँ र आधुनिक भनिएका विमान विश्वका ६३ देशका १३० गन्तव्यमा आउजाउ गर्दै लाखौंलाख यात्री ओसार्न व्यस्त रहिरहन्छन्।
तुलना गर्दा आकार र जनसंख्याका हिसाबले श्रीलंका नेपालभन्दा सानो। तर केही समयअघि मात्र आर्थिक संकट भोग्न बाध्य भए पनि उसको पर्यटन बजार ठूलो, उसको राष्ट्रिय ध्वजावाहक वायुसेवा झट्ट हेर्दा नेपालको भन्दा निकै ठूलो!
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal