नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ सहचालक पाइलटहरूलाई आधार प्रशिक्षण उडान सञ्चालन गरेको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बुधबार विज्ञप्ति जारी गर्दै नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन बमोजिम बुधबारदेखि प्रशिक्षण उडान सञ्चालन गरेको जनाएको छ।
विमानस्थलका प्रवक्ता इन्जिनियर कुमार सुजखुले जारी गरेको विज्ञप्तिमा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो एउटा जहाजको सञ्चालन आधार राख्ने तयारी स्वरूप नयाँ सहचालक पाइलटहरूलाई आधार प्रशिक्षण उडान सञ्चालन गरेको उल्लेख छ।
विमानस्थलका अनुसार नयाँ सहचालक पाइलटहरूलाई एयरबस ३२० वायु यानबाट धावनमार्गमा उडान र अवतरणको प्रयोगात्मक अभ्यास गराइने छ।
बुधबारदेखि सुरू भएको आधार प्रशिक्षण उडान भदौ ३ गतेसम्म सञ्चालन हुनेछ।
एयरलाइन्सहरूले उडान सेवालाई सहज, नियमित र किफायती बनाउन मुख्य विमानस्थलमा सञ्चालन आधार राख्ने गर्छन्।