वीरेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष नारायण कोइरालालाई बुलबुले तालमा बनिरहेका कंक्रिट संरचना कत्ति पनि चित्त बुझेको छैन।
यो ताल सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा पर्छ।
२०७४ सालमा नारायण अध्यक्ष हुँदा ताल वरिपरि काँडेतार थियो। तर बार जिर्ण थियो। ठाउँ ठाउँमा लतारिएको र प्वाल थिए। ताल झारजंगलले भरिएको सिमसार थियो।
'त्यहाँ जसले जे मन लाग्यो, त्यही गर्थे। दुर्व्यसनीहरूको अखडा जस्तै बन्दै गएको थियो,' उनले भने, 'मेरै पालामा त्यो ताललाई इकोलोजिकल पार्कका रूपमा विकास गर्ने उद्देश्यले नगर विकास समितिले गुरूयोजना तयार पारेर प्रदेश सरकारलाई दिएको थियो।'
उनका अनुसार सो गुरूयोजनाको मुख्य ध्येय सिमसार क्षेत्र संरक्षण गर्नु थियो। तालमा मेसिनरी चिजवस्तु तथा सिमेन्ट, छड प्रयोग एकदमै कम गर्ने प्रस्ताव गरिएको थियो। तालको बीचमा 'फिसिङ जोन' बनाउने योजना थियो।

त्यस्तै पोखरीभित्र प्राकृतिक वातावरण जोगाइराख्न माटोको ढिस्को लगाएर पानी थुन्नेबारे छलफल भएको थियो। तर वर्षाको पानीले भत्काउन सक्ने भएकाले केही भागमा कंक्रिट पर्खाल लगाउने योजना बनाइएको थियो।
झन्डै २१ करोड रूपैयाँ लागत अनुमान गरी प्रदेश सरकारलाई इकोलोजिकल पार्क बनाउन भनिएको थियो।
'तर त्यसविपरीत काम भयो। टेन्डर भएर, निर्माण सुरू भए पनि काम आधा मात्रै भयो। जसले गर्दा तालको केही भाग प्राकृतिक नै थियो,' उनले भने।
पछिल्लो समय फेरि तालमाथिको सिमसार क्षेत्रमा वरिपरि कंक्रिट ठूलो पर्खाल लगाइएपछि उनलाई चित्त बुझेको छैन। कंक्रिट संरचनाले भविष्यमा सिमसार समाप्त हुने तथा जैविक विविधता नाश हुन सक्ने उनलाई शंका छ।
‘त्यहाँ माछा, भ्यागुता, सर्प होलान्। अण्डा पार्ने अन्य चराचुरूंगी तथा जीवहरूको पनि त्यो बासस्थान होला। कंक्रिट वालले घेरेपछि अब त्यो सबै प्राकृतिक वातावरण नाश हुन्छ। सिमसार बचेपछि न जैविक विविधता बच्ने हो,' उनले भने।
स्थानीयवासी समेत रहेका नारायणले सिमसार नमास्न तथा कंक्रिट संरचना नबनाउन आफूले लडाइँ लड्दै आए पनि सुनुवाइ नभएको बताए।
'पछिल्लो समय वर्षामा आउने पानी र फोहोरले तालको स्वरूप बिगार्ने तर्क गरी ठूलो तालको माथि कमलको फूल आकृतिमा वरिपरि अग्लो कंक्रिट पर्खाल खडा गरिएको छ,' उनले भने, ‘त्यसले भविष्यमा सिमसारको अस्तित्व समाप्त भई पर्खाल मात्रै ठडिने अवस्था नआउला भन्न सकिँदैन।'

पानी सञ्चय गर्ने नाममा च्याम्बर निर्माण गरियो – प्राध्यापक आचार्य
मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. पुष्प आचार्यलाई पनि कंक्रिट पर्खाल लगाएको चित्त बुझेको छैन। उनले यसबारे प्रदेश सरकार जलाधार विकास आयोजनाका कार्यालय प्रमुख शिखर चपाईंलाई सोधेका थिए।
‘राम्रो उद्देश्यले काम भए पनि अलि बेग्लै बन्यो भनेर उहाँ (शिखर) ले मसँग स्वीकार गर्नुभएको थियो,' पुष्पले भने, ‘बनी त सक्यो। अब त्यसलाई कसरी पर्यावरणमैत्री बनाउने भन्ने सोच्न जरूरी म ठान्छु।'
उनले थपे, 'पानी सञ्चितीकरण गर्ने नाममा पर्खाल ठड्याइयो, अहिले त्यो भाग च्याम्बर जस्तो बनेको छ। अब त्यहाँ भ्यागुता, सर्पजस्ता जीव आउने बाटो नै बन्द भइसक्यो भन्ने मलाई लाग्छ।'
पर्खालको काम भर्खरै भएकाले यो वर्षामा कस्तो प्रभाव पर्छ, त्यसबारे पनि अध्ययन हुनुपर्ने उनी बताउँछन्।
प्राध्यापक पुष्पले केही वर्षअघि यो तालमा ४० प्रजातिका चराको विवरण संकलन गरेका थिए। रैथाने र जाडोमा आउने पानीहाँस लगायत चरा हेर्न उनी त्यहाँ पुगिरहन्थे।
त्यो बेला तालबीच स–साना झाडी र घाँस मौलाएको थिए। त्यसैमा चराहरू खेल्थे, रमाउँथे, गुँड बनाउँथे।
उनले त्यहाँको झाडी नफाल्न नगर विकास समितिका पदाधिकारीलाई सुझाएका थिए। तर सबै फालियो। यसले गर्दा पछिल्लो समय बुलबुलेमा चराहरू आउनै छाडेको उनी बताउँछन्।
अर्कोतर्फ पर्यटक तान्ने र आर्थिक उपार्जनका नाममा मोटरबोट (स्पिड बोट) चलाउनु पनि बुलबुलेको ठूलो समस्या भएको उनको बुझाइ छ।
मोटरबोट चल्न थालेपछि पानीको आन्तरिक पर्यावरण र खाद्य–शृंखला समाप्त भएको उनले बताए।
'बरू खियाउने डुंगा भए ती कुरा जोगाउन सहज हुन्छ भनेर सल्लाह दिएको हुँ। कसैले सुनेन,' उनले भने, ‘पानीमा स–साना बोटबिरूवा र वनस्पति हुन्छन्। स्पिड बोटले सबै मासिदियो। त्यसले माछा लगायत जीवको घर उजाडियो। सास फेर्न हावा अभाव गरिदियो। अनि कसरी पानीको जीवनचक्र बचिरहन्छ?'
गत वर्ष जाडो याममा उनले तालमा पानीहाँसको एक जोडी देखेका थिए। तर ती एकैछिनमा उडेर गए। पछिल्लो समय बुलबुले क्षेत्रको वातावरण पहिले जस्तो प्राकृतिक नरहेको पुष्पले बताए।
यस्तो कृत्रिम वातावरणमा प्राकृतिक जीवजन्तु बाँच्न तथा आकर्षित हुन सक्दैनन्। सुर्खेतको पहिचान बुलबुलेलाई प्राकृतिक अवस्थामै छोड्न र आसपासको बगैंचा पनि व्यवस्थित गर्न जरूरी रहेको उनी बताउँछन्।
यसका लागि नगर विकासले बुलबुले ठेक्कामा दिन, मोटरबोट चलाउन, वनभोज ठाउँका रूपमा विकास गर्न, चर्को गीत–संगीत बजाउन, कंक्रिट संरचना बनाउन रोक्नुपर्ने डा. पुष्पको भनाइ छ।


सरोकारवालाहरू के भन्छन्?
कंक्रिट पर्खालका कारण पशुपन्छीमा असर पर्ने बहस चले पनि आफूले थप टिप्पणी गर्न नचाहेको वीरेन्द्रनगर–१० का वडाध्यक्ष दिलबहादुर रखेलले बताए।
‘अहिले अग्लो पर्खाल बनेपछि अनेक तर्क, वितर्क सुनिएका छन्। त्यत्रा इञ्जिनियरहरूले गरेको काममा म केही बोल्दिनँ,' उनले भने।
वीरेन्द्रनगरकी मेयर तथा नगर विकास समितिकी अध्यक्ष मोहनमाया ढकाल (भण्डारी) का अनुसार तालमा बोटिङ गर्न ३ वर्षका लागि वार्षिक १२ लाख र फोटो खिच्न फोटोग्राफरबाट वार्षिक १३ लाख रूपैयाँ ठेक्का लिइएको छ।
बोट चल्न थालेपछि वार्षिक एक करोड रूपैयाँ जति आम्दानी हुन थालेको उनले जानकारी दिइन्। त्यस्तै करिब १५ जनाले त्यहीँ रोजगारी पाएका छन्। तालबाट आर्जित पैसा उपत्यका नगर विकास कोषमा जान्छ।
‘हल्का बाउन्ड्री बनाउने र त्यसमा चराचुरूंगी बस्न मिल्ने बनाउने भन्ने थियो,' मेयर मोहनमायाले भनिन्, ‘तर पर्खाल अनावश्यक अग्लो र अलि नमिल्दो भयो भन्ने गुनासा सुन्नमा आएको छ। तर यो सिमसार क्षेत्र भएकाले पानी भण्डार भइसकेपछि बाहिरबाट चराचुरूंगी आएर बस्ने विश्वास छ।'
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नगर विकास समितिका सदस्य सचिव लक्ष्मीप्रसाद बास्कोटाका अनुसार एक वर्ष पहिले मुख्य ताल ‘दशधारा ताल' मर्मत गरिएको थियो। वर्षौं पहिले निर्मित त्यो ताल पुरानो भएर चुहिने भइसकेको थियो। मर्मत गर्न ढुंगाको गारो र त्यसमाथि रेलिङ लगाइएको उनले बताए।
हाल लगाइएको पर्खाल र सिमसारबारे भने उनी थप बोल्न चाहेनन्।
नगरपालिकाका इञ्जिनियर यज्ञबहादुर कार्कीले करिब २ वर्ष पहिले नगरपालिकाको बजेटबाट बुलबुले पुनर्निर्माण गरिएको बताए। ४२ लाख रकममा टेन्डर आह्वान भए पनि २७ लाखर रूपैयाँमा ठेक्का सम्झौता भएको थियो।
‘यो ताल २०३५ सालतिर बनेको भन्ने सुनेका हौं,' उनले भने, ‘पछिल्लो समय चुहिने भएकाले अस्तित्व जोगाइराख्न पुनर्निर्माण गर्नुपरेको हो।'
उनका अनुसार ताल बीचबीचमा कच्ची (पानी जाग्ने भाग छोडेर) थियो। त्यसको बाहिर थप्दै पक्की संरचना निर्माण गरिएको थियो। पछिल्लो समय त्यो संरचना जमिनमुनिबाटै 'लिकेज' हुन थाल्यो। त्यसैले मुहान क्षेत्रभित्रैबाट कुखुराको खोर बनाउने जाली राखेर प्लास्टर गरिएको र पर्खाल लगाइएको उनले बताए।
'जमिनको पूरै संरचना भत्काइएको होइन। पूरै भत्काउँदा पानीको मुहान बत्तिने वा हराउने डर थियो,' उनले भने, ‘त्यसैले जाली राखेर त्यसमा केही भाग पहिले जस्तै कच्ची छाडेर पुनर्निर्माण गरिएको हो।'


कर्णाली प्रदेश सरकार मातहतको भू–तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका इञ्जिनियर तथा पोखरी वरिपरि पर्खाल लगाउने काम हेरिरहेका यज्ञ रोकायले ४० लाख रूपैयाँ बजेटमा ४२०० वर्ग मिटरकफ ताल वरिपरि पर्खाल लगाइएको बताए।
असारदेखि फागुनसम्म पानी सञ्चित गरी राख्ने र खडेरीका तीन महिनामा पानी पठाउने उद्देश्य साथ पर्खाल बनाइएको हो,' यज्ञले भने, ‘पोखरीभित्र झन्डै साढे दुई मिटरसम्म पानी भण्डारण गर्ने लक्ष्य छ।'
यो सिमसार क्षेत्र भएकाले धेरै ठाउँमा मूल फुटेको छ। स्थानीय कुलो तथा खेतबाट आउने रसायनयुक्त पानी पोखरीमा प्रवेश गर्न नदिने गरी व्यवस्था गरिएको उनले बताए। यस कारण पर्खालले घेरिएको सिमसारभित्र सफा पानी मात्रै भण्डारण हुने उनको भनाइ छ।
'यसरी पर्खाल लगाउँदा सिमसारको अस्तित्व समाप्त हुँदैन। बरू सधैंभरि पानी जम्मा भइरहन्छ,' उनले भने।
बुलबुले उद्यान क्षेत्रको कुल क्षेत्रफल ३१ बिघा ११ कठ्ठा ८ धुर जति छ।
यही सिमसार र बुलबुले तालबारेमा ठाउँ ठाउँमा प्रशिक्षण दिँदै हिँड्ने वीरेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष नारायण कोइरालाका अनुसार ‘बुलबुल' गर्दै पानी जमिनबाट आफै जाग्ने (उम्लिने) भएकाले बुलबुले नाम रहेको हो।
'विगतमा पानी बुलबुल गर्दै जागेको आवाज आसपासमा जाँदै सुनिन्थ्यो,' उनले भने।
बुलबुलेको मुख्य ताल सबैभन्दा उत्तर (माथि) को सानो ताल हो। त्यसमा पनि मुहान संरक्षण गर्ने भनेर वरिपरि कंक्रिटको अग्लो रिजर्भ ट्यांकी बनाइएको छ। त्यस बाहिर स्नानका लागि दुई ठाउँमा पाँच/पाँच वटा धारा राखिएका छन्।
योगी नरहरिनाथले सुर्खेतका 'तीन गंगा' मध्ये यही सानो मुख्य बुलबुलेलाई ‘बानगंगा' को संज्ञा दिएका थिए।
राजा वीरेन्द्र पहिलो पटक २०२९ सालमा सुर्खेत पुगेका थिए। उनकै नामबाट वीरेन्द्रनगर नाम जुरेको हो। उनकै निर्देशनमा सिमसारका रूपमा रहेको बुलबुले संरक्षण अभियान सुरू भएको हो। यो अभियान २०४५ सालसम्म जारी थियो।
बुलबुले तालबारे हालसम्म दुई दर्जन बढी गीत बनिसकेका छन्।



